१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजमार्गमा जताततै पहिरो

फाईल तस्बिर।

धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ।

त्रिभुवनराजपथ अन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ। लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ। डोजरर स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

पृथ्वीराजमार्ग क्षेत्रमाथि गाउँमा स्थानीय सरकारले जथाभावी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाडौँ भित्रिने राजमार्ग अवरुद्ध हुने गरेको छ। तीन दिन देखिको लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको आदमघाटमा सडक माथिबाट पहिरो र रुखसमेत आएर राजमार्ग अवरुद्ध भएको छ। सुरक्षाकर्मीले सडकमा आएको पहिरो र रुख हटाएर यातायात सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताए।

गल्छी गाउँपालिका महेशदोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा यातायात अवरुद्ध भएको छ। गल्छी बजारमा सडक माथिबाट आएको पहिराका कारण सवारीसाधनको राजमार्गमा लामो जाम लागेको छ। डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको भए पनि लगातारको पहिराले यातायात सञ्चालनमा कठिनाइ आएको छ। धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रुबिभ्याली र खनियाबास क्षेत्रसँग आउनेजाने बाटो अवरुद्ध भएको छ।

ठाउँठाउँमा पहिरो गएपछि यातायातका साधन दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिए। लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा समेत सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ स्थानीय तहलाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका राहत उद्धारमा लाग्नसमेत आग्रह गरे।

प्रकाशित: २० आश्विन २०७९ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App