कर्णाली प्रदेशमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५५.१ प्रतिशत मतदान भएको छ। प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार अधिकांश जिल्लामा आधाभन्दा बढी मतदाताले मतदान गरेका छन् भने केही हिमाली जिल्लामा अपेक्षाकृत उच्च सहभागिता देखिएको छ।
निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार निर्वाचन क्षेत्रगत रूपमा हेर्दा सुर्खेत–१ मा १ लाख २२ हजार ९०२ मतदातामध्ये ५७.०९ प्रतिशत अर्थात् ७० हजार १६७ मत खसेको छ। त्यस्तै सुर्खेत–२ मा १ लाख २७ हजार ६६८ मतदातामध्ये ५७.४६ प्रतिशत अर्थात् ७३ हजार ३५६ मत खसेको छ।
दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा दुवै क्षेत्रमा मध्यम मतदान देखिएको छ। दैलेख–१ मा ८१ हजार २८७ मतदातामध्ये ५०.५२ प्रतिशत अर्थात् ४१ हजार ६९ मत खसेको छ भने दैलेख–२ मा ८१ हजार ५०३ मतदातामध्ये ४८.२४ प्रतिशत अर्थात् ३९ हजार ३२१ मत खसेको छ।
जाजरकोटमा १ लाख ८ हजार ४७९ मतदातामध्ये ५६.८४ प्रतिशत अर्थात् ६१ हजार ६५७ मत खसेको छ। सल्यानमा १ लाख ६४ हजार ६४८ मतदातामध्ये ५१.१४ प्रतिशत अर्थात् ८४ हजार २०१ मत खसेको छ भने रुकुम पश्चिममा १ लाख ७ हजार ७४८ मतदातामध्ये ५८.४४ प्रतिशत अर्थात् ६२ हजार ९६८ मत खसेको छ।
कालिकोटमा ८५ हजार ४४ मतदातामध्ये ५० प्रतिशत अर्थात् ४२ हजार ५२३ मत खसेको छ। जुम्लामा ७२ हजार ४४४ मतदातामध्ये ५६.८८ प्रतिशत अर्थात् ४१ हजार २०८ मत खसेको छ भने मुगुमा ३६ हजार ६०५ मतदातामध्ये ६०.५६ प्रतिशत अर्थात् २२ हजार १६८ मत खसेको छ।
हिमाली जिल्ला डोल्पा र हुम्लामा भने अन्य जिल्लाको तुलनामा उच्च मतदान देखिएको छ। डोल्पामा २५ हजार ५ मतदातामध्ये ६५.७३ प्रतिशत अर्थात् १६ हजार ४३७ मत खसेको छ भने हुम्लामा ३४ हजार ८०५ मतदातामध्ये ६४.५५ प्रतिशत अर्थात् २२ हजार ४६७ मत खसेको छ।
कर्णाली प्रदेशमा कुल १२ वटा निर्वाचन क्षेत्र रहेका छन्। प्रदेशभर ९५७ मतदानस्थल तोकिएको थियो, जसमध्ये ९४१ स्थायी मतदानस्थल र १६ अस्थायी मतदानस्थल रहेका थिए। कर्णालीका १० वटै जिल्लामा निर्वाचन सम्पन्न भएको हो।
प्रदेशभर कुल १० लाख ४८ हजार १३८ मतदाता रहेका थिए। तीमध्ये ५ लाख ७७ हजार ५४२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
भौगोलिक रूपमा दुर्गम र विकट मानिने कर्णालीमा पनि मतदाताको सहभागिता उल्लेखनीय देखिएको छ। विशेषगरी हिमाली जिल्लामा देखिएको उच्च मतदान दरले निर्वाचनप्रति नागरिकको चासो र लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता झल्काएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ २३:३६ बिहीबार





