२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

विदेशबाट हात्ती लिएर प्रजनन केन्द्रको सुरुवात: कतारसम्मलाई उपहार !

<br>

कुनै समय आफ्नो वन-जंगलको गस्ती र सुरक्षाका लागि विदेशबाट हात्ती आयात गर्नुपर्ने बाध्यतामा रहेको नेपाल आज आफ्नै प्रजनन केन्द्रमा हुर्काएका हात्ती मित्रराष्ट्रलाई उपहार स्वरूप प्रदान गर्न सक्ने अवस्थामा आइपुगेको छ।

यसको ज्वलन्त उदाहरण हालै नेपाल सरकारले कतारलाई उपहार स्वरूप प्रदान गरेका दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसाद हुन्।

यद्यपि, यो सफलता र उपहार आदान–प्रदानको प्रक्रिया विवादरहित भने रहन सकेन।

चितवनमा हात्तीलाई साङ्लो-मुक्त गरिनुपर्ने र पशु अधिकारको सम्मान गरिनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको थियो।

पशु अधिकारकर्मीहरूले वन्यजन्तुलाई प्राकृतिक वासस्थानबाट टाढा लैजान नहुने भन्दै सरकारको हात्ती उपहार दिने निर्णयको चर्को विरोध गरेका थिए।

तर, कूटनीतिक सम्बन्ध र राजकीय उपहारको महत्वलाई प्राथमिकता दिँदै सरकारले अधिकारकर्मीहरूको विरोधका बाबजुद गत पुस २ गते चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोरमा जन्मिएका भर्खरका हात्तीहरू रुद्रकली र खगेन्द्रप्रसादलाई कार्गो विमानमार्फत कतार पठाएरै छाड्यो।

आज नेपालको पहिचान बनेर कतार पुगेका यी हात्तीका पुर्खाहरू भने नेपालका रैथाने थिएनन्।

नेपाल सरकारले वि.सं. २०४४ सालमा चितवन राष्ट्रिय निकुञ्जमा हात्ती प्रजनन केन्द्रको स्थापना गरेको थियो। त्यस समयमा नेपालका निकुञ्ज र आरक्षहरूको सुरक्षा गस्तीका लागि पर्याप्त हात्तीहरू थिएनन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार वन-जंगल र वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको चरम अभाव खड्किएपछि सरकारले विदेशबाट हात्ती ल्याउने नीति लिएको थियो।

डा. पन्तले विगत सम्झँदै भन्छन्, ‘वन–जंगल संरक्षणमा हात्तीको अभाव टार्न नेपाल सरकारले तत्कालीन समयमा एक किसिमको बस्तु विनिमय जस्तै अभ्यास गरेको थियो। नेपालले मित्रराष्ट्र भारतलाई चार वटा गैंडा उपहार दिएर त्यसको सट्टामा सोह्र वटा हात्ती ल्याएको थियो।’

निकुञ्जको तथ्यांकअनुसार नेपालले जंगलबाट समातेका जंगली हात्तीका बच्चाहरूको पालन–पोषण गरेको, थाइल्यान्डबाट उपहार स्वरूप हात्ती प्राप्त गरेको, बर्माबाट दुईवटा हात्ती ल्याएको र तराईका महाजनहरूसँग हात्ती किनेर सुरक्षामा खटाएको इतिहास छ।

चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन केन्द्रका प्रमुख तथा शाखा अधिकृत मनपुरन चौधरीका अनुसार नेपाल सरकारले सुरुवाती चरणमा भारत, थाइल्यान्ड र म्यानमार (बर्मा) लगायतका देशबाट गरी कुल २० वटा हात्ती ल्याएर यो प्रजनन केन्द्रको स्थापना गरेको थियो।

तिनै २० वटा हात्तीबाट सुरु भएको प्रजनन केन्द्रले आज नेपाललाई हात्तीमा आत्मनिर्भर बनाउने दिशामा ठूलो योगदान पुर्‍याएको छ। प्रमुख चौधरीका अनुसार स्थापनाकालदेखि हालसम्म यस प्रजनन केन्द्रमा ६८ वटा हात्तीका छावाहरू जन्मिसकेका छन्।

‘यो नेपालकै एक मात्र हात्ती प्रजनन केन्द्र हो,’ शाखा अधिकृत चौधरीले भने, ‘यहाँ जन्मिएका र तालिम प्राप्त हात्तीहरूलाई देशका अन्य संरक्षित क्षेत्रहरू जस्तै पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतमा आवश्यकता अनुसार स्थानान्तरण गर्ने गरिएको छ।’

उनका अनुसार २०५० सालदेखि हालसम्मको अवधिमा ६८ वटा छावा जन्मनु सामान्य उपलब्धि होइन।

हाल चितवन राष्ट्रिय निकुञ्ज मातहत २४ वटा पोथी हात्तीसहित कुल ५६ वटा हात्ती रहेका छन्। कतारलाई दुई वटा हात्ती उपहार दिनुअघि यो संख्या ५८ थियो।

प्रजनन केन्द्रको व्यवस्थापन पक्षलाई हेर्दा हात्तीको स्याहारसुसारमा ठूलो लगानी र परिश्रम देखिन्छ। चौधरीका अनुसार एउटा वयस्क हात्तीले दैनिक १५ केजी धान, डेढ किलो सक्खर, २५ ग्राम नुन र करिब डेढ सय किलो घाँस खाने गर्दछ।

हात्तीहरूलाई दिउँसो चराउन जंगल लैजाने गरिन्छ भने तीन पहर खाना (दाना) खुवाउने व्यवस्था मिलाइएको छ।

प्रजनन केन्द्रको सफलतामा जंगली भाले हात्तीहरूको भूमिका निर्णायक रहेको छ। खोरसोरस्थित प्रजनन केन्द्रमा घरपालुवा पोथी हात्तीहरूसँग संसर्गका लागि जंगली भाले हात्तीहरू आउने गर्दछन्।

विशेषगरी रोनाल्डो, गोविन्दे र धुव्रे नामका जंगली मत्ता (भाले) हात्तीहरू प्रजननका मुख्य आधार हुन्। हात्तीले गर्भाधान गरेको २२ देखि २४ महिनामा बच्चा जन्माउने गर्दछ।

अहिले पनि प्रजनन केन्द्रमा सात वटा हात्ती गर्भवती अवस्थामा छन्। तर, प्रजनन केन्द्रका प्रमुख चौधरीले पोथी हात्तीको संख्या अझै अपर्याप्त रहेको महसुस गरेका छन्।

‘नेपालले पहिला अरू देश वा महाजनसँग हात्ती किन्नु पर्थ्यो, अहिले त्यो बाध्यता हटेको छ। प्रत्येक वर्ष ५ देखि ६ वटा छावा यहाँ जन्मिन्छन्,’ उनले भने, ‘तर जंगली भाले हात्तीको उपलब्धता र सक्रियताको तुलनामा हामीसँग पोथी हात्तीको संख्या कम भयो। प्रजनन केन्द्रमा मात्रै कम्तिमा २० वटा पोथी हात्ती आवश्यक छ, जबकि अहिले छावासहित जम्मा १७ वटा मात्र छन्।’

उनका अनुसार यदि २० वटा पोथी हात्ती पुर्‍याउन सकियो भने प्रत्येक वर्ष १० वटासम्म छावा जन्माउन सकिन्छ। यसले नेपालको आवश्यकतालाई पूर्ण रूपमा धान्न सक्छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक तथा हात्ती विज्ञ किरणराज रिजालले नेपालमा हात्ती संरक्षणको सुखद तथ्यांक प्रस्तुत गरे।

उनका अनुसार हाल नेपालमा रहेका कुल १८५ पालुवा हात्तीमध्ये ९१ वटा अर्थात् करिब ५० प्रतिशत हात्ती नेपालमै जन्मिएका हुन्। यसलाई सरकारी र निजी क्षेत्रमा छुट्याएर हेर्दा, नेपाल सरकारको संरक्षणमा रहेका १०५ हात्तीमध्ये ७६ वटा नेपालमै जन्मिएका छन्।

त्यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोषका सातमध्ये दुई र निजी रूपमा पालिएका ७३ हात्तीमध्ये १३ वटा नेपालमै जन्मिएका हुन्।

यसबाहेक नेपालका जंगलहरूमा करिब २७ वटा रैथाने जंगली हात्ती रहेको अनुमान छ भने भारतको सीमा क्षेत्रबाट करिब १२० देखि १५० वटा हात्तीहरू ओहोरदोहोर गर्ने गर्दछन्।

विज्ञ रिजालले जंगली हात्तीको वासस्थान खुम्चिँदै गएको र संख्या बढेसँगै मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भइरहेकोप्रति चिन्ता व्यक्त गरे।

उनले भने, ‘यदि जंगली हात्तीको उचित संरक्षण भएन भने अबको एक-दुई दशकपछि हात्तीहरू केवल चिडियाखाना र मूर्तिहरूमा मात्र सीमित हुने स्थिति आउन सक्छ।’

उनको बुझाइमा जंगली हात्ती र उत्पादनयोग्य पालुवा पोथी हात्तीको संरक्षण गर्नु भनेको प्रकारान्तरले मानव जातिको पनि संरक्षण गर्नु हो।

आपतकालीन अवस्था, बाढीपहिरोको समयमा उद्धार, समस्याग्रस्त वन्यजन्तु (जस्तै नरभक्षी बाघ, गैंडा) को नियन्त्रण, निकुञ्जको सुरक्षा- संरक्षण र पर्यटन प्रवर्द्धनमा हात्तीको भूमिका अपरिहार्य छ।

त्यसैले हात्ती सरकारी होस् वा निजी, यसलाई राष्ट्रको सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने विज्ञहरूको मत छ। विगत २५ वर्षदेखि हात्ती र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आएका रिजाल भन्छन्, ‘जंगली हात्तीलाई नियन्त्रण वा समातेर पालुवा बनाउनु अत्यन्तै जटिल र गाह्रो काम हो। नेपाल सरकारको प्रयासले मानव-हात्ती द्वन्द्व केही हदसम्म कम भए पनि पूर्ण समाधान हुन सकेको छैन।’

समस्याग्रस्त हात्तीको सही पहिचान र व्यवस्थापन गर्दै संरक्षणलाई अघि बढाउन सके मात्र भावी पुस्ता अर्थात् दशौं पुस्तासम्मका लागि हात्ती जोगाउन सकिनेछ।

कुनै समय हात्तीका लागि अर्काको मुख ताक्नुपर्ने नेपाल आज जंगली हात्तीकै कारण प्रजनन् केन्द्रमा राम्रो उत्पादन गर्दै कतार जस्तो मुलुकलाई भाले र पोथी हात्ती उपहार दिन सक्ने अवस्थामा पुग्नु आफैमा गौरवको विषय हो।

यद्यपि, विश्वव्यापी रूपमै हात्तीको संख्या घट्दै गइरहेको सन्दर्भमा जंगली र पालुवा दुवै प्रकारका हात्तीको संरक्षणमा सरकार, समुदाय र सरोकारवालाहरूले हातेमालो गर्नुको विकल्प छैन।

प्रकाशित: २१ पुस २०८२ २२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App