काभ्रेको रोशी गाउँपालिकामा क्रसर उद्योग सञ्चालनमा आएको १२ वर्ष बितिसक्दा पनि त्यसको प्रभावबारे स्थानीयको विरोध निरन्तर रहँदै आएको छ। गाउँमा क्रसर उद्योग सञ्चालन सुरु भएदेखि नै स्थानीयले आपत्ति जनाउँदै आएका भए पनि त्यो विरोध ‘हात्तीको मुखमा जिरा’ सावित भएको उनीहरूको गुनासो छ।
स्थानीयका अनुसार गत वर्षको असोज ११ र १२ गते रोशीमा आएको अविरल बाढी–पहिरोको मुख्य कारण यही क्रसर उद्योग हुन्। लेडोसहित आएको बाढीले रोशी खोला पूरै भरिँदा पूरै बस्ती नै बगाएको थियो। विपत्तिमा ६ महिला, ३ पुरुष, १ बालक र ३ बालिका गरी १३ जनाको मृत्यु भएको थियो भने करोडौँ रुपैयाँ बराबरको भौतिक संरचना ध्वस्त भएको थियो।

बाढीकै कारण बनेपा–बर्दिबास खण्डको बीपी राजमार्ग अन्तर्गत झण्डै १५ किलोमिटर सडक भत्किएको छ, जुन अझैसम्म पूर्ण रूपमा निर्माण हुन सकेको छैन। अहिले पनि यस खण्डमा खोलै–खोलाको सडक भएर जोखिमपूर्ण रूपमा सवारीसाधन सञ्चालन हुँदै आएको छ। राजमार्ग अन्तर्गत नेपालथोक, तल्लो कटुञ्जे, चिउरीबासलगायत स्थानमा सडक बगाएको थियो।
त्यस्तै फलामेसाँघुस्थित रोशी गाउँपालिकाको १० शय्याको अस्पताल बाढीले बगाएको थियो भने त्यहाँ रहेका २० वटा घरसमेत क्षतिग्रस्त भएका थिए। बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेसी, मंगलटार र नेपालथोक सडकखण्ड हाल डाइभर्सन बनाएर सञ्चालनमा छ। सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ, जसले यात्राको जोखिम र समय दुवै बढाएको छ। धुलाम्य सडकमा धुलो नियन्त्रण गर्न पानी हाल्दा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावनासमेत बढेको स्थानीयको भनाइ छ।
दर्जनौँको ज्यान गएको र करोडौँको क्षति भए पनि केन्द्र सरकारदेखि कसैले पनि क्रसर उद्योग बन्द गर्ने आँट नगरेकोमा स्थानीय पीडितले दुःख व्यक्त गरेका छन्। ‘क्रसर राखेदेखि हामीले गर्दै आएको विरोध बाघको अगाडि स्याल कराए जस्तै मात्रै भयो,’ स्थानीयले यहाँ पुगेको पत्रकार टोलीसँग भने, ‘अब हाम्रो सहारा तपाईँ पत्रकारहरू मात्रै बाँकी रहनुभयो।’

स्थानीयका अनुसार यी क्रसर उद्योग ठूला राजनीतिक दलका प्रभावशाली नेताहरूले सञ्चालन गरेका कारण केन्द्र सरकारदेखि कसैले पनि बन्द गराउन नसकेको हो।
रोशी खोला वातावरण संरक्षण संघर्ष समितिका अध्यक्ष प्रेमध्वज लामाले अब आन्दोलनको स्वरूप परिवर्तन गर्ने तयारी भइरहेको बताए। उनका अनुसार क्रसर सञ्चालक कांग्रेस, एमाले र माओवादी पार्टीका ठूला नेताहरू भएकाले जेन्जी सरकार रहेको अहिलेको अवस्थामा गृह मन्त्रालयदेखि अन्य उच्च सरकारी निकायसम्म ज्ञापनपत्र बुझाएर दबाब दिने योजना बनाइएको छ।
स्थानीयले पटक–पटक आग्रह गर्दा पनि स्थानीय सरकारले गुनासो सुनुवाइ नगरी जथाभावी रूपमा क्रसर उद्योग सञ्चालन गर्न दिएको भन्दै थप पहिरोको जोखिम बढेको बताएका छन्। विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग स्थलगत छलफल गर्दै उनीहरूले बीपी राजमार्ग नै पहिरो जाने गरी दिनरात बालुवा झिक्ने कार्य भइरहेको आरोप लगाए। यो समस्या रोशी खोलामा मात्र सीमित नभई सुनकोशीका तटीय क्षेत्रमा पनि साँझ परेपछि सयौँ टिपरले गिटी–बालुवा ओसार्दा जोखिम बढेको उनीहरूको भनाइ छ।

गत वर्षको असोज १२ गतेको भीषण वर्षा र पहिरोको त्रास अझै मेटिन नसक्दै जथाभावी सञ्चालित क्रसर उद्योगका कारण धुलो फैलिँदा जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। ‘आउँदो बर्खामा ज्यान कसरी जोगाउने भन्ने चिन्तामा छौँ,’ उनीहरूको भनाइ छ।
पहाडका ठाउँ–ठाउँमा धाँजा फाटेका छन्। एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘पानी परे वा सुख्खा पहिरो गए पनि ठूलो दुर्घटना हुन सक्छ। तुरुन्त क्रसर उद्योग बन्द गर्न आग्रह गरेका थियौँ, गरिरहेका छौँ र गर्नेछौँ पनि, तर कतै सुनुवाइ भएन।’
स्थानीय समुदायले पहाडै खस्ने गरी पहिरो जाने र बस्ती नै पुरिने जोखिम रहेको भन्दै कम्तीमा पनि जथाभावी सञ्चालित क्रसर उद्योगलाई व्यवस्थित गर्न सरकारसँग माग गरेका छन्।
प्रकाशित: २० पुस २०८२ १९:५२ आइतबार





