रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको लेन्दे खोलामा असार २४ गते आएको बाढीमा हराएका ८ ईभी गाडी र ८ कन्टेनर फेला परेका छन् ।
सेनाले उक्त बाढीमा सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार शुक्रबार (आज) पनि जारी राखेको छ। साथै, अवरुद्ध सडक मर्मत कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग मिलेर रसुवाको लिङलिङ, रुङ्गापुल, सल्लेटार, गुम्चेत र टिमुरेसहित नुवाकोट, धादिङ र चितवनका विभिन्न स्थानमा राहत र मर्मत कार्य गरिरहेको जानकारी दिएको छ।
उक्त टोलीले रसुवाको लिङलिङ र रुङ्गापुल क्षेत्रमा बाटोमा खसेको पहिरो हटाउने र वैकल्पिक बाटो बनाउने काम गरिरहेको छ।
यस्तै, नुवाकोटमा त्रिशूली नदीले कटान गरेको स्थानमा ग्याविन जाली लगाउने कार्य पनि जारी छ। बाढी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन संयुक्त प्रयास भइरहेको छ।
प्रकाशित: २७ असार २०८२ १७:०४ शुक्रबार





