२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

आधा वर्ष फुटबलविहीन नेपाली टोली

नेपाली महिला फुटबलका लागि गत वर्ष निकै सुखद रह्यो। नेपालले विश्वकप खेलिसकेको जापानसँग प्रतिस्पर्धा गर्ने अवसर पायो भने दक्षिण एसियाली मुलुकबाट बाहिर निस्किएर पहिलोपल्ट पश्चिम एसियाली फुटबल महासंघ (वाफ) च्याम्पियनसिप पनि खेल्ने अवसर प्राप्त गर्‍यो।

फिफा वरीयतामा आफूभन्दा ३१ स्थान (त्यतिखेर) माथि रहेको जोर्डनसँग फाइनलमा पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता भएको टोलीले मौका पाए पुरुष टोलीभन्दा अब्बल प्रदर्शन गर्न सक्छ भन्ने देखाइदियो।

योसँगै नेपालले सन् २०२७ र २०३१ को फिफा महिला विश्वकप खेल्ने ‘मिसन’ बनाएको छ। तर, दुःखको कुरा लगालग अन्तर्राष्ट्रिय प्रतियोगितामा उम्दा प्रदर्शन गरिरहेको र ठूला योजना बुनेको टोलीले फागुनयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन भने अबको तीन महिनासम्म नखेल्न भएको छ।

यो टोली यति लामो समयसम्म मैदान उत्रिन नपाउनुको कारण कुनै रोकटोक होइन। यसबीचमा अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने योजना बनाएन भने फिफाले तोकेको विन्डोमा पनि कुनै प्रतियोगितामा सहभागिता जनाएन।

एन्फा महासचिव किरण राई भन्छन्, ‘हामीले महिला फुटबललाई व्यस्त बनाउन नचाहेको होइन। मिसनअनुसार नै हामीले लेबनानमा हुने भनिएको चारदेशीय प्रतियोगितामा सहभागिता जनाउन लागेका थियौं। तर, टोली लान असुरक्षित हुँदा सहभागी हुने भनिएका अन्य टोलीले पनि नाम फिर्ता लिएपछि हामीले पनि नखेल्ने घोषणा गरेका हौं।’

राईका अनुसार नेपालले असार २६ गतेदेखि हुने प्रतियोगितामा सहभागिता जनाउने पक्का थियो। त्यसैले राजेन्द्र तामाङलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएर एन्फाले असार पहिलो सातादेखि नै तयारी गर्दै अन्तिम २२ सदस्सीय टोली पनि घोषणा गरिसकेको थियो।

तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा आक्रमण गर्ने चेतावनी दिएपछि अन्य राष्ट्रले आफ्ना नागरिकलाई त्यहाँको भ्रमण नगर्न अपिल जारी गरेका थिए। त्यसैले लेबनानको त्रिपोलीमा हुने प्रतियोगिता नेपालले गुमाएको उनी बताउँछन्।

अहिलेसम्मको खेल तालिका हेर्दा असोजमा घरेलु मैदानमा हुने साफ च्याम्पियनसिप नै नेपालको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। त्यसयता भने नेपाली महिला टोलीले प्रतियोगिताविहीन अवस्थामा चित्त बुझाएर बस्नुपर्नेछ।

यसबीचमा महिला खेलाडीले कुनै घरेलु प्रतियोगिता खेल्ने छैनन्। त्यसैले एन्फालाई यो टोली चुस्त दुरुस्त बनाइराख्न चुनौती थपिएको त छ नै खेलाडीलाई ‘म्याच एक्सपोजर’ दिलाउनुपर्ने अर्को चुनौती पनि छ। तर, महासचिव राई भने यसअघि नै नेपालले धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेको भन्दै यसले नै पुग्ने दाबी गर्छन्।

‘हामीले वाफ पनि खेलेका थियौं। त्यसअघि पनि केही अन्तर्राष्ट्रिय खेल खेल्यौं। त्यसैले हामीलाई पर्याप्त भइसक्यो। यद्यपि, एपिएफले करिब दुई महिनापछि एएफसी महिला च्याम्पियन्स लिग छनोट पनि खेल्नेछ। त्यसले साफको तयारीमा पनि सहयोग पुग्छ,’ उनले भने।

फिफाले अप्रिल १–९ र मे २७ जुन ४ सम्म अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि दुई विन्डो छुट्ट्याएको थियो। यो विन्डोमा गत संस्करणको साफ विजेता बंगलादेशले चाइनिज ताइपेईसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। दुवै खेलमा पराजित भएको बंगलादेशले दोस्रो विन्डोमा  भुटानसँग दुई खेल खेल्दै छ।

यता, पाँच पटकको कीर्तिमानी विजेता भारतले पनि उज्बेकिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा ३–० को फराकिलो हार बेहोरेको भारतले दोस्रो खेल भने गोलरहित बराबरी खेलेको थियो। भारतले पनि दोस्रो विन्डोमा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

लेबनानमा चारदेशीय प्रतियोगिता नखेल्ने पक्का भएसँगै एन्फाले भुटान र बंगलादेशसँग खेलाउने तयारी गरेको थियो। तर, भुटानले पहिला नै बंगलादेशसँग खेल्न सम्पूर्ण तयारी गरिसकेकाले अन्तिम समयमा नेपाल सहभागी हुन नपाएको एन्फा प्रवक्त सुरेश शाह बताउँछन्।

‘लेबनानमा खेल नपाएपछि हामीले भुटानमा खेलाउने तयारी गरेका थियौं। तर, उनीहरूले पहिला नै सबै फिक्स गरिसकेका रहेछन्। त्यसैले हामीले सहभागिता जनाउन पाएनौं,’ उनले भने।

विन्डोमा सहभागिता जनाउन एक महिनाअगाडि नै फिफालाई जानकारी गराउनुपर्ने हुन्छ। तर, अन्तिम समयमा जानकारी गराएपछि एन्फालाई फिफाले खेल्न स्वीकृति नदिएको हो। योसँगै फिफा विन्डो गुमाउने पक्का भएपछि एन्फाले शुक्रबार बन्द प्रशिक्षणमा रहेका २२ खेलाडीलाई ‘रिलिज’ गरिसकेको छ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ महिला टोलीका लागि धेरै आवश्यक रहेको बताउँछन्। तर, लगालग विन्डो गुमाउनुपर्दा टोलीलाई धेरै घाटा हुने देखिए पनि एएफसी कपले केही परिपूर्ति गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

‘अधिकांश राष्ट्रिय खेलाडी एपिएफमै छन्। टोलीमा भएकाले पनि १० वर्षदेखि सँगै खेलिरहेका छन्। त्यसैले साफलाई खासै असर नगर्ला। तर, यस्तो मौका गुमाउनुचाहिँ विडम्बना बन्न पुग्यो,’ उनले भने।

प्रकाशित: २२ असार २०८१ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App