राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले जेन-जी पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।
बिहीबार देशभरको मतदान सम्पन्न भएलगत्तै एक विज्ञप्ति जारी गर्दै उनले यस्तो धारणा राखेका हुन्।
सभापति लामिछानेले चौतर्फी चुनौतीका बाबजुद ऐतिहासिक निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए। उनले असहज परिस्थितिका बीच पनि निर्धारित मितिमै चुनाव गराउन सफल भएकोमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको प्रशंसा गरे।
रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिनुभएका प्रधानमन्त्रीज्यू, सरकारका निकाय, निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय र सञ्चार जगतप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।’
रविले मतदानमा उत्साहजनक रूपमा सहभागी हुने आम मतदाताप्रति आभार प्रकट गरे। साथै, अब आउने नतिजाले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति जेन-जी पुस्ताले राखेको आकांक्षालाई न्याय गर्ने उल्लेख गरे।
प्रकाशित: २१ फाल्गुन २०८२ २०:५६ बिहीबार





