१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रमा टेलिकमका ८० ‘साइट’ सुचारु

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ।

बाढीका कारण प्रभावित भएका तीन जिल्लाका १२० साइटमध्ये हालसम्म ८० वटाको सेवा पुनःसञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ।

टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको छ।

भदौ ११ गते हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी गोसाइँकुण्ड गाउँपालिका–६ स्थित रसुवा सदरमुकाम धुन्चेको मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको उनले बताए।

आज बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन हुन बाँकी रहेका स्थानमा खटिएका छन्।

यसका साथै सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउन आवश्यक प्राविधिक कामसमेत भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिए।

यस क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका(५ स्थित गोल्जुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याइएको छ। उक्त टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिका–३ र ५ का केही क्षेत्रमा मोबाइल सेवा पुनःसञ्चालन भएको छ।

स्याफ्रुबेँसी–टिमुरे राजमार्गका केही भागमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको टेलिकमले जनाएको छ। नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही भागमा दूरसञ्चार सेवा पुनःसञ्चालन भएको छ।

कम्पनीका अनुसार विदुर नगरपालिका–८ स्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरे माथिको डाँडामा रहेको टेलिकम टावरमा आज हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी परिचालन गरी सेवा सञ्चालन गर्ने काम भइरहेको छ।

बाढीपछि भदौ १० गतेदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा जिल्लाका न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएका छन्।

उनीहरूले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सेवा पुनः सञ्चालन तथा सञ्चालनमा रहेका सेवाको निरन्तरताका लागि आवश्यक प्राविधिक काम गरिरहेका छन्।

नेपाल टेलिकमले विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

बाढीबाट प्रभावित बाँकी साइटमा समेत सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन भइरहेको नेपाल टेलिकमले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०८३ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App