२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

थ्री स्टारको पहिलो जित

थ्री स्टार क्लबले आइतबार जारी ललित स्मृति एन्फा यु–१८ युथ लिगमा पहिलो जित दर्ता गरेको दिन सशस्त्र प्रहरी बलको एपिएफले फराकिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार सम्पन्न खेलमा थ्री स्टारले न्युरोड टिम (एनआरटी) लाई ३–० ले हराउँदा एपिएफले खुमलटारमाथि ४–० को जित निकाल्यो। थ्री स्टारको जितमा रोमन श्रेष्ठले दुई र सुगम भुलनले एक गोल गरे। जितसँगै थ्री स्टारले तीन खेलबाट तीन अंक जोडेको छ।

पहिलो पराजय बेहोरेको एनआरटीको समान खेलबाट ६ अंक छ। थ्री स्टारले खेलको ३६औं मिनेटमा अग्रता लिएको हो। रोमनको गोलमार्फ थ्री स्टार अग्रता लिन सफल भयो। त्यससँगै पहिलो हाफमा थ्री स्टार १–० ले अगाडि रह्यो। दोस्रो हाफमा भने थ्री स्टारले दुई गोल थप्यो।

रोमनले नै ५८ औं मिनेटमा गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर बनाए । सुगमले ६४औं मिनेटमा थ्री स्टारका लागि तेस्रो गोल गरे। आइतबार नै सम्पन्न पहिलो खेलमा विभागीय टोली एपिएफ एफसी खुमलटारमाथि सहजै हाबी भयो। 

एन्फा मुख्यालय मैदानमा एपिएफको जितमा सुनिल थिङले दुई तथा रोहित गोले र साजन योञ्जनले समान एक गोल गरे। चारै गोल दोस्रो हाफमा भएका हुन्। एपिएफको यो लगातार दोस्रो जित हो। तीन खेलबाट एपिएफ सात अंकसहित साथ शीर्ष स्थानमा छ। पराजित खुमलटारको समान खेलबाट तीन अंक छ।

खुमलटार खेलको सुरुआतमा नै १० खेलाडीमा सीमित भयो। १२औं मिनेटमा सुरजप्रसाद साहले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि खुमलटारमाथि सुरुदेखि नै दबाब पर्‍यो। यद्यपि, खुमलटारले पहिलो हाफमा विभागीय टोलीलाई रोक्न सफल भयो। तर, दोस्रो हाफमा भने एपिएफको आक्रमण रोक्न असफल भयो । 

एपिएफले ४८औं मिनेटमा रोहितको गोलमार्फत अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि नै सुनिलले एपिएफको अग्रता दोब्बर बनाए। सुनिलले ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे र एपिएफ ३–० ले अगाडि बढ्यो। निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा साजनले एपिएफका लागि चौथो गोल गरे । 

यससँगै खुमलटारले फराकिलो हार सामना गर्‍यो। सहिद स्मारक ‘ए’ डिभिजन लिगका १२ क्लबको सहभागिता रहने तय थियो। तर, हिमालयन शेर्पा र फ्रेन्ड्रस क्लबले भने यु–१८ युथ लिगमा सहभागिता जनाएका छैनन्। डबल राउन्ड रोबिनका आधारमा भएको यु–१८ युथ लिगको विजेताले एक लाख र उपविजेता ५० हजार रूपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले पनि समान १५ हजार रूपैयाँ पाउनेछन्। 

प्रकाशित: ७ श्रावण २०८१ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App