२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

२०३० को विश्वकपमा १६ महिला टोली

फाइल तस्बिर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि क्षेत्रीय छनोटको कोटा निर्धारण गरेको छ।

श्रीलंकास्थित कोलम्बोमा भएको आइसिसी बोर्ड बैठकले अफ्रिका र युरोपबाट दुई वटा कोटा छुट्टाएको छ। अमेरिकाबाट एक र एसियाबाट तीन वटा कोटा छुट्टाएको हो। यसअघि एसियाबाट दुई र इस्ट एसिया प्यासेफिकबाट एक गरी तीन टोली छनोट हुँदै आएका थिए। अब भने दुवैलाई गाभिएको हो। अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाएसँगै नेपाल र ओमान सीधै एसियाबाट क्षेत्रीय छनोट फाइनलमा स्थान बनाइसकेका छन्।

इस्ट एसियाबाट विश्वकपमा सहभागिता जनाएको पपुवा न्युगिनीले पनि क्षेत्रीय छनोट फाइनलमा स्थान बनाएको छ। अब क्षेत्रीय छनोटबाट आउने हङकङ, कुवेत, मलेसिया, माल्दिभ्स, मंगोलिया, बहराइन, भुटान, कतार र साउदी अरब यी तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। युएई, थाइल्यान्ड, चीन, म्यानमार, सिंगापुर, कुक आइजल्यान्ड, फुजी, भानुआतु, इन्डोनेसिया, जापान, फिलिपिन्स, दक्षिण कोरिया र सामोआले छनोटको फाइनलमा यी तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। यही प्रतिस्पर्धाबाट २०२६ हुने विश्वकपमा सहभागिता जनाउने तीन टोलीको टुंगो लाग्नेछ।

ट्वान्टी–२० विश्वकपबाट १२ टोलीले भने सीधै आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। आयोजक भारत र श्रीलंकासहित अस्ट्रेलिया, इङ्ल्यान्ड, अफगानिस्तान, बंगलादेश, वेस्ट इन्डिज र अमेरिका छन्। आयोजक भारत र श्रीलंकाबाहेक अरू टोली ट्वान्टी–२० विश्वकप २०२४ को ‘सुपर एट’ मा पुगेसँगै अर्को विश्वकपमा छनोट भएका हुन्। आइसिसीको वरीयताका आधारमा न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड छनोट भएका छन्। आइसिसीको बोर्ड बैठकले सन् २०३० को ट्वान्टी–२० महिला विश्वकपमा पनि टोलीको संख्या बढाउने निर्णय गरेको छ।

गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकपमा १० टोलीले सहभागिता जनाएका थिए। यसै वर्ष बंगलादेशमा हुने विश्वकपमा पनि १० टोलीले सहभागिता जनाउनेछन्। सन् २०२६ मा इङ्ल्यान्डमा हुने विश्वकपमा १२ टोलीले सहभागिता जनाउने छन् भने २०३० हुने विश्वकपमा १६ टोलीको सहभागिता हुनेछ। आइसिसीको बोर्ड बैठक र वार्षिक साधरणसभामा आइसिसीका १०८ सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थिति थियो। 

प्रकाशित: ८ श्रावण २०८१ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App