सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई कुनै जानकारी नभएको बताएका छन्।
बुधबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो स्पष्टोक्ति दिएका हुन्।
“शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने विषय सरकारको जानकारीमा छैन,” मन्त्री गुरुङले भने, “राजीनामा दिएको भए सरकारका प्रवक्ता र मन्त्रिपरिषद्लाई थाहा हुन्थ्यो। आजसम्म उहाँले राजीनामा दिनुभएको हामीलाई जानकारी छैन। उहाँ सम्भवतः अस्वस्थ हुनुहुन्छ, त्यसैले उपस्थित हुन नसक्नुभएको हो।”
यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री भट्टराईले स्वास्थ्य कारणले राजीनामा दिएको बताएका थिए। नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा बोल्दै प्रधानमन्त्रीले मन्त्री भट्टराईको राजीनामा आफूसँग असहमति नभई स्वास्थ्य समस्याका कारण भएको प्रष्ट पारेका थिए।
तर, मन्त्री भट्टराईको राजीनामालाई लिएर बाहिर प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण असन्तुष्टि बढेको चर्चा चलेको छ। यद्यपि, सरकारका प्रवक्ताले राजीनामाको औपचारिक जानकारी नभएको दोहोर्याएका छन्।
प्रकाशित: १० वैशाख २०८२ १५:५८ बुधबार





