रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्न आएका एक बेलायती स्वयंसेवकलाई सेनाले उद्धार गरिएका व्यक्तिको सूचीमा राखेर सार्वजनिक गरेको दाबी गरिएको छ।
बेलायती नागरिक अलास्टेयर चेम्बर्स गत बिहीबार नेपाल आएका थिए। उनी बाढी प्रभावित दुर्गम क्षेत्रमा पनि पुगेका थिए, जहाँ पुल तथा सडक भत्किएका कारण स्थानीय समुदाय अन्य क्षेत्रबाट सम्पर्कविहीन भएको थियो। उनले स्वयंसेवकको टोलीसँग मिलेर प्रभावित क्षेत्रमा खाना, पानी शुद्धीकरणका सामग्री, सुत्ने झोला तथा अन्य आवश्यक सामग्री वितरण गरेका थिए।
उनी राहत वितरण सकेर मानवीय सहायता उडानमार्फत काठमाडौं फर्किएका थिए। हेलिकोप्टरबाट सेनाको ब्यारेकमा ओर्लिएपछि एक प्रहरीले उनको विवरण मागेका थिए। त्यही विवरणका आधारमा उनलाई उद्धार गरिएका व्यक्तिमध्ये एक भएको अनुमान गरिएको हो।
सेनाले त्यसपछि एक बेलायती नागरिकसहित ११९ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको जनाएको थियो। तर उक्त बेलायती नागरिक चेम्बर्स नै भएको खुलेपछि उनी उद्धार गरिएका व्यक्ति नभई राहत अभियानमा खटिएका स्वयंसेवक रहेको पाइएको हो।
डेली मेलका अनुसार उनी बाढी प्रभावित क्षेत्रमा राहत तथा खोजी अभियानमा खटिएका थिए। आफूलाई उद्धार गरिएको भन्दै समाचार आएपछि धेरै पत्रकारले सम्पर्क गरेको उनले बताएका छन्। पछिल्ला केही घण्टामै करिब १५ जना पत्रकारले ‘उद्धार भएपछि कस्तो महसुस भइरहेको छ’ भनेर सोधेको उनले बताए।
‘म हेलिकोप्टरमा आएँ। त्यो मानवीय सहायता हेलिकोप्टर थियो। मलाई सेनाको ब्यारेकमा झारियो। त्यहाँ एक प्रहरीले आएर मेरो विवरण मागे,’ चेम्बर्सले भने, ‘त्यसपछि उनीहरूले मलाई उद्धार गरिएको ठानेछन्।’
आफ्नो नाम उद्धार गरिएका व्यक्तिको सूचीमा परेको थाहा पाएपछि आफूले पत्रकारहरूलाई वास्तविकता बताउनुपरेको उनले बताए।
‘मलाई उद्धार गरिएको हो भनेर पत्रकारहरूले सम्पर्क गरे। मैले उनीहरूलाई म उद्धार गरिएको होइन भन्नुपर्यो। म त्यहाँ राहतका लागि गएको थिएँ,’ उनले थप भने।
चेम्बर्सका अनुसार प्रभावित क्षेत्रमा पुग्ने क्रममा टोलीले निकै कठिन अवस्था सामना गर्नुपरेको थियो। पहिरोका कारण बाटो अवरुद्ध हुनुका साथै सडकमा रूख ढलेका थिए। सामान्य अवस्थामा करिब डेढ घण्टामा पूरा हुने यात्रा आठदेखि नौ घण्टासम्म लागेको उनले सुनाए।
प्रभावित क्षेत्रमा पुगेपछि फेरि बाढी आउन सक्ने सूचना पाएपछि टोली पहाडतर्फ सरेको थियो। पानीको बहाव कम भएपछि उनीहरू पुनः तल झरेर राहत वितरण तथा बेपत्ता मानिसको खोजीमा जुटेका थिए।
‘हामीलाई फेरि बाढी आउँदैछ भनेर भनिएको थियो। त्यसपछि हामी पहाडतिर गयौं। सौभाग्यवश, यस पटकको पानीको बहाव अघिल्लो जति ठुलो थिएन। पानी कम भएपछि हामी तल झर्यौं र मानिसका शव खोज्ने तथा मानवीय सहायता पुर्याउने काम गर्यौं,’ उनले भने।
चेम्बर्सले राहत अभियान चुनौतीपूर्ण भए पनि आफूले गरेको कामबाट सन्तुष्ट रहेको बताएका छन्। ‘यो निकै चुनौतीपूर्ण थियो, तर त्यति नै सन्तोषजनक पनि रह्यो,’ उनले भने।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आएको एक साता भइसक्दा पनि उद्धार कार्य जारी छ। एक हजार ११४ जनाको शव फेला परेको छ भने तीन हजार ९१६ जना सम्पर्कविहीन छन्।
अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने २१ हजार ३१४ सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन भएका छन्।
प्रकाशित: १७ भाद्र २०८३ १५:२४ बुधबार





