२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
समाज

उधारोमा राउटेको ‘भव्य’ दसैं

नेपालको एक मात्रै फिरन्ते जाती राउटेको यस पटकको दसैं उधारोमै भए पनि ‘भव्य’ रूपमा मनाएका छन्। सरकारले दिने सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटेले दसैंका लागि वध गर्नका लागि खसी, बाख्रा र कुखुराका साथै आवश्यक खाद्यान्न उधारोमा खरिद गरे। ‘यो वर्ष साह्रै दुःख भयो,’ राउटे मुखिया वीरबहादुर शाहीले भने, ‘उधारोमा भए पनि विधि पुर्‍याएर दसैं मनायौं।’

राउटे समुदाय अहिले सुर्खेतको लेकवेशी नगरपालिका–१० चौरासे नजिकैको जंगलमा बस्दै आएको छ। राउटे समुदायका ४० घर छन्। दसैंको महानवमीमा उनीहरूले वनको पूजा गर्छन् । वन पूजाका लागि हरेक घरबाट एक–एक वटा खसी/बाख्राको वलि दिनुपर्छ । विजया दशमीको दिन घर पूजा हुन्छ। घर पूजामा पनि महिला मात्रै भएको घरबाहेकमा वली दिने चलन छ। यो वर्ष विजया दशमीमा ३२ वटा खसी र ५५ वटा कुखुराको वली दिइयो।

भत्ता नआउँदा गाउँलेहरूबाट राउटेले ४१ वटा बाख्रा, ५५ कुखुरा र ४१ बोरा चामल उधारोमा किनेका छन्। उधारोमा बाख्रा किन्दा महँगो परेको राउटेहरूले गुनासो गरेका छन्। ‘नगद लिने भए ११ हजारमा दिन्छु भन्थे, पैसा नहुँदा उधारोमा बाख्रा ल्याउँदा १२ हजार प¥यो,’ राउटे युवा दीपक शाहीले भने, ‘अब भत्ता आएपछि उधारो तिर्नुपर्छ।’ राउटे समुदायले यो पटक वन पूजा र घर पूजा गर्दा ७२ वटा खसी÷बाख्रा र ५५ वटा कुखुराको बलि दिएका छन्।

भत्ता पाएपछि उधारो तिरेर चिंगाडतिर बसाइसर्ने तयारीमा राउटे समुदाय छ। ‘दसैं सकिए लगत्तै सर्ने योजना थियो,’ उनले भने, ‘उधारो नतिरेर जान मिलेन।’ सरकारले लोपोन्मुख राउटे समुदायलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन्छ। साउनयता राउटे समुदायले भत्ता दिएको छैन। राउटेलाई सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिकाले दिने गरेको छ।

राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले राउटे समुदायले दसैंका लागि आवश्यक पर्ने खसी÷बाख्रा र खाद्यान्न उधारोमा किनिसकेपछि गुराँस गाउँपालिका भत्ता वितरण गर्न आउन लागेको जानकारी पाएपछि आफूहरूको आग्रहमा रोकिएको बताए। ‘दसैंका लागि चाहिने सबै खाद्यान्न, खसी÷बाख्रा उनीहरूले खरिद गरिसकेका थिए,’ खत्रीले भने, ‘त्यहीँ बेला भत्ता वितरण गर्दा मदिरा धेरै खाने सम्भावना हुने भएकाले वितरण नगरिएको हो।’

पछिल्लो समय राउटे समुदाय बाह्य मदिरा खाने लतमा फसेको छ। सदियौंदेखि आफैले बनाएको मदिरा सेवन गर्ने राउटे समुदाय पछिल्लो समय बजारिया मदिरामा भुल्न थालेको छ। यो पटक भत्ता नपाउँदा राउटे समुदायले आफै मदिरा बनाइरहेका थिए। मदिरा बनाउनका लागि उनीहरूले काठबाट बनेको विशेष प्रकारको झुमा (भाँडा) बनाएका हुन्छन्।

प्रकाशित: १९ आश्विन २०८२ १५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App