चीनतर्फबाट भोटेकोशी नदीमा बाढीको बहाव बढेसँगै त्रिशूली नदी आसपासका बस्तीमा पुनः जोखिम बढेको छ। बाढीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै रसुवादेखि मुग्लिनसम्मका नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
शुक्रबार राति करिब ८:५४ बजे चीनतर्फबाट भोटेकोशी नदीमा बाढी बढेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएका हुन्।
भोटेकोशीमा आएको बाढीको प्रभाव त्रिशूली नदीको बहावमा पर्न सक्ने भएकाले नदी आसपासका बस्ती, सडक तथा अन्य संरचनामा जोखिम बढ्न सक्ने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरेका छन्।
विशेषगरी रसुवाबाट मुग्लिनसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सम्भावित जोखिमलाई बेवास्ता नगरी सुरक्षित स्थानमा रहन र नदीको जलस्तर तथा बहावमा हुने परिवर्तनबारे सतर्क रहन भनिएको छ।
यसअघि पनि भोटेकोशी क्षेत्रमा बाढीको जोखिम देखिँदै आएको अवस्थामा पुनः बहाव बढेपछि त्रिशूली करिडोरमा सतर्कता बढाइएको हो। बाढीको अवस्था थप बढेमा नदी किनारका बस्ती तथा पूर्वाधारमा असर पर्न सक्ने भएकाले स्थानीय प्रशासन र सुरक्षा निकायलाई समेत तयारी अवस्थामा राखिएको छ।
सम्बन्धित निकायले नागरिकलाई नदीमा पानीको बहाव हेर्न जाने, जोखिमयुक्त स्थानमा बस्ने वा अनावश्यक रूपमा तटीय क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेका छन्।
प्रकाशित: १२ भाद्र २०८३ २१:३२ शुक्रबार



-600x400.jpg)

