स्पिनर सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिएपछि बाग्मतीले मंगलबार मधेस प्रदेशमाथि ८६ रनको जितसँगै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो सफलता निकालेको छ।
२२ वर्षे सूर्यले २९औं ओभरमा यादगार प्रदर्शन गर्दै ह्याट्रिकसँगै चार विकेट लिएपछि मूलपानी क्रिकेट मैदानमा १९१ रनको सामान्य लक्ष्य पछ्याएको मधेसको इनिङ धराशयी बन्न पुग्यो। २६औं ओभर सकिँदा मधेस ९७÷५ को मध्यम स्थितिमा थियो। तर, सूर्यको घातक बलिङसामु थप सात रन जोड्दा मधेसले नाटकीय रूपमा पाँच विकेट गुमाउन पुग्यो। यस क्रममा सूर्यले २७औं ओभरमा अरनिको यादवलाई तीन रनमा स्टम्पिङ गराए। २९औं ओभरमा भने उनको बलिङसामु मधेस निरीह बन्न बाध्य भयो।
यो ओभरमा सूर्यले ह्याट्रिकसहित चार विकेट लिए। पहिलो तीन बलमा क्रमशः रूपेश सिंहलाई दुई रन, राजेश यादव र सांसद अन्सारीलाई शून्यमा पभेलियन फर्काउँदै सूर्यले ह्याट्रिक गरे। उनले अन्तिम बलमा रञ्जित कुमारलाई पनि आउट गर्दै यो ओभरको चौथो सफलता पाए।
कुल नौ ओभरमा सूर्यले तीन मेडनसहित ६ विकेट लिँदा १८ रन मात्र खर्चिए। प्रतीश जिसी र ईशान पाण्डेको नाममा समान दुई विकेट रह्यो। बाग्मतीको घातक बलिङसामु एक सय ९१ रनको लक्ष्य पछ्याएको मधेस १९ ओभरमा एक सय ४ रनमै समेटियो।
मधेसका पवन सर्राफले ४५, मायन यादवले ३१ र नीरज यादवले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। यससँगै समान तीन खेलबाट मधेस र बाग्मतीले समान एक जित निकालेको छ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदा एक सय ९० रनको सामान्य योगफल बनाएको थियो। तर, बलिङमा साथ पाएपछि सहज जित निकाल्यो। बाग्मतीले पनि खराब ब्याटिङ सामना गर्नुप¥यो। ३०.३ ओभरमा बाग्मती १०३÷७ को नाजुक अवस्थामा थियो।
तर, नवौं नम्बरमा ब्याटिङ गर्न गर्न आएका प्रतीश जिसीले अर्धशतक बनाउँदै टोलीलाई सम्मानजनक स्थितिमा पु¥याए। उनले ५९ रन जोड्दै टोलीको इनिङ उकासे। रविन जोशीले २१, ईशान पाण्डेले १५, विपिन आचार्यले १३, कप्तान रित गौतमले १२ र रिजन ढकालले ११ रन बनाए। मधेसको बलिङमा रूपेश सिंह र अरनिको यादवले दुई तथा राजेश यादव, पवन सर्राफ, कप्तान हरिशंकर शाह र रञ्जित कुमारले समान एक विकेट लिए।
यता, मंगलबार नै कीर्तिपुरमा सुजन थपलियाले बनाएको १०५ रनको शतकका बावजुद कोसीले विभागीय टोली नेपाल पुलिस क्लबलाई सहजै सात विकेटले नतिजा सुम्पियो। कोसीको यो लगातार तेस्रो हार हो भने पुलिसले दोस्रो खेलमा पनि जित कायमै राख्यो।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुजनको शतकका बावजुद कोसी ४८.२ ओभरमा अलआउट हुनुअघि १६६ रन मात्र बनाउन सक्यो। जबाफमा पुलिसले सामान्य लक्ष्य मात्र तीन विकेट गुमाएर २३.१ ओभरमै पूरा ग¥यो। ओपनरद्वय सुनील धमला १६ रन र कुशल भुर्तेल १२ रनमा आउट भएपछि पुलिसको सुरुआत राम्रो भएन।
तर, कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन र अर्जुन साउदले ६२ रनको अविजित इनिङ खेल्दै १६१ बलअगावै पुलिसको जित सुरक्षित गराए। यी दुईले चौथो विकेटका लागि ७३ रनको अविजित साझेदारी गरे। दीपेन्द्रले १७ बलमा चार चौका र दुई छक्का प्रहार गरे। अर्जुनको इनिङमा पाँच चौका र दुई छक्का रह्यो।
दिलीप नाथले ३१ बलमा दुई चौका र एक छक्कासहित ३१ रन जोडे। कोसीको बलिङमा कमल खत्रीले दुई तथा सोनी मण्डलले एक विकेट लिए पनि पुलिसलाई चुनौती भएन। त्यसअघि टस हारेर ब्याटिङ गरेको कोसी ४८.२ ओभरमा एक सय ६६ रनमा अलआउट भयो।
सुजनबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा कोसी सस्तैमा समेटियो। १२६ बल खेल्दै सुजनले आठ छक्का र ६ चौका प्रहार गरे। अभ्यास तिमिल्सिनाले २३ रन र कप्तान अंकित सुवेदीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सुजनले आठौं विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरेका थिए। पुलिसको बलिङमा करण केसीले ९.२ ओभरमा तीन विकेट लिँदा २८ रन खर्चिए। उनी म्यान अफ दी म्याचसमेत भए। ललितनारायण राजवंशी र सुनील धमलाले समान दुई तथा रसिद खान, सागर ढकाल र कुशलले समान एक विकेट लिए।
सुदूरपश्चिमको दोस्रो जित
सुदूरपश्चिम प्रदेशले मंगलबार भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा कर्णाली प्रदेशमाथि एक सय ३४ रनको फराकिलो जित निकाल्यो।
सुदूरपश्चिमले दोस्रो खेलमा शतप्रतिशत जित कायम राख्दा कर्णालीको भने दोस्रो खेलमा पहिलो हार हो। सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो। कर्णालीका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन्।
दिवान पुनले ३८ रन, अर्जुन घर्तीले २४ रन र दिनेश अधिकारीले २० रन बनाए। सुदूरपश्चिमको बलिङमा शेर मल्लले १० ओभरमा ३५ रन खर्चिंदै चार विकेट लिए। विकास आग्रीले दुई, नरेन भट्ट, भोजराज भट्ट र नारायण जोशीले समान एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २७७ रनको योगफल बनाएको थियो। तीन ब्याटरले अर्धशतक बनाउँदा सुदूरपश्चिमले राम्रो योगफल खडा ग¥यो।
खडक बोहराले ८० रन, टेक रावतले ५९ रन र किरण ठगुन्नाले ५० रनको अर्धशतकीय इनिङ खेले। किरणले ११४ बलमा ६ चौका, टेकले ९१ बलमा सात चौका तथा किरणले ३३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। ओपनरद्वय खडक र टेकले १३८ रनको साझेदारी गरे।
नारायण जोशीले ३१, कप्तान राजु रिजालले १९ र नरेन भट्टले १५ रनको योगदान दिए। कर्णालीका दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले समान एक विकेट लिए। कुल १० टोलीले प्रतिस्पर्धामा गरेको प्रतियोगिता राउन्ड रोबिनको आधारमा भइरहेको छ। शीर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थानसम्मका टोलीले भने एलिट ट्रफी खेल्न पाउँछन्।
प्रकाशित: ३ माघ २०८० ००:५७ बुधबार





