६ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

नेपालगन्जमा करिब ८२ प्रतिशत घरधुरी शुद्ध खानेपानी सेवाबाट वञ्चित

नेपालगन्ज उपमहानगरपालिकामा खानेपानी सेवा विस्तार भए पनि अझै ठुलो हिस्सा नागरिक शुद्ध खानेपानीको पहुँचबाट बाहिर रहेको देखिएको छ।

उपलब्ध तथ्यांकअनुसार कुल ३४ हजार ५६५ घरधुरीमध्ये हालसम्म करिब ६ हजार घरधुरीमा मात्र संस्थागत रूपमा शुद्ध खानेपानी सेवा पुगेको छ।

यसको अर्थ नेपालगन्जमा करिब १७.३६ प्रतिशत घरधुरीले मात्र शुद्ध खानेपानी उपयोग गरिरहेका छन्, जबकि अझै करिब ८२.६४ प्रतिशत घरधुरी शुद्ध खानेपानी सेवाबाट वञ्चित छन्। यो तथ्यले नगरको खानेपानी आपूर्ति प्रणालीमा ठुलो पहुँच असन्तुलन रहेको स्पष्ट देखाउँछ।

नेपालगन्ज खानेपानी संस्थान शाखा कार्यालयका अनुसार नगरमा दैनिक करिब ७० लाख लिटर पानी खपत भइरहेको छ भने प्रणालीमा दैनिक एक करोड लिटर पानीको मौजाद क्षमता रहेको छ। तर वितरण प्रणाली प्रभावकारी नहुँदा सबै उपभोक्तासम्म समान रूपमा सेवा पुग्न सकेको छैन।

संस्थानका अनुसार हाल सिद्धार्थ चोकदेखि क्याम्पस क्षेत्र, फुलटेक्रा–सुर्खेत रोड हुँदै मानपुर सीमासम्म मात्र शुद्ध खानेपानीको सेवा विस्तार भएको छ। नगरका २३ वडामध्ये धेरै वडामा अझै संस्थागत पानी आपूर्ति पुगेको छैन। चार प्रमुख ट्यांकी—कारकाँदो, आलानगर, बागेश्वरी र पुरैना—प्रत्येकको क्षमता ४ लाख ५० हजार लिटर भए पनि वितरण सञ्जाल पूर्ण रूपमा विस्तार नहुँदा ठुलो जनसंख्या सेवा बाहिर रहन बाध्य छ।

यसैबीच, ट्युबेल पानीको प्रयोग व्यापक भएकाले धेरै उपभोक्ताले संस्थागत शुद्ध पानीको प्रयोग नगर्ने प्रवृत्ति पनि देखिएको छ। घर निर्माणसँगै ट्युबेलमै निर्भर हुने अभ्यासले सरकारी खानेपानी सेवाको प्रभावकारिता कमजोर बनाएको सरोकारवालाहरू बताउँछन्।

नेपालगन्ज खानेपानी संस्थानका शाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार जग्गा सम्बन्धी टिप्पणी फाइल साढे तीन वर्षदेखि अड्किएकाले पूर्वाधार विस्तार प्रभावित भएको छ । उनका अनुसार आवश्यक संरचना विस्तार र पाइपलाइन सञ्जाल विस्तार हुन नसक्दा सेवा सबै क्षेत्रमा पु¥याउन कठिन भइरहेको छ।

श्रेष्ठले शुद्ध पानीको प्रयोग नगर्दा स्वास्थ्य जोखिम बढ्ने चेतावनी पनि दिएका छन्। उनका अनुसार ट्युबेल पानीमा निर्भरता बढ्दा पानीजन्य रोगको सम्भावना उच्च हुने भएकाले संस्थागत शुद्ध पानीको उपयोग बढाउन आवश्यक छ।

नेपालगन्ज उपमहानगरपालिकाको जनसंख्या १,६४,४४४ रहेको अवस्थामा सीमित घरधुरीमा मात्र शुद्ध खानेपानी पुग्नुले आगामी दिनमा सेवा विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने चुनौती थपिएको छ।

विशेषज्ञहरूका अनुसार खानेपानी जस्तो आधारभूत सेवामा देखिएको यस्तो ठुलो पहुँच अन्तरले शहरी विकास र जनस्वास्थ्य दुवैमा दीर्घकालीन प्रभाव पार्न सक्छ।

प्रकाशित: २७ जेष्ठ २०८३ १६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App