२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

बजेट ल्याउन नसकेका पालिकासँग छलफल गर्दै मन्त्रालयको टोली

असार १० गतेभन्दा पहिले नै नीति तथा कार्यक्रम ल्याई सक्नुपर्नेमा साउनको चौथो हप्तासम्म बजेट नल्याउने पालिकासँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोली छलफलमा जुटेको छ । 

मन्त्रालयबाट सहसचिव कालीप्रसाद पराजुलीको नेतृत्वमा रहेको उपसचिव द्वय माधवप्रसाद ढकाल र तुलसी भट्टराईसँगै शाखा अधिकृत पवन गुप्ताको टोलीले रौतहटका विभिन्न पालिकामा छलफल गरेको छ ।

टोलीले फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका र अन्य पालिकामा छलफल गरेको छ । बजेट ल्याउन अझै बाँकी रहेको फतुवा विजयपुर नगरपालिकामा पुगेर टोलीले निमित्त नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादव, विभिन्न वडा वडाध्यक्षहरू, कार्यपालिका सदस्य र नगरपालिकाका कर्मचारीहरुसँग छलफल गरेका छन् ।

छलफलको क्रममा फतुवा विजयपुर नगरपालिकाको नगरसभा र बजेट अधिवेशन साउन ३० गते हुने निर्णय भएको छ। छलफलमा सबै पक्ष सहमत भएको तर प्राविधिक कुरा मिल्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन् । निमित्त नगर प्रमुख खातुनले टोलीको आगमन भएपछि सबैले नगरसभा गर्न सहमत भएको बताएकी छन् ।

मन्त्रालयको टोलीले देवाही गोनाही नगरपालिकामा पनि छलफल गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत धनन्जय प्रसाद दासले मन्त्रालयको टोली आउने भएपछि नगरपालिकाका कर्मचारीहरू, उपलब्ध कार्यपालिका सदस्यहरुसँग सौहार्द्रपूर्ण वातावरणमा छलफल भएको छ । सबै वातावरण मिलाएर कार्यपालिकाको बैठक बोलाउने र सम्भव भएसम्म छिटो नगरसभा गराउनेतर्फ सकारात्मक छलफल भएको दासले जानकारी गराएका छन् ।

मन्त्रालयको टोली मौलापुर नगरपालिकामा पनि पुगेको थियो । मन्त्रालयको रेकर्डमा मौलापुरमा नगरसभा नभएको देखिएको छ तर मौलापुरको नगरसभा भने असार १० मै सम्पन्न भएको थियो ।

मौलापुरको नगरसभा र यससित सम्बन्धित सम्पूर्ण प्रक्रिया निर्धारित तिथिमै पूरा भइसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले मन्त्रालयको टोलीलाई जानकारी गराएको छ ।

रौतहटका अन्य पालिकामा पनि मन्त्रालयको टोली पुग्ने बताइएको छ । पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखबिच तालमेल नहुनु, बजेटको भागबन्डामा वडाध्यक्षहरूले पनि बढी हस्तक्षेप गर्नु तथा नगर प्रमुखहरूले एकल हैकम जमाउन खोज्दा नगरसभा हुन नसकेको बताइन्छ । नगर सभामा बजेट पारित नहुँदा सम्बन्धित पालिकाको सम्पूर्ण आर्थिक कारोबार ठप्प हुने अवस्था रहे पनि कतिपय जनप्रतिनिधिहरूको आपसी मनमुटाबले बजेट रोकिएको हो ।

रौतहटको फतुवा विजयपुर नगरपालिकाको बजेट अहिलेसम्म कुनै पनि आर्थिक वर्षमा समयमा आउन नसकेको बताइन्छ । 

प्रकाशित: २३ श्रावण २०८२ १६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App