रसुवाको नेपाल–चीन सीमाक्षेत्रमा भदौ १० गते आएको विनाशकारी हिमपहिरो, बाढी र हिलोको लेदोबारे चिनियाँ वैज्ञानिकहरूले महत्वपूर्ण निष्कर्ष सार्वजनिक गरेका छन्। चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत इन्स्टिच्युट अफ तिब्बतियन प्लेटोको नेतृत्वमा गरिएको संयुक्त अध्ययनले उक्त विपद्को मुख्य कारण तत्कालको भारी वर्षा नभएको देखाएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार वैज्ञानिकहरूले भूउपग्रहबाट प्राप्त तस्बिर, स्थलाकृतिसम्बन्धी विवरण, भूकम्प मापन केन्द्रका अभिलेख, निगरानी क्यामेरा तथा घटनासँग सम्बन्धित भिडियो सामग्रीको विश्लेषण गरेर विपद्को क्रमबारे अध्ययन गरेका हुन्।
अध्ययनअनुसार भदौ १० गते बिहान नेपालको लाङटाङ लिरुङको उत्तरी उच्च हिमाली क्षेत्रमा ठूलो मात्रामा बरफ र चट्टान अचानक खसेको थियो। तीव्र गतिमा गहिरो खोँच हुँदै तल झरेको बरफ–चट्टानको ठूलो थुप्रोले आफ्नो यात्राका क्रममा बाटोमा रहेका माटो, चट्टान र अन्य सामग्रीसमेत कटान गर्दै बगाएको थियो।
यसरी प्रारम्भिक हिमपहिरो क्रमशः विशाल हिलोको लेदोमा परिणत भएको र त्यसले चीनको तिब्बतस्थित केरुङ बन्दरगाहसम्म ठूलो क्षति पुर्याएको वैज्ञानिकहरूको निष्कर्ष छ।
भारी वर्षा तत्कालीन मुख्य कारण नभएको निष्कर्ष
वैज्ञानिकहरूले विपद्को स्रोत क्षेत्रमा घटना हुनुअघि केही महिनासम्म वर्षा सामान्यभन्दा कम रहेको बताएका छन्। घटना हुनुअघि तत्कालै अत्यधिक वर्षा भएको प्रमाणसमेत नदेखिएको अध्ययनमा उल्लेख छ।
बरु, लामो समयदेखि हिमनदी तुलनात्मक रूपमा तीव्र गतिमा सर्दै जानु, हिमनदीको अग्रभागमा निरन्तर बरफ जम्मा हुनु तथा वसन्त र गर्मीमा सामान्यभन्दा बढी तापक्रम रहनुले उच्च हिमाली क्षेत्रमा हिउँ पग्लिने दर बढाएको वैज्ञानिकहरूको निष्कर्ष छ।
यसका साथै स्थायी तुषारो कमजोर बन्दै जाँदा बरफ र चट्टानबीचको सतहको स्थिरता पनि कमजोर हुँदै गएको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। लामो समयदेखि विकसित हुँदै आएको यस्तो अस्थिरताका कारण हिमनदी अचानक अस्थिर बनेर ठूलो हिमपहिरो गएको हुन सक्ने उनीहरूको अनुमान छ।
तर वैज्ञानिकहरूले घटनाको तत्काल र निश्चित ट्रिगर के थियो भन्ने विषयमा भने अझै पर्याप्त प्रमाण प्राप्त नभएको स्पष्ट पारेका छन्। उपलब्ध तथ्यहरूले भने यो विपद् केवल छोटो समयको अत्यधिक वर्षाका कारण भएको भन्ने निष्कर्षलाई समर्थन नगर्ने देखिएको छ।
२२ किलोमिटरको यात्राले बढायो विपद्को विनाशकारी शक्ति
अध्ययनले प्रारम्भिक हिमपहिरोमा खसेको बरफ र चट्टानको मात्रा मात्र विपद्को विनाशकारी शक्तिको आधार नभएको देखाएको छ। मुख्य क्षति बढ्नुमा बाटोमा थप माटो, चट्टान र अन्य भू–सामग्री मिसिनु महत्वपूर्ण कारण बनेको वैज्ञानिकहरूको निष्कर्ष छ।
बरफ र चट्टानको थुप्रो करिब २२ किलोमिटर लामो खोँच हुँदै तल झर्दा त्यसले नदीको सतह, खोँचको पिँध तथा आसपासका भिरबाट ठूलो मात्रामा माटो र चट्टान कटान गरेर आफूसँगै बगाएको थियो।
पछि नदीको पानीसँग ती सामग्री मिसिएपछि प्रारम्भिक बरफ–चट्टानको पहिरो ठूलो परिमाणको हिलोको लेदोमा परिणत भएको थियो। यसरी बाटोमा निरन्तर थप सामग्री मिसिँदै जाँदा विपद्को आकार र गति दुवै बढेको वैज्ञानिकहरूले बताएका छन्।
वैज्ञानिकहरूका अनुसार केरुङ बन्दरगाहसम्म पुग्दा विपद् कति विनाशकारी बन्यो भन्ने निर्धारणमा यही प्रक्रिया महत्वपूर्ण रह्यो।
ठूलो हिमपहिरोअघि नै देखिएका थिए असामान्य संकेत
अनुसन्धानकर्ताहरूले मुख्य हिमपहिरो जानुभन्दा केही घण्टाअघि नै स्रोत क्षेत्रमा अस्थिरताका सम्भावित संकेत देखिएको बताएका छन्।
भूकम्प मापन केन्द्रका अभिलेखमा मुख्य घटना हुनुअघि केही असामान्य संकेत देखिएको र तीमध्ये केही संकेत घटनास्थलमा भएका साना बरफ तथा हिउँका गतिविधिसँग लगभग उही समयमा देखिएको अध्ययनमा उल्लेख छ।
यसबाट ठूलो हिमपहिरो जानुअघि स्रोत क्षेत्रमा साना–साना बरफ तथा अन्य सामग्री खस्ने गतिविधि भएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।
यस्ता संकेतलाई थप भूकम्प मापन केन्द्र, ध्वनि तरंगसम्बन्धी अभिलेख र भिडियो फुटेजसँग तुलना गरेर अध्ययन गर्नुपर्ने वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार यस्ता संकेतको व्यवस्थित अध्ययन गर्न सके भविष्यमा उच्च हिमाली क्षेत्रमा हिमनदी अस्थिरताको प्रारम्भिक संकेत पहिचान गर्न र सम्भावित पूर्वसूचना प्रणाली विकास गर्न मद्दत पुग्न सक्छ।
जलवायु परिवर्तनसँग जोडिएको जोखिमतर्फ वैज्ञानिकको संकेत
अध्ययनले उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम र हिमनदीको अस्थिरतालाई भविष्यका विपद् जोखिम मूल्याङ्कनमा गम्भीर रूपमा समेट्नुपर्ने संकेत गरेको छ।
वैज्ञानिकहरूले हिमाली क्षेत्रमा जोखिम मूल्याङ्कन गर्दा पहाडबाट कति बरफ वा चट्टान खस्न सक्छ भन्ने कुरामा मात्र ध्यान दिन नहुने बताएका छन्। बरु स्रोत क्षेत्रको स्थिरता, पहिरोको बाटोमा थप भू–सामग्री मिसिन सक्ने सम्भावना र त्यसको प्रभाव पर्ने तल्लो तटीय क्षेत्र तथा पूर्वाधारलाई समेत समेटेर समग्र जोखिम मूल्याङ्कन गर्नुपर्ने उनीहरूको सुझाव छ।
अर्थात्, प्रारम्भिक हिमपहिरोको आकार सानो देखिए पनि त्यसले खोँच हुँदै तल झर्ने क्रममा कति थप माटो, चट्टान र पानी आफूसँग मिसाउन सक्छ भन्ने कुराले अन्तिम क्षतिको स्तर निर्धारण गर्न सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।
चिनियाँ वैज्ञानिकहरूको अध्ययनले रसुवामा भएको पछिल्लो विपद्लाई हिमनदीको दीर्घकालीन अस्थिरता, उच्च हिमाली क्षेत्रमा बढ्दो तापक्रम र पहिरोको बाटोमा थप भू–सामग्री मिसिने प्रक्रियाको संयुक्त परिणामका रूपमा बुझ्नुपर्ने संकेत गरेको छ।
वैज्ञानिकहरूले यस्तो घटना हिमालय क्षेत्रमा सीमापार विपद् निगरानी, पूर्वसूचना प्रणाली र जोखिम व्यवस्थापनका लागि महत्वपूर्ण चेतावनी भएको बताएका छन्। आगामी दिनमा नेपाल र चीनबीच उच्च हिमाली क्षेत्रमा संयुक्त निगरानी, पूर्वसूचना, जोखिम मूल्याङ्कन तथा विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन यस्ता वैज्ञानिक अध्ययन उपयोगी हुन सक्ने देखिएको छ।
प्रकाशित: १७ भाद्र २०८३ १४:४० बुधबार


-600x400.jpg)


-600x400.jpg)