चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा हालै भएको भोटेकोशी बाढीको विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।
शुक्रबार पठाएको सन्देशमा सीले चीन-नेपाल ग्यारोङ-रसुवा सीमा नाकामा हालै गएको ठुलो बाढीबाट ठुलो मानवीय क्षति भएको, मानिस बेपत्ता भएको र भौतिक क्षति पुगेको उल्लेख गरेको सिन्हवाले जानकारी दिएको छ।
उनले चिनियाँ सरकार र जनताको तर्फबाट बाढीमा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवार, घाइते तथा विपद् प्रभावित क्षेत्रका मानिसप्रति सहानुभूति प्रकट गरेका छन्।
सीले बेपत्ता भएकाको खोजी तथा उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्ने, घाइतेलाई तत्काल उपचार दिने र थप क्षति हुन नदिने काममा चीनले हरसम्भव प्रयास गरिरहेको जनाएका छन्।
‘चीन र नेपाल पहाड र नदीले जोडिएका छन् र साझा भाग्य बाँडिरहेका छन्,’ सीको सन्देशमा भनिएको छ।
नेपालमा भइरहेको उद्धार प्रयासमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमताले भ्याएसम्म आवश्यक सहायता उपलब्ध गराउन चीन तयार रहेको पनि उनले जनाएका छन्।
दुवै देशका जनता मिलेर विपद्को सामना गर्दै सकेसम्म छिटो आफ्नो घर पुनर्निर्माण गर्न सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।
शुक्रबार नै चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई समवेदना सन्देश पठाएका थिए।
यस महाविपत्तिले नेपाल र चीनमा ठुलो क्षति गरेको छ। पछिल्लो जानकारी अनुसार नेपालमा ५४७ जनाको शव फेला पारिएको छ भने चीनमा पाँच जना मृत भेटिएका छन्। दुवैतिर एक हजार ५०० भन्दा धेरै मानिस बेपत्ता भएका छन्।
प्रकाशित: १२ भाद्र २०८३ १७:०० शुक्रबार



-600x400.jpg)

-600x400.jpg)