२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

मतपेटिका संकलन हुनासाथ मतगणना सुरु हुन्छ: आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका सुरक्षित रूपमा संकलन भएलगत्तै मतगणना कार्य सुरु गरिने बताएका छन्।

बिहीबार साँझ आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।

मतदान कार्य सकिएसँगै आयोगले मतपेटिका संकलनलाई तीव्रता दिएको छ। भण्डारीले भने, ‘मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्देशिका २०८२ अनुसार तत्काल मतगणना सुरु हुनेछ।’

आयोगले दुर्गम १५ जिल्लाका मतपेटिका ढुवानीका लागि हेलिकप्टर प्रयोग गरेको जानकारी दिएको छ। जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका बिहीबार नै सम्बन्धित मतगणना स्थलमा पुर्‍याइने लक्ष्य राखिएको छ।

यस्तै, संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लाका मतपेटिका भने शुक्रबार बिहानसम्म सम्बन्धित स्थानमा पुर्‍याइने उनले बताए।

भण्डारीले निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूबाट प्राप्त प्रारम्भिक विवरण सकारात्मक रहेको सुनाए।

उनले प्रतिनिधि चुन्ने, कानुन निर्माण गर्ने र सरकार सञ्चालन प्रक्रियामा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेकोमा सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरे।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App