१२ असार २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

असार १५ बाट फ्लोरमा जाँदै ‘पारस’

कृषा चौलागाईंको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहिबार कलाकारहरूको फेस टेष्ट गरेको छ। बालाजु ल्याबमा कलाकारहरूको पात्रअनुसार लुक्स हेरिएको हो।

एक्सन निर्देशकको छवि बनाएकी कृषाले चलचित्रको अधिकांश तयारीको काम सकिएकाले छायांकनमा जान लागिएको बताइन्।उनका अनुसार चलचित्रको छायांकन असार १५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा गरिनेछ। सोहीको तयारीका साथ कलाकारहरूको लुक्स हेरिएको निर्देशक कृषाले बताइन्।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट प्रक्रिया जारी छ।

चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन्। छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हालेका छन् भने मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टिममा रहनेछन्।

केही साताअघि चलचित्रको पहिलो गीत रेकर्ड गरिएको थियो, जसमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन्। उक्त गीतमा कोसिस क्षेत्रीको शब्द तथा संगीत छ।

फिल्मको प्रोडक्सन म्यानेजरमा रविन बखेल रहनेछन् भने द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन्। सत्यम राणा र समीर मियाँले भीएफएक्सको काम सम्हाल्नेछन्। सरोज बुढाथोकी मेकअप आर्टिस्टका रूपमा रहनेछन् भने कुलदीप शर्मा मुख्य सहायक निर्देशक छन्।

यस्तै, नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन्। रेनिस फागो कलरिस्ट रहने चलचित्रको पब्लिसिटी तथा पोस्टर डिजाइनको जिम्मेवारी राकेश दाहालले पाएका छन्। कालाचरणले पृष्ठभूमि संगीत (बीजीएम) तयार गर्नेछन् भने गीताको गुरायाले मिक्सिङ गर्नेछिन्।

प्रकाशित: २९ जेष्ठ २०८३ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App