भारतको उत्तरपूर्वी असाम राज्यमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ।
वर्षौंयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। बाढीका कारण हजारौँ मानिस घर छाडेर अस्थायी आश्रयस्थलमा जान बाध्य भएका छन्।
सरकारी विवरणअनुसार बाढीको पानीले १४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली डुबाएको छ। यो क्षेत्रफल फ्रान्सको राजधानी पेरिसको क्षेत्रफलभन्दा करिब डेढ गुणा ठूलो हो।
सबैभन्दा बढी प्रभावित शिवसागर जिल्लामा घरहरू आधा डुबेका, ठूला रुख उखेलिएका तथा सवारीसाधन माटो र बाढीको पानीमा पुरिएका दृश्य देखिएको एएफपीका पत्रकारले बताएका छन्। कतिपय बस्तीमा बाढीको पानीले आवागमनसमेत अवरुद्ध पारेको छ।
असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीको पानीबाट आफ्नो पाल्तु कुकुरलाई बचाउने प्रयास गर्दा ज्यान गुमाएका १३ वर्षीय बालकका परिवारलाई समवेदना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा कुनै पनि अभिभावकले आफ्ना सन्तानलाई बिदाइ गर्नुपर्ने अवस्था आउन नहुने बताए।
भारतका स्वास्थ्यमन्त्री जेपी नड्डाले बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै विपत्तिको क्षति निकै ठूलो रहेको र सामान्य अवस्था फर्किन समय लाग्ने बताए। उनले बाढीका कारण गाउँका गाउँ डुबानमा परेको उल्लेख गरे।
भारतको उत्तरपूर्वी क्षेत्रमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनका समयमा बाढी आउनु सामान्य मानिन्छ। असाममा भारतको प्रमुख नदी ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको सतह बढ्दा प्रत्येक वर्ष बाढीको समस्या दोहोरिने गरेको छ।
तर विज्ञहरूका अनुसार पछिल्ला वर्षमा बाढीको आवृत्ति र प्रभाव बढ्नुमा जलवायु परिवर्तनसँगै अव्यवस्थित तथा कमजोर पूर्वाधार विकास पनि जिम्मेवार छन्। नदीको प्राकृतिक बहावमा हुने परिवर्तन, वन विनाश तथा बस्ती विस्तारले जोखिम थप बढाएको उनीहरूको भनाइ छ।
स्थानीय बासिन्दा र अधिकारीहरूले छिमेकी राज्य नागाल्यान्डमा भइरहेको अवैध कोइला खानीका कारण पनि बाढीको अवस्था थप गम्भीर बनेको आरोप लगाएका छन्। उनीहरूका अनुसार यसले यसअघि बाढीको जोखिम तुलनात्मक रूपमा कम रहेका क्षेत्रसमेत प्रभावित भएका छन्। मुख्यमन्त्री शर्माले यस विषयलाई भारतको केन्द्र सरकारसमक्ष उठाउने बताए।
जलवायु तथा वातावरणसम्बन्धी वकालत गर्ने संस्था क्लाइमेट ट्रेन्ड्सले असाममा बाढीको बढ्दो गम्भीरता विश्वव्यापी तापक्रम वृद्धि, नदीको बदलिँदो प्रकृति र बढ्दो मानवीय जोखिमबीचको अन्तरसम्बन्धबाट उत्पन्न भएको जनाएको छ।
संस्थाका अनुसार यी कारणले बाढीलाई अझ बारम्बार, जटिल र आर्थिक रूपमा महँगो विपत्तिमा परिणत गरिरहेका छन्।
असाममा राहत तथा उद्धार कार्य जारी रहे पनि ठूलो सङ्ख्यामा मानिस विस्थापित भएकाले प्रभावित समुदायको पुनःस्थापना र कृषि क्षेत्रमा भएको क्षति व्यवस्थापन प्रमुख चुनौती बनेको छ।
प्रकाशित: २२ श्रावण २०८३ १९:१८ शुक्रबार





