२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

चीनलाई चिढ्याउने तिब्बती धर्मगुरुको भ्रमणप्रति चासो

एमाले उपाध्यक्ष रामबहादुर थापाले चिनियाँ मिडिया ड्रागनमा एक चिनियाँ बुद्धिजीवीले लेख लेखेर नेपाल र नेपाल सरकारलाई चेतावनी दिएको बताएका छन्। उनले गत जनवरी २९ मा धर्मगुरु दलाई लामाको प्रतिनिधि रिम्पोछे काठमाडौं आएको र उनलाई विमानस्थलदेखि राजकीय सम्मान दिएर बासस्थानसम्म लगिएको विषय खुलाए।

थापाको अभिव्यक्तिले वर्तमान सरकार चीन विरोधी भएको बुझिन्थ्यो। ‘नेपालमा भएका घटना/परिघटनाहरुलाई षड्यन्त्रमूलक भन्दै नंग्याउने काम भारतीय विश्लेषकले पनि गरिरहेका छन्। उनीहरूले नेपालमा नागरिक सरकारलाई अपदस्थ गर्ने घटना प्रायोजित थियो भनेर उद्घाटित गरिरहेका छन्।

चिनियाँ विश्लेषक/बुद्धिजीवीले पनि जेनजीको आवरणमा नागरिक सरकारलाई अपदस्थ गर्ने त्यो घटना प्रायोजित थियो, कुनै क्रान्ति थिएन, त्यो प्रतिगमन, प्रतिक्रान्ति, असंवैधानिक कदम थियो भनिरहेका छन्। भर्खरै चिनियाँ मिडिया ड्रागनमा एक चिनियाँ बुद्धिजीवीले लेख लेखेर नेपाल र नेपाल सरकारलाई वार्निङ (चेतावनी) दिएका छन्’, थापाले बुधबार सञ्चारकर्मीसँग भने।

थापाका अनुसार दलाई लामाको प्रतिनिधि बनेर काठमाडौं आएका रिम्पोछेलाई विमानस्थलदेखि राजकीय सम्मानका साथ अगुवाइ गरेर बासस्थानसम्म पुर्‍याइएको थियो। उनले भने, ‘यो सरकारले नै चीन विरोधीलाई, पृथक्तावादी तिब्बतीलाई संरक्षण दिइरहेको छ। यी घटनाक्रमबाट चिनियाँ उत्तेजित भएका छन्। उनीहरुले यो फाइनल हो, तपाईंहरुले दुई विकल्प रोज्नुस– चीनको बिखण्डन गर्नेलाई जुन प्रश्रय दिइरहनुभएको छ तिनलाई निकाला गर्नुस्, कारबाही गर्नुस्। आश्रय दिएकोमा भयंकर गल्ती गर्‍यौं भनेर क्षमायाचना गर्नुपर्छ। तपाईंहरुले यस्तो नगर्ने र चीन विरोधी गतिविधि जारी रहने हो भने परिणाम भोग्न तयार हुनुपर्छ। तेस्रो विकल्प छैन।’

एमाले उपाध्यक्ष थापाले औंल्याएका तिब्बती मूलका बौद्ध धर्मगुरु क्याब्जे जोनाङ ग्याल्त्साब रिम्पोछे एउटा प्रवचनका लागि दलाई लामाको प्रतिनिधि बनेर काठमाडौं आएका हुन् र अहिले पनि काठमाडौंमै छन्। उनलाई नेपाल सरकारले राजकीय सम्मान दिएको भन्दै त्यसप्रति प्रश्न उठाइएको छ। चीन सरकारले पनि यो विषयमा चासो राखेको बताइन्छ। यो विषयमा नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

रिम्पोछे अहिले काठमाडौंको बौद्धमा आयोजित धार्मिक प्रवचनमा सहभागी छन्। उनी काठमाडौं आएसँगै सरकार विवादमा तानिएको छ। नयाँ दिल्लीबाट एअर इण्डियाको उडान नम्बर एआई २१९ मा काठमाडौं आएका उनी बौद्ध तीनचुलीस्थित शेर्पिनी होटलमा बसेका छन्।

आरुबारीस्थित डोल्पो समाज नामक गैरसरकारी संस्थाका अध्यक्ष टासी फोन्चो गुरुङको निमन्त्रणामा रिम्पोछे आएका हुन्। उनी माघ १८ (फ्रेबुअरी १) देखि आयोजित १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचनमा सहभागी हुँदै आएका छन्। तिब्बती बौद्ध दर्शनको अध्यापन हुने जोनाङ विद्यालयका प्रमुख रिम्पोछेको काठमाडौं आगमनलाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक माध्यमबाट असन्तुष्टि जनाएको भनिए पनि यो विषयमा गृह मन्त्रालय र सम्बद्ध अन्य सरकरी निकायले अनभिज्ञता प्रकट गरेका छन्।

स्रोतका अनुसार रिम्पोछेको स्वागतमा सरकारी अधिकारीहरु पनि सहभागी थिए। उनको काठमाडौं आगमनको विषयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि चासो राखेका छन्। नेपालका दुई कम्युनिस्ट पार्टीका नेता थापा र खनालले रिम्पोछेको काठमाडौं भ्रमणबारे चासो राख्दै यसलाई चीन विरोधी गतिविधिका रुपमा अथ्र्याएका छन्।

रिम्पोछेको काठमाडौं आगमन र बसाइबारे गृह मन्त्रालयले जानकारी नभएको जनाएको छ। यसबारे जिज्ञासा राख्दा मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले कुनै जानकारी नभएको बताए। ‘यस विषयमा मन्त्रालयलाई कुनै जानकारी छैन’, उनले भने।

नेपाल प्रहरीले पनि रिम्पोछेको भ्रमणबारे जानकारी नभएको बताएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले रिम्पोछे किन र कहिले आए भन्ने जानकारी नभएको बताए।

जेनजी आन्दोलनमा तिब्बतीहरूको सहयोग रहेको चर्चा हुने गरेको छ। जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई धर्मगुरु दलाई लामाले बधाई दिएका थिए। उनले यसअघि नेपालका कुनै पनि प्रधानमन्त्रीलाई बधाईं दिएका थिएनन्। उनकै सबैभन्दा निकट र विश्वासपात्र रहेका रिम्पोछे काठमाडौं आएको विषयमा प्रमुख दलले शंका गरेका छन्।

सन् १९७० मा तिब्बतमा जन्मेका उनको वास्तविक नाम तुल्कु छोकी नाङपा रिम्पोछे हो। सन् १९९३ देखि रिम्पोछे भारतमा बस्न थालेका हुन्। भारतकै गान्देन गुम्बा विश्वविद्यालयमा अध्ययन गरेका उनले दलाई लामाबाट प्रवचन र अभिषेक प्राप्त गरेका छन्। जोनाङ गुम्बा विश्वविद्यालय र भारतको सिमला तथा धर्मशालास्थित कालचक्र ध्यान केन्द्रमा अध्यापन गर्ने उनले युरोप, दक्षिण अमेरिका र ताइवानलगायतका देशमा प्रवचन दिइसकेका छन्।

यस विषयमा डोल्पो समाजले बुधबार साँझ विज्ञप्ति जारी गर्दै डोल्पो र जोनाङ परम्पराको सम्बन्ध ऐतिहासिक रूपमा गहिरो, प्रामाणिक र अविच्छिन्न रहेको तथ्य निर्विवाद रहेको जनाएको छ। समाजका तर्फबाट टासी फोन्चो गुरूडले जारी गरेको विज्ञप्तिमा ‘डोल्पो बुद्ध भनेर सम्मानित कुन्ख्येन डोल्पो डोल्पामै जन्मिनुभएको हो। उहाँ नै जोनाङ बौद्ध परम्पराका प्रधान संस्थापक हुनुहुन्छ।

वर्तमान समयमा जोनाङ परम्पराका प्रमुख आध्यात्मिक गुरु क्याब्जे जोनाङ ग्याल्त्साब रिम्पोछेलाई नेपाल आमन्त्रण गर्नु डोल्पो समुदायको ऐतिहासिक, आध्यात्मिक तथा सांस्कृतिक उत्तराधिकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित स्वाभाविक र वैध कार्य हो। १२औं शताब्दीको उत्तरार्धदेखि आजसम्म पहिलो पटक, डोल्पो बुद्धद्वारा प्रतिपादित वंशगत धर्मपरम्परा आफ्नै मातृभूमिसँग औपचारिक रूपमा पुनः जोडिनु नै यस कार्यक्रमको मूल उद्देश्य हो।’  

प्रकाशित: २२ माघ २०८२ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App