प्रतिनिधि सभा सदस्यको निर्वाचन देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ। यसैबिच, भारतले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै त्यसको स्वागत गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै नेपाली नागरिकले आफ्नो लोकतान्त्रिक म्यान्डेटको प्रयोग गरेकोमा खुसी व्यक्त गरे। ‘हामी आज नेपाली नागरिकले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको र उनीहरूको लोकतान्त्रिक म्यान्डेटको प्रयोगको स्वागत गर्दछौँ, जसमा उत्साहजनक सहभागिता देखिएको छ,’ जैसवालले भने।
उनले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनतालाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई समेत दिए। गत वर्षको असाधारण परिस्थितिको पृष्ठभूमिमा यी निर्वाचनहरू सम्पन्न हुनुलाई भारतले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाइएको छ।
नेपालमा शान्ति, प्रगति र स्थिरताका लागि भारतले निरन्तर समर्थन गर्दै आएको उल्लेख गर्दै प्रवक्ता जैसवालले नेपाल सरकारको अनुरोधअनुसार निर्वाचनका लागि आवश्यक रसद सामग्री (लजिस्टिक) समेत उपलब्ध गराएको जानकारी दिए।
भारतले नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको समेत स्पष्ट पारेको छ। ‘हामी नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर छौँ ताकि पारस्परिक लाभका लागि हाम्रा दुई देश र जनताबिचको बलियो बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन सकियोस्,’ भारतीय विदेश मन्त्रालयद्वारा जारी बयानमा उल्लेख छ।
प्रकाशित: २१ फाल्गुन २०८२ २१:३७ बिहीबार





