नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र जनताका समस्या सम्बोधन गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताएका छन्।
दुईमहिने राष्ट्रिय जागरण अभियानबारे जानकारी दिँदै उनले पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी र जनजीविकाका सवाललाई एकीकृत रूपमा अघि बढाउने योजना रहेको बताए।
उनका अनुसार अभियानका क्रममा पार्टीका सबै केन्द्रीय नेताहरू जनतामाझ पुग्नेछन्। उनीहरूले जनताका कुरा सुन्ने, समस्या तथा सुझाव संकलन गर्ने र त्यसको प्रतिवेदन पार्टी केन्द्रमा बुझाउनेछन्। अभियान समापन भएपछि केन्द्रीय समितिको पूर्ण बैठक बसेर प्राप्त प्रतिवेदनको समीक्षा गरिने र त्यसका आधारमा आगामी योजना तथा कार्यक्रम निर्माण गरिने प्रचण्डले जानकारी दिए। यससम्बन्धी निर्णय केन्द्रीय संयोजन समितिमै गरिसकिएको उनले बताए।
पहिलो, पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन प्रक्रिया पूरा गर्ने र महाधिवेशनको तयारीलाई अन्तिम रूप दिने उद्देश्य रहेको उनले उल्लेख गरे। दोस्रो, आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी गर्नु अभियानको अर्को उद्देश्य रहेको उनको भनाइ छ। निर्वाचनको औपचारिक समयतालिका तय नभए पनि निर्वाचनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको उनले बताए।
तेस्रो, राष्ट्रिय स्वाधीनता, जनजीविका, महँगी तथा विभिन्न वर्ग र समुदायका समस्याविरुद्ध जनतालाई जागरुक बनाउनु अभियानको उद्देश्य रहेको उनले स्पष्ट पारे।
उनले बाढीपहिरोबाट भएको जनधनको क्षति, प्रभावितको खोज तथा उद्धार, पुनःस्थापना र पुनर्निर्माणका कामलाई पनि अभियानसँग जोडिएको बताए। प्रभावित जनताको आवश्यकता र राज्यबाट हुनुपर्ने कामबारे जनगुनासो रहेको उल्लेख गर्दै उनले यस्ता समस्या तथा बेथितिविरुद्ध जनतालाई सचेत बनाइने बताए।
‘राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्ने, जनताको सुशासन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने तथा लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्ने उद्देश्यसँग यो अभियान जोडिएको छ,’ दाहालले भने।
उनले पछिल्लो राजनीतिक परिस्थितिमा उठेका विभिन्न विषयलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। अभियानमार्फत जनताको वास्तविक अवस्था बुझ्ने, पार्टीका कमजोरी पहिचान गर्ने र आगामी राजनीतिक कार्यदिशा तय गर्न आवश्यक सुझाव संकलन गरिने उनको भनाइ छ।
अभियानका क्रममा जनताबाट प्राप्त सुझाव र प्रतिवेदनका आधारमा पार्टीले आगामी रणनीति बनाउने जानकारी दिँदै राष्ट्रिय स्वाधीनता, जनजीविका र परिवर्तनका उपलब्धिको रक्षालाई प्राथमिकतामा राखिने उनको भनाइ छ।
प्रकाशित: ७ कार्तिक २०८३ १५:४६ शनिबार





