२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा धेरै र अछाममा सबैभन्दा कम

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कुल ५०.९ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार प्रदेशभरिका १७ लाख १६ हजार ६ सय ६० मतदातामध्ये ८ लाख ७४ हजार १ सय ७७ मत खसेको छ।

प्रदेशका पहाडी जिल्लाहरूमा मतदान दर तुलनात्मक रूपमा कम देखिएको छ। सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा ५० प्रतिशतभन्दा कम मतदान भएको तथ्यांकले देखाएको छ।

जिल्लागत रूपमा सबैभन्दा बढी ५८.६ प्रतिशत मतदान कञ्चनपुरमा भएको छ भने सबैभन्दा कम ३९.२ प्रतिशत मतदान अछाममा भएको छ।

प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र स्थापना गरिएको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाका अनुसार १६ वटै निर्वाचन क्षेत्रमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

बाजुरा

उच्च जोखिम मानिएको बाजुरा जिल्लामा यसपटक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। यहाँ ८७ हजार ८ सय ६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसेका छन्, जुन ५२.६ प्रतिशत हो।

कैलाली

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा ५५.४ प्रतिशत मतदान भएको छ। यहाँ ५ लाख ५१ हजार ५२ मतदातामध्ये ३ लाख ५ हजार १ सय २२ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्रअनुसार:

कैलाली–१ : १ लाख ८ हजार ४ सय ९१ मतदाता, ५४.४ प्रतिशत मतदान

कैलाली–२ : १ लाख ७ हजार ५७ मतदाता, ५२.७ प्रतिशत मतदान

कैलाली–३ : १ लाख ९ हजार १ सय २२ मतदाता, ५५.३ प्रतिशत मतदान

कैलाली–४ : १ लाख १५ हजार १ सय ४३ मतदाता, ५४.७ प्रतिशत मतदान

कैलाली–५ : १ लाख १० हजार ५ सय ३९ मतदाता, ५५.४ प्रतिशत मतदान

कञ्चनपुर

तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख १४ हजार ८ सय ३५ मतदातामध्ये १ लाख ८४ हजार ३ सय १६ मत खसेका छन्, जुन ५८.६ प्रतिशत हो।

अछाम

दुई निर्वाचन क्षेत्र रहेको अछाममा १ लाख ६५ हजार ३३७ मतदातामध्ये ६४ हजार ७ सय ८० मत खसेका छन्, अर्थात ३९.२ प्रतिशत मात्र मतदान भएको छ।

डोटी

१ लाख २८ हजार ३ सय ९९ मतदाता रहेको डोटीमा ५२ हजार ४ सय ८५ मत खसेका छन्, जुन ४०.९ प्रतिशत हो।

बझाङ

१ लाख २६ हजार ९ सय ३ मतदाता रहेको बझाङमा ५२ हजार २ सय १७ मत खसेका छन्, अर्थात ४१.१ प्रतिशत मतदान भएको छ।

बैतडी

१ लाख ५६ हजार ३७२ मतदाता रहेको बैतडीमा ७३ हजार १४८ मत खसेका छन्, जुन ४६.८ प्रतिशत हो।

डडेल्धुरा

९३ हजार ४०३ मतदाता रहेको डडेल्धुरामा ४५ हजार ९ सय ९ मत खसेका छन्, अर्थात ४९.२ प्रतिशत मतदान भएको छ।

दार्चुला

९२ हजार ९४८ मतदाता रहेको दार्चुलामा ४९ हजार ९६८ मत खसेका छन्, जुन ५३.८ प्रतिशत हो।

कैलाली कारागारका २६ कैदीबन्दीले मतदान गरे

कैलाली जिल्ला कारागारमा रहेका २६ जना कैदीबन्दीले मतदान गरेका छन्। धनगढीस्थित कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा २३ पुरुष र तीन महिला कैदीबन्दीले समानुपातिकतर्फ मतदान गरेका हुन्।

कारागारमा कुल ५ सय १२ कैदीबन्दी रहे पनि मतदाताको सूचीमा ३० जनाको नाम मात्र रहेको थियो। तीमध्ये तीन जना कारागारमुक्त भइसकेका र एक जना अन्यत्र सरुवा भएकाले २६ जनाले मात्र मतदान गरेको मतदान अधिकृत शिवराज जोशीले जानकारी दिए।

कैलालीमा कारागारसहित चार स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो। धनगढी, गोदावरी नगरपालिकाको अत्तरिया र टीकापुरमा पनि अस्थायी केन्द्र राखिएका थिए।

परिवर्तन र विकासको अपेक्षासहित मतदान

विभिन्न मतदान केन्द्रमा पुगेका मतदाताले परिवर्तन, विकास र रोजगारीको अपेक्षासहित मतदान गरेको बताएका छन्।

धनगढी–३ का मतदाता शेरबहादुर चौधरीले विकास, रोजगारी र परिवर्तनको आशामा मतदान गरेको बताए।

यस्तै अर्की मतदाता दीपा कुमारीले यसपटकको मतदानले विकास र रोजगारीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन्। “मैले पहिलो पटक मतदान गरेको हुँ। विकास र परिवर्तनको अपेक्षासहित मतदान गरेकी हुँ,” उनले भनिन्।

अर्का मतदाता भीमबहादुर साँउदले पनि विकास र समृद्धिको अपेक्षासहित मत दिएको बताए। “हाम्रा सन्ततिले दुःख नपाउने गरी विकास र समृद्धि होस् भन्ने आशामा मतदान गरेको हुँ,” उनले भने।

प्रकाशित: २१ फाल्गुन २०८२ २०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App