नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले स्वागत गरेको छ।
भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सकिएकोमा खुसी व्यक्त गरेको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाली नागरिकले उत्साहजनक सहभागितासहित आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा प्रशंसा गरे।
प्रवक्ता जैसवालले असहज परिस्थितिका बाबजुद निर्वाचन सफल पारेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिए।
‘असहज परिस्थिति भएको यो चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र सम्पूर्ण सरोकारवाला पक्षलाई बधाई दिन्छौं।’ उनले भनेका छन्।
नेपालको शान्ति, प्रगति र स्थायित्वमा भारतको निरन्तर समर्थन रहेको उल्लेख गर्दै प्रवक्ता जैसवालले यसपटक पनि प्रतिबद्धता अनुरूप सहयोग गरेको स्मरण गराएका छन्।
नेपाल सरकारको अनुरोध अनुसार भारतले निर्वाचनका लागि आवश्यक बन्दोबस्तीका सामग्री उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ।
साथै, दुई देशबीचको बहुआयामिक र प्रगाढ सम्बन्धलाई थप बलियो बनाउन र आपसी हितका लागि नयाँ सरकारसँग मिलेर काम गर्न भारत इच्छुक रहेको प्रवक्ता जैसवालले बताए।
प्रकाशित: २१ फाल्गुन २०८२ २१:३८ बिहीबार




