३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

उदयपुरमा ५२ प्रतिशत मतदान, मतपेटिका गणनास्थलतर्फ लैजाने कार्य जारी

बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उदयपुर जिल्लामा ५२ प्रतिशत मतदान भएको छ। दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल २ लाख ३८ हजार ९ सय २६ मतदातामध्ये १ लाख २४ हजार ६ सय ९३ जनाले मतदान गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान गर्नेमा ६४ हजार ३ सय ५९ महिला र ६० हजार ३ सय ३२ पुरुष रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा खसेको ८० हजार ५९ मतमध्ये १ सय २३ मत जिल्ला कारागारमा सजाय भोगिरहेका कैदीबन्दीले दिएको समानुपातिक मत रहेको जनाइएको छ।

यस निर्वाचनमा क्षेत्र नम्बर १ मा क्षेत्र नम्बर २ को तुलनामा बढी प्रतिशत मतदान भएको छ। क्षेत्र नम्बर १ मा कुल १ लाख ४२ हजार ८ सय ४ मतदाता रहेका मध्ये ५५.९९ प्रतिशत अर्थात् ७९ हजार ९ सय ५६ मत खसेको छ। त्यस्तै ९६ हजार १ सय २२ मतदाता रहेको क्षेत्र नम्बर २ मा ४६.४३ प्रतिशत अर्थात् ४४ हजार ६ सय ३४ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

उदयपुरका चार नगरपालिका र चार गाउँपालिका गरी आठवटै स्थानीय तहमा समग्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाइएको छ। बिहान कटारी नगरपालिका–३ स्थित सब्जी बजार मतदान केन्द्रमा सुरक्षाकर्मीको लापरबाहीका कारण गोली चलेर केहीबेर मतदान अवरुद्ध भए पनि तत्कालै पुनः सुचारु गरिएको थियो। त्यसबाहेक अन्य सबै स्थानमा भयरहित र स्वतन्त्र वातावरणमा मतदान सम्पन्न भएको कार्यालयले जनाएको छ।

मतदान सकिएलगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी मतपेटिका गणनास्थलतर्फ ल्याउने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सबै मतपेटिकाको सर्जमिन मुचुल्का गरी गणनास्थलतर्फ पठाइसकिएको छ। मतपेटिका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरीको संयुक्त सुरक्षा घेराभित्र गणनास्थलमा ल्याइँदै गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सदरमुकाम गाईघाटस्थित त्रियुगा नमूना माध्यमिक विद्यालयमा र क्षेत्र नम्बर २ को मतगणना कटारीस्थित उदयसी क्याम्पसमा गर्ने तयारी गरिएको छ। सबै मतपेटिका आइपुगेपछि मतगणना सुरु गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म चलेको मतदान प्रक्रिया जिल्लाका सबै आठ स्थानीय तहमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

प्रकाशित: २१ फाल्गुन २०८२ २०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App