१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

गुजरातविरुद्ध नेपाल ८ रनले विजयी, फाइनल प्रवेश

भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’को फाइनलमा प्रवेश गरेको छ।

त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा आज भएको लिगको चौथो खेलमा गुजरातले टस जितेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो।

नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक सय ८१ रन बनायो। एक सय ८२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो।

पहिला ब्याटिङ गर्ने क्रममा नेपालको सुरुआत उत्कृष्ट रह्यो। दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे। पहिलो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमायो। उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए। अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए।

उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे। अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन्।

कप्तान रोहितकुमार पौडेलले तीन, सन्दीप जोराले दुई, कुशल मल्लले एक, गुलशन झाले चार, विवेक यादवले सात तथा प्रतीस जिसीले अविजित चार रन बनाए।

बलिङतर्फ गुजरातका लागि जयमित पटेलले तीन तथा आर्या देसाइ र ध्रुशान्त सोनीले दुई दुई विकेट लिए।

गुजरातका लागि एक सय ७३ रन बनाउने क्रममा उमङ्ग तन्डेलले ४७ रनको योगदान दिए। हर्ष देसाइले अविजित २९ रन बनाए। अभिषेक देसाइले २० तथा स्मित पटेलले १९ रन बनाए।

बलिङतर्फ नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले दुई दुई तथा विवेक यादवले एक विकेट लिए।  नेपालले अर्को खेल शुक्रबार बरोडासँग खेल्नेछ।

प्रकाशित: २१ चैत्र २०८० १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App