१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेवाग्राहीलाई एउटै थलोबाट सेवा दिन ‘सेवा प्रवाह केन्द्र’

सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राही हरेक शाखामा धाउनुपर्दा दिक्क मान्छन्। फाइल बोकेर कहिले यता कहिले उता धाउनुपर्दा सेवाग्राहीले झन्झट मान्छन्। र सरकारी कार्यालयले दिने सेवाप्रति ढिलासुस्तीको गुनासो आउँछ।  

तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीलाई फाइल बोकेर हरेक शाखामा धाउनुपर्ने सास्तीको अन्त्य गरिदिएको छ। सबै शाखाको सेवा एकै ठाउँबाट लिनलाई नगरपालिकाले ‘सेवा प्रवाह केन्द्र’ सञ्चालनमा ल्याएको छ।  

नगरपालिकाको भवनमा प्रवेश गर्ने वित्तिकै सेवाग्राही भुईतलामा रहेको ‘सेवा प्रवाह केन्द्र’ मा पुग्छन्। सेवाग्राही के कामका लागि आएको हुन ‘सेवा प्रवाह केन्द्र’ मा रहेका कर्मचारीलाई बताएर फाइल बुझाएपछि त्यहाँका कर्मचारीले नै सेवाग्राहीको फाईल शाखामा पुर्‍याइदिन्छन्। काम सकिएपछि कर्मचारीले नै फाइल ल्याएर सेवाग्राहीको हातमा थमाउँछन्। कागजात नपुगेको खण्डमा सेवाग्राहीलाई बुझ्ने गरेर जानकारी गराउँछन्। 

सरकारी कार्यालयमा पुगेर दौडधुप नगरीकन कर्मचारीलाई फाइल थमाएर सेवाग्राही आरामले बस्ने पाउने गरी शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको ‘सेवा प्रवाह केन्द्र’ सम्भवत देशमै पहिलो हो। सेवाग्राहीको सहजताका लागि यस्तो अभ्यास अन्य स्थानीय तहमा भएको पाईदैन्। शुक्लागण्डकी नगरपालिकामा भने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन विहीबारदेखी ‘सेवा प्रवाह केन्द्र’ सञ्चालनमा ल्याईएको छ।

जनतालाई सेवा सहज रुपमा दिनलाई केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख कृष्णराज पण्डितले बताए। ‘केन्द्रबाट शाखामा धाउन नपर्दा सेवा लिन आउने जनतालाई सजिलो हुन्छ। सेवाग्राहीको आउजाउ कम हुदाँ कर्मचारीले पनि आफ्नै सुरमा काम गर्न पाउनुहुन्छ’, उनले भने। कर्मचारीको कामले गति लिने उनको विश्वास छ। संघियताको मुल मर्म अनुसार काम गर्नलाई ‘सेवा प्रवाह केन्द्र’ ले सघाउने मेयर पण्डितले बताए। 

शुक्लागण्डकी नगरपालिकामा प्रवेश गरेका जनतालाई कसरी प्रभावकारी सेवा दिन सकिन्छ भनेर लागेको उपप्रमुख खुमबहादुर विक (राजु) बताउँछन्। ‘सकेसम्म सर्भिस डेलिभरीलाई सहज बनाउनुपर्ने हुन्छ’, उनले भने। उनले आफुले उपप्रुमखको हैसियतले पहिलो अनुगमन र मुल्यांकनको सुरुवात नगरपालिकाको कार्यालयबाट गर्नेे बताए। शुक्लागण्डकी नगरपालिकाको कार्यालयबाट शुसासनको शुभारम्भ भएको उनको भनाई छ। ‘सेवाग्राहीले शाखा प्रमुख, प्रमुख कार्यकारी अधिकृतलाई खोज्दै जाने हैन्। सेवाग्राहीलाई समस्या पर्‍यो भने खोज्दै उहाँहरु आउने सुरुवात गरेका छौँ’, उनले भने। सेवाग्राहीले सेवा पाउने सुनिश्चितता ‘सेवा प्रवाह केन्द्र’ ले गर्ने उनको भनाई छ।

प्रमुख कार्यकारी अधिकृत लिलाबल्लव न्यौपानेले असार मसान्तसम्म ‘सेवा प्रवाह केन्द्र’ को परिक्षण हुने बताए। त्यसपछि ‘सेवा प्रवाह केन्द्र’ लाई डिजिटल रुपमा रुपान्तरण गर्ने उनको भनाई छ। नगरपालिकाको कार्यालयले सुशासन र सेवा प्रवाहलाई चुस्त बनाउने उनले बताए। ‘सेवाप्रवाहलाई जनमैत्री र सहज बनाउन खोजेका हौँ’, उनले भने।

प्रकाशित: २० जेष्ठ २०७९ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App