१७ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रचण्डको गुनासो- प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संकटको बेला संसद् र राजनीतिक दलहरूलाई उपेक्षा नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

संसद्‌मा आएर प्रधानमन्त्रीले कसैसँग संवाद नै नगरी हिँड्ने गरेको भन्दै दाहालले यस्तो व्यवहार उचित नभएको बताए।

उनले प्रश्न गरे, ‘प्रधानमन्त्री त हामी सबैको हो नि ! हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं। तर उहाँ आउनुहुन्छ, कसैको पनि अनुहार नहेरी जानुहुन्छ, यो कुन तरिका हो ?’

प्रधानमन्त्रीले प्रतिपक्षी दललाई मात्र नभई आफ्नै दलका सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको दाहालको टिप्पणी छ। विपद्बारे संसद्‌मा ब्रिफिङ गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै उनले अरूका अनुभव र सल्लाह पनि सुन्नुपर्नेमा जोड दिए।

उनले न्युजिल्यान्ड लगायतका अन्तर्राष्ट्रिय अभ्यासबाट पाठ सिक्दै साझा सहमतिका आधारमा विपद्को सामना गर्न सरकारलाई सुझाव दिए।

संकटका बेला दलहरूबीचको राजनीतिक विवाद र वैचारिक मतभेद थाती राखेर सहकार्य गर्नु नेपालीको मौलिक संस्कृति भएको दाहालले स्मरण गराए। २०७२ सालको विनाशकारी भूकम्पको दृष्टान्त दिँदै उनले विपद्‌मा कसरी काम गर्नुपर्छ भन्ने उदाहरण पेस गरे।

‘त्यतिबेला मैले रोस्टममै उभिएर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई दह्रोसँग खुट्टा टेक्नुस्, म प्रमुख प्रतिपक्षीको रूपमा होइन, सहयोगी बनेर साथ दिन्छु भनेको थिएँ,’ दाहालले विगत सम्झँदै भने, ‘त्यसपछि हामी एउटै हेलिकप्टरमा सँगै चढेर क्षतिको विवरण लिन र राहत बाँड्न फिल्डमा खटिएका थियौं।’

विपद्को यो घडीमा राष्ट्रिय एकता र सहकार्यको नेतृत्व गरेर देशलाई निकास दिने ठूलो अवसर प्रधानमन्त्रीलाई रहेको दाहालको भनाइ छ। उनले यो ऐतिहासिक अवसरलाई नगुमाउन र सम्पूर्ण संसद्लाई विश्वासमा लिएर गम्भीरतापूर्वक अघि बढ्न सरकारसँग आग्रह गरे।

प्रकाशित: १७ भाद्र २०८३ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App