प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भूमिकामाथि प्रश्न उठाएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकार र सत्तारुढ दलका नेताहरूले राष्ट्रियता र जवाफदेहिताका सवालमा दोहोरो चरित्र देखाएको आरोप लगाएका हुन्।
कांग्रेस नेता आङदेम्बेले अर्थमन्त्री डा. वाग्लेमाथि उठेका प्रश्नहरूमा सरकारको मौनतालाई लिएर टिप्पणी गरे। विगतमा अन्य मन्त्रीहरूमाथि प्रश्न उठ्दा सत्तापक्ष निकै आक्रामक हुने गरेको स्मरण गर्दै उनले अहिलेको मौनता अर्थपूर्ण रहेको बताए।
‘हिजो अरू मन्त्रीकोबारे प्रश्न उठ्दा सबै आगो हुन्थे, आज अर्थमन्त्रीको बारे गम्भीर प्रश्न उठ्दा सबै बरफ किन ?’ उनले प्रश्न गरे।
सम्बोधनकै क्रममा आङदेम्बेले रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणको विषयलाई लिएर समेत आलोचना गरे। सत्तारुढ दलको प्रभावशाली नेताका रूपमा दिल्ली पुग्दा लामिछानेले सीमा र कालापानीको विषयमा मौनता साधेको कांग्रेसको दाबी छ।
‘दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?’ आङदेम्बेले लामिछानेलाई लक्षित गर्दै सोधे।
लामिछानेले सीमाको विषय ढोल बजाएर छलफल गर्ने कुरा नभएको भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै आङदेम्बेले राष्ट्रियताको सवालमा सत्तारुढ दलले गर्नुपर्ने न्यूनतम पहल समेत नगरेको आरोप लगाए।
‘हामीलाई पनि थाहा छ, सीमाको विषय ढोल बजाएर समाधान हुँदैन, यसका आफ्नै मापदण्ड छन्,’ आङदेम्बेले भने, ‘तर भारतको राजधानीमै पुगेका बेला राष्ट्रको मुख्य समस्याबारे कुरै नगर्नुले कस्तो कूटनीति झल्काउँछ ?’
सत्तारुढ दलको सभापतिले देशका संवेदनशील विषयमा जिम्मेवार पहल गर्नुपर्नेमा उल्टै गैरजिम्मेवार तर्क दिएको कांग्रेसको ठहर छ। नेता आङदेम्बेले सरकारले अर्थमन्त्रीमाथि उठेका प्रश्नहरूको चित्तबुझ्दो जवाफ नदिएसम्म र राष्ट्रियताका सवालमा स्पष्ट नभएसम्म कांग्रेसले सदनमा खबरदारी जारी राख्ने चेतावनी समेत दिए।
प्रकाशित: २७ जेष्ठ २०८३ १६:४३ बुधबार


-600x400.jpg)


