२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

पुनरागमन यादगार बनाउने लक्ष्यमा नेपाल

दश वर्षपछि आइसिसी ट्वान्टी- २० विश्वकपमा पुनरागमन यादगार बनाउने लक्ष्यसहित नेपाल अन्तिम तयारीमा छ। छोटो फरम्याटको यस विश्वकप नयाँ प्रयोगसहित शनिबारदेखि दोस्रो आयोजक राष्ट्र अमेरिकाको ड्यालसमा सुरु भइसकेको छ। 

आयोजक राष्ट्र अमेरिकाले क्यानडालाई हराउँदै सुखद सुरुआत गरिसकेको छ। अमेरिकामा क्रिकेट लोकप्रिय नै छैन। अमेरिकी बजार ठूलो छ र यहाँ सन् २०२८ मा ओलम्पिक पनि हुँदै छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले खेलकुदको ठूलो व्यापार हुने अमेरिकामा क्रिकेटको लोकप्रियता बढाउने र ओलम्पिकमा क्रिकेटको तयारी गर्ने उद्देश्यले अमेरिकी भूमि रोजेको हो।

अर्को आयोजक क्रिकेटमा लामो इतिहास बोकेको र दुई पटक ट्वान्टी- २० विश्वकप च्याम्पियन वेस्ट इन्डिज हो। यो नवौं संस्करणको ट्वान्टी- २० विश्वकप आयोजना क्यारेबियन जनताका लागि उत्सव बनिरहेको छ। तर, अमेरिकी जनताका लागि खासै चासोको विषय बन्न सकेको छैन।

विश्वकप खेल हुने ड्यालसमा व्यापारिक क्षेत्र, कुनै पनि डिजिटल बोर्ड र स्थानीय टेलिभिजनमा क्रिकेटको कुनै चर्चा छैन। सहभागिताका (२० राष्ट्र) हिसाबले यो विश्वकप अहिलेसम्मकै ठूलो हो। जहाँ नेपालले दशकपछिको पुनरागमन यादगार बनाउने लक्ष्य लिएको छ।

यसअघि पहिलो पटक पारस खड्काको कप्तानीमा नेपालले बंगलादेशमा यसै फरम्याटमको विश्वकप खेलेको थियो। दशकपछि फेरि नेपाल विश्व क्रिकेटको ठूलो प्रतिस्पर्धामा युवा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उत्रँदै छ। पहिलो सहभागितामा नेपालले दुई खेल जितेको थियो। यस पटक त्यो नतिजा सुधार गर्ने जिम्मेवारी रोहित नेतृत्वको युवा टोलीलाई छ।

कप्तान रोहित र नेपाली टोली यस विश्वकपकै सबैभन्दा कान्छा हुन्। नेपाली टोली खेलाडीको औसत उमेर २३ वर्ष ९ महिना छ। जुन यस विश्वकपको सबैभन्दा कम हो। यही कान्छो नेपाली क्रिकेट टोलीमा विश्वकप नजिकिँदै गर्दा आत्मविश्वास देखिन्छ।

विश्व क्रिकेटका शक्तिशाली देशहरूले गर्ने यो प्रतिस्पर्धामा नेपाल आफ्नो उपस्थितिको छाप छोड्ने लक्ष्यमा छ। तर, आफूलाई प्रमाणित गर्न नेपालसँग स्तरीय प्रदर्शन गर्नुको विकल्प हुने छैन। त्यसका लागि अप्रत्याशित नतिजा ल्याउनुपर्छ।

यहाँको प्रदर्शनले कुनै पनि खेलाडीका लागि विश्व क्रिकेटका ठूला फ्रेन्चाइज क्रिकेटका लागि समेत बाटो खुल्न सक्नेछ। विश्वकपअगाडि नेपालको प्रदर्शन भने सुखद छैन।

अमेरिका र वेस्ट इन्डिजका स्थानीय टोलीका साथै क्यानडासँग खेलिएको अभ्यासमा आशातीत प्रदर्शन हुन सकेन। ब्याटिङमा संघर्ष गर्नुपरेको छ भने बलिङतर्फ सुधार आउन सकेको छैन। पावर प्लेमा ओपनरले राम्रो साझेदारी बनाउन सकेका छैनन्। स्ट्राइक बलरको अभाव देखिएको छ। १५ सदस्यीय खेलाडीमध्ये १३ जना अलराउन्डर छन्।

यसले अनुशासित इनिङ खेल्नेको अभाव देखिएको छ। तर, नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाई भने जस्तोसुकै ठूलो टोलीको पनि कहिलेकाहीँ खराब नतिजा आउने उल्लेख गर्दै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँछन्।

१-२ खेलमा खराब नतिजा आउनेबितिकै समग्र ब्याटिङ या बलिङ नै बिग्रिएको भन्न नमिल्ने मोन्टीको तर्क छ। नेपाल विश्वकपको समूह ‘डी’ मा छ। नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश यो समूहमा छन्। यसमा नेपाल आइसिसी वरीयतामा तल्लो टोली हो।

श्रीलंका एक पटकको च्याम्पियन टोली हो। अर्का दुई टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशले अहिलेसम्म जित्न सकेका छैनन्। तर, यी दुवै बलिया टोली हुन्। दोस्रो एसोसिएट राष्ट्र नेदरल्यान्ड्स पनि पाँच पटक ट्वान्टी- २० विश्वकप खेलिसकेको अनुभवी टोली हो

त्यसैले नेपालका लागि यो समूह निकै कठिन छ। दोस्रो चरणमा पुग्न नेपालले कम्तीमा दुई टेस्ट राष्ट्रलाई हराउनुपर्नेछ। नेपालका कप्तान रोहितले विश्वकप खेल्ने कुनै पनि टोली कमजोर नहुने र यसलाई विश्वमाझ क्षमता देखाउने अवसरका रूपमा लिनुपर्ने बताउँछन्।

‘समूहमा सबै राम्रा छन्। विश्वकपमा कहिल्यै पनि कमजोर टोली आउँदैनन्। विश्वकप खेल्ने भनेपछि बलिया टोली नै हुन्छन्,’ कप्तान रोहितले भने, ‘यसलाई हाम्रो क्षमता विश्वमाझ देखाउने अवसरका रूपमा लिनुपर्छ। राम्रो प्रदर्शन गरेर प्रमाणित गर्छौं। त्यसका लागि तयार पनि छौं।’

नेदरल्यान्ड्सले विश्वकपअगाडि अभ्यास खेलमा श्रीलंकालाई हराउँदै सबै टोलीका लागि चुनौती बन्ने संकेत गरिसकेको छ। गत संस्करणमा नेदरल्यान्ड्स सुपर १२ मा पुगेको टोली हो।

सुपर १२ मा डच टोलीले दक्षिण अफ्रिका र जिम्बाब्वेलाई हराएर सनसनी मच्चाएको थियो। त्यसैले नेदरल्यान्ड्सविरुद्ध जित निकाल्न नेपालका लागि सहज हुने छैन। यद्यपि, कप्तान रोहित ट्वान्टी- २० मा हरेक दिन अप्रत्याशित नतिजा आउन सक्ने बताउँछन्।

‘ट्वान्टी- २० मा हरेक दिन नयाँ नतिजा आउन सक्छन्। २-३ जना खेलाडी चम्के भने जस्तोसुकै नतिजा ल्याउन सकिन्छ। यसका उदाहरण पनि छन् र हामीले पनि उदाहरण दिनुपर्छ,’ आत्मविश्वासले भरिएका रोहितको प्रतिक्रिया छ।

सन् २०१४ मै प्राप्त सफलतामा पुग्न नेपालले १० वर्ष नै कुर्नुपर्‍यो। अब नियमित खेल्ने अवस्था बनाइराख्न टोलीले १-२ वटा अप्रत्याशित सुखद नतिजाको वातावरण सिर्जना गर्न सक्छ। उनी आफैंले पनि यसलाई अवसरका रूपमा लिएका छन्।

‘नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा लैजाने अवसर यो पुस्तालाई मिलेको छ। यो विश्वकपमा हाम्रो प्रयास यही हुनेछ,’ रोहितले भनेका छन्। तर, विश्वस्तरीय टोलीबीच अप्रत्याशित नतिजा ल्याउने बाटो सहज छैन।

ओपनिङ साझेदारी राम्रो नहुनु, कुनै एक ब्याटरले लामो इनिङ खेल्न नसक्नु र बलिङ युनिट लयमा नफर्कनु नेपालका लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छ। क्यानडासँगको अभ्यास खेलमा पनि नेपालले सोही अवस्था सामना गर्नुपरेको थियो। प्रशिक्षक मोन्टीले सधैं खराब प्रदर्शन हुन नसक्ने स्पष्ट पारिसकेका छन्।

प्रिमियर बलर सन्दीप लामिछाने भिसा प्राप्त हुन नसकेपछि नेपाली टोलीमा छैनन्। अर्का अनुभवी बलर सोमपाल कामी र करण केसीले आफ्नो उत्कृष्टता प्रदर्शन गर्न नसकेको पनि लामो समय बितिसकेको छ।

यस्तोमा नेपालको बलिङले समूहचरणमै निकै संघर्ष गर्न सक्छ। सोमपाल नेपाली टोलीकै सबैभन्दा पुराना र अनुभवी हुन्। उनले सन् २०१४ कै विश्वकप खेलेका थिए। त्यतिबेला सोमपालको उत्कृष्ट गतिको बलिङ अभैm पनि चर्चा हुने गर्छ। तर, उनले अहिले त्यो गतिमा बल फ्याँक्न सकिरहेका छैनन्।

नेपालले पावर प्ले र अन्तिम ओभरमा अधिक रन खर्चनबाट सुधार गर्नुपर्छ। ‘ब्रेक थ्रु’ दिलाउने बलर अभाव हुँदा बलिङबाट नेपालले धेरै क्षति बेहोर्न सक्छ। डेथ ओभरमा विशेष मानिने अविनाश बोहरा निकै महंगा बन्ने गरेका छन्।

सोमपाल र करण करियरको उत्तरार्धमा छन्। त्यसैले अविनाशले विश्वकपजस्तो प्रतिस्पर्धाबाट सुधार गर्दै आफूलाई नम्बर एक बलरका रूपमा स्थापित गर्न सक्नुपर्छ। कप्तान रोहितले करिब एक महिना वेस्ट इन्डिज र अमेरिका भ्रमणबाट पिचको कन्डिसनबारे बुझ्न पाएकाले केही सुधार हुने आशा व्यक्त गरेका छन्।

‘झन्डै एक महिना देशबाहिर बस्यौं। यसबीच धेरै पक्षमा काम भयो र वेस्ट इन्डिज र अमेरिकाको कन्डिसनबारे राम्रोसँग बुझ्ने समय पनि पायौं। दुवै स्थानमा खेल्यौं र यसले केही मद्दत पुग्नेछ,’ उनले भने, ‘यस कारण हामी निकै उत्साहित पनि छौं।’

नेपालले पहिलो खेल मंगलबार ड्यालसको ग्रान्ड पिइरे स्टेडियममा नेदरल्यान्ड्ससँग खेल्दै छ। यही मैदानमा नेपालले दुई अभ्यास खेल खेल्ने तय थियो। पहिलो खेलमा क्यानडासँग खराब नतिजा सामना गरेको नेपालले अमेरिकासँगको दोस्रो खेल वर्षाका कारण गुमायो।

यसले पिचबारे थप बुझ्ने अवसर भने नेपालले पाएन। ‘अमेरिकासँग वर्षाका कारण खेल हुन सकेन। यो पिचमा धेरै एक्सपोज पाउँथ्यौं। तर, क्यानडासँग खेलेका थियौं। त्यहाँबाट नै पिचबारे बुझ्न पर्याप्त छ।

अब पहिलो खेलमा ध्यान दिनेछौं, रोहितले अगाडि भने। महत्वपूर्ण खेलाडी तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी चोटबाट फर्कनु भने नेपालका लागि सुखद पक्ष हो। उनको उत्कृष्ट फिल्डिङ, ब्याटिङ र बलिङमा प्रभावकारी प्रदर्शनले टोलीको मनोबल बढाउनेमा दुईमत छैन।

पछिल्ला खराब नतिजा बिर्सेर आगामी खेलमा ध्यान केन्द्रित गरिरहेको नेपाली टोलीको जितको बलियो आधार नै आत्मविश्वास हो। जुन कप्तान रोहित र प्रशिक्षक मोन्टीमा पूर्ण रूपमा देखिएको छ।

यो आत्मविश्वासले नेपालले विश्वकपमा आफ्नो उपस्थितिलाई विशेष बनाउन सक्नेछ। नेपालका विद्यार्थी र अप्रवासीहरू धेरै रहेको क्षेत्र हो टेक्सास राज्य। यहाँ करिब ढेड लाख नेपाली बस्छन्। यही स्थानमा पहिलो खेल हुनु नेपालका लागि फाइदा मिल्ने छ।

स्टेडियममा करिब ९० प्रतिशत नै दर्शक नेपालको हुने अनुमान गरिएको छ। यसले गर्दा ग्रान्ड पिइरे स्टेडियममा नेपाली टोलीले त्रिवि क्रिकेट मैदानको अनुभूति पाउन सक्छ।

‘हामीभन्दा दर्शकहरू धेरै उत्साहित हुनुहुन्छ। दर्शकहरूले यहाँ घरेलु मैदानजस्तो साथ पाउनुहुन्छ भनिरहनुभएको छ,’ कप्तान रोहितले भने, ‘ड्यालसमा टियुको अनुभव पाउनेमा आशावादी छौं।’

प्रकाशित: २१ जेष्ठ २०८१ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App