२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

खेल्न थालेको १५ महिनामै ओलम्पिक यात्रा तय

२०७८ भदौमा जापानमा आयोजना भएको टोकियो पारालिम्पिक २०२० मा पहिलोपल्ट पलेशा गोवर्धनले सहभागिता जनाइरहँदा भरतसिंह महता पारा तेक्वान्दोमा प्रवेश नै गरेका थिएनन्। त्यति बेला पारा तेक्वान्दो र ओलम्पिक कुन चरीको नाम हो, त्यो उनलाई थाहा पनि थिएन।

दार्चुला अपीहिलमाल गाउँपालिका– ६ मा आफ्नो शारीरिक अपांगता देखर सामाजका जान्नेबुझ्नेले गरिरहने हेपाहा प्रवृत्तिसँग उनी जुधिरहेका थिए। त्यतिखेर उनको मन निक्कै कुँडिरहन्थ्यो। त्यसैले उनी मनमनै भन्थे, ‘म पनि सबलांगझै धेरै कुरा गर्न सक्छु, एक दिन केही गरेर यो समाजलाई देखाउँछु।’

त्यही हिम्मत देखेर आर्मीका भूपू हाकिम गोवर्धन महताले भरतलाई सुनाएछन्-पारा भन्ने खेलकुद पनि छ। त्यो कुरा सुनेपछि भरतलाई लागेछ, ‘खेल्न पाए  त नाम कमाइन्छ, नेपाललाई चिनाउन पाइन्छ र हेप्नेको पनि मेख मार्न पाइन्छ।’

त्यसपछि उनले प्रतिज्ञा गरे, ‘एक दिन ठूलो मञ्चमा पुगेर नेपालको सूर्य र चन्द्र अंकित झन्डा फरफराएरै छाड्छु, अनि आफूलाई हेप्ने सबैलाई आफू शारीरिक अपांगता भए पनि धैरे गर्न सक्छु भनेर देखाउँछु।’

करिब ११ वर्षअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना देखेका तिनै भरतले पेरिस पारालिम्पिक २०२४ मा भाग लिँदै छन्। भरतले ‘वाइल्ड कार्ड’ कोटामार्फत पेरिस पारालिम्पिकमा आफ्नो स्थान पक्का गरेका हुन्।

उनले पेरिस पारालिम्पिकमा के-४४ क्याटागोरी (एउटा हातको कुहिनाभन्दा तलको भाग नहुने) अन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। करिब १५ महिनाअघि पारा तेक्वान्दोमा पाइला टेकेका भरतसँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता मात्रै खेलेको अनुभव छ।

गत मंगलबार विश्व तेक्वान्दो महासंघले नेपाल तेक्वान्दो संघलाई भरत पारालिम्पिकमा छनोट भएको पत्र पठाएको थियो। यो खबर प्रशिक्षक कविराज नेगी लामाले उनलाई पहिला सुनाएका थिए।

सुरुमा त भरतलाई पत्यार नै लागेन। उनी भन्छन्, ‘सुरुमा सुन्दा त होइन जस्तो लाग्यो। यो त सपना हो या विपना झैं लाग्यो। त्यो दिन मैले कसैलाई यो कुरा सुनाइनँ। भोलिपल्ट मात्रै मेरो मामालाई सुनाएँ।’

भरतको जन्मजात नै एक हातको कुहिनाभन्दा तलको भाग थिएन। त्यसैले होस आएदेखि नै समाजले त्यही हातलाई देखाउँदै उनलाई गिज्याइरह्यो। त्यही कारण उनलाई घरबाट बाहिर निस्किन पनि मन लागेन। सहपाठीको हेपाइका कारण १० पढ्दा नै पढाइ छाडेका उनले भलिबल भने खेल्न थालेका थिए।

एक हात भए पनि उनी राम्रा स्पाइकर थिए। गोवर्धनले उनलाई भने, ‘काठमाडौंमा पारा खेलकुदको प्रशिक्षण गराउँछन्। तिमी काठमाडौं जाऊ त्यहाँ गयौ भने तिमीले केही न केही गर्न सक्छौ।’ उनकै प्रेरणाका कारण भरत २०७२ सालको महाभूकम्पपछि पारा खेलकुद खोज्दै काठमाडौं उत्रिए।

अन्जान सहरमा आएका उनले ह्विलचियर बास्केटबल मात्रै खेलाउने ठाउँ भेटे। त्यसतर्फ भने उनको मन लागेन। गाउँमै भलिबल खेल्दै आएका उनले यसैमा जोडिने प्रयास पनि गरे। तर, सबलांग व्यक्तिसँग उनले प्रतिस्पर्धा गर्न सकेनन्। त्यसपछि उनी निराश भएर गाउँ फर्किए।

‘मैले त्यतिखेर खेलकुदप्रति माया नै मारिसकेको थिएँ। यो मेरो लागि होइन रहेछ, मैले केही गर्न सक्ने नसक्ने रहेछु भन्ने लाग्न थाल्यो,’ उनी सुनाउँछन्। त्यसको एक दुई वर्षपछि आफैंले केही गर्नुपर्छ भनेर उनी पुनः काठमाडौं फर्किए।

केही गाई किने र कीर्तिपुरस्थित सल्यानथानमा फर्म खोले। त्यतिखेर इन्टरनेटमा पहुँच पाएका भरतले युट्युबमा ह्विलचियर क्रिकेट खेलेको भिडियो देखे। त्यो भिडियो देखेपछि उनी क्रिकेट टोलीलाई खेज्न थाले। तर, उनले त्यो टोली भेटाउन सकेनन्।

अनेकौं हन्डर खाँदै उनी नेपाल अपांग महासंघसँग ठोकिन पुगे। त्यही महासंघमा पुगेकी पूर्वखेलाडी सीता भण्डारीले पारा तेक्वान्दोको बारेमा बेलिबिस्तार लगाइदिइन्। उनले नै नम्बर थमाएर सातदोबाटो पठाइदिइन्, प्रशिक्षक कविराज नेगी लामालाई भेट्न।

‘घरमा मान्छे छुट्टिएर बस्छन् नि! किन छुटिँदा रहेछन् भन्ने कारण खोज्यो भने अपनाउन नसकेर रहेछ भन्ने मैले यहाँ आएर बुझेको छु। मेरो घरपरिवारबाहेक मलाई आफ्नो भनेर स्विकारेको यही तेक्वान्दो संघले हो जस्तो लाग्छ,’ उनी मलिन अनुहार बनाउँदै भन्छन्।

अपांग भएसँगै समाजले आफ्नो क्षमतामाथि धेरै प्रश्न गरेको उनी सुनाउँछन्। तर, तेक्वान्दोमा प्रवेश गरेपछि उनले कसैको कुरा सुनेनन्। खेल्न थालेको १२ महिनामै चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म भएको पेरिस ओलम्पिक एसियाली छनोटमा उनले सहभागिता जनाउने मौका पाए।

पुरुष ६३ केजीमुनि प्रतिस्पर्धा गरेका उनी घुँडाभन्दा माथि ‘किक’ हान्न सक्ने अवस्थामा पनि पुगिसकेका थिएनन्। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका उनले पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गर्दै सेमिफाइनल पुगे। तर, सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित हुँदै उनी प्रतियोगिताबाट बाहिरिए।

उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१औं स्थानमा पुगेका थिए। त्यसअघि उनी वरीयताविहीन थिए। लगत्तै उनले भियतनामको दनाङमा गत जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाए।

भियतनाममा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मसात् गरे। पहिलो खेलमा कजाकिस्तानका खेलाडीलाई हराएका भरतले दोस्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिए। भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयतामा २३ स्थान फड्को मार्दै ५८औं स्थानमा उक्लिए। यही वरीयतामा कायम रहँदा उनले वाइल्ड कार्डबाट ओलम्पिकसम्मको यात्रा तय गरेका हुन्।

‘त्यो खेल (एसियाली छनोट) मा जानुभन्दा अगाडि सिनियर खेलाडी पलेशासँग डेढ महिना प्रशिक्षण गर्ने अवसर पाएँ। उहाँसँग भेट्नुभन्दा अगाडि मलाई स्पाइरिङ भनेको के हो भन्ने पनि थाहा थिएन। प्रतियोगितामा आफ्नो सासमा सास खेलें। त्यहाँ गएपछि मलाई अनुभव र टेक्निक कम रहेछ भन्ने महसुस भयो,’ उनले भने।

हुन त प्रतियोगिताभन्दा उनले प्रशिक्षणमा निकै कष्ट बेहोरेका थिए। सुरुमा प्रशिक्षण गर्न आउँदा उनी बिरामी भएर तीन दिन अस्पताल बसेका थिए। त्यतिखेर आफ्नै दाइ विमलसिंह महताले सुझाव दिँदै भन्थे, ‘गाई नै पालेर बस भाइ। नसक्ने खेलतिर नलाग्दा राम्रो हुन्छ।’ तर, भाउजु प्रतिभा विष्ट (सशस्त्र प्रहरी बलकी राष्ट्रिय तेक्वान्दो खेलाडी) ले भने उनलाई यसमै निरन्तरता दिन प्रेरणा दिइरहिन्।

अहिले काठमाडौंको कीर्तिपुरस्थित सल्यानथानमा उनी चारवटा गाई पालेर बसेका छन्। चार बजे नै भकारो सोर्ने, खोले र कुँडो दिँदै दुध पुर्‍याएर ६ बजे सातदोबाटो पुग्ने भरतले यही व्यवसायबाट दुई बहिनी र भाइलाई पढाइरहेका छन्। नियमित दुई घण्टा लामासँग प्रशिक्षण गर्ने गरेका छन्।

ओलम्पिकमा पहिलोपल्ट खेल्न जान लागेका उनी सहभागिता भन्दा पनि नतिजा नै ल्याउने लक्ष्यमा छन्। प्रशिक्षक लामा पनि भन्छन्, ‘यति छोटो समयमै ओलम्पिकमा पुग्नु भनेको असाधारण प्रगति हो। उसले एक बाउट भए पनि सहभागिता जनाएको प्रतियोगितामा जितेको छ। त्यसैले मैले मात्रै होइन उसले पनि सहभागिताभन्दा राम्रो नतिजा ल्याउने लक्ष्य नै राखेको छ।’

छनोट चरण पार गर्दै ओलम्पिकमा स्थान बनाएसँगै प्रशिक्षक लामा र पलेशालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दिनको ६ सय भत्ता दिँदै आएको छ। तर, राखेपले अन्य खेललाई झैं पारा तेक्वान्दोको लागि छुट्टै बन्द प्रशिक्षणको व्यवस्था मिलाउन सकेको छैन।

यद्यपि, नेपाल तेक्वान्दो संघले विशेष प्रशिक्षण गर्न गराउन भरतलाई पलेशासँगै बेलायत पठाउने तयारी गरेको छ। ‘पलेशाको पहिला नै सबै प्रक्रिया पूरा भएको थियो। तर, भरत आएपछि उसलाई पनि लैजाने तयारी थालेका छौं। खर्चदेखि सबै बढ्ने भएका कारण अलिक समय लाग्ला जस्तो भइरहेको छ,’ लामा भन्छन्।

प्रकाशित: ८ असार २०८१ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App