६ वैशाख २०८१ बिहीबार
समाज

पशुमा रेबिजको लक्षण देखा, एन्टिरेबिज भ्याक्सिन लगाइयो

रेबिज विरुद्धको भ्याक्सिन लगाउन गाउँ पुगेको प्राविधिक टोली।

जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ५ को गैरिगाउ र पहरेछाप गाउँमा पशुहरुमा रेबिज रोग फैलिएको छ। रोगका कारण दुई साता अघि भुस्याहा कुकुरले पशुहरुमा आक्रमण गरेको र पशु मरेको स्थानीयहरुले बताएका छन्। पशु मरेको खबर आएपछि रोकथामको लागि नीलकण्ठ नगरपालिकाले एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन गरेको छ।

नगरपालिकाको पशुपन्क्षी विकास शाखाले भ्याक्सिन कार्यक्रम संचालन गरेको हो। नगरपालिकाको ३ जना प्राविधिक टोलीले गाउँमा पुगेर एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन गरेको प्राविधिक सुवास खतिवडाले बताए। ‘गाउँमा भुस्याहा कुकुरले पशुहरुमा आक्रमण गर्दा पशुहरु मर्न थालेपछि स्थानीयले प्राविधिक टोलीलाई खबर गरेका थिए’, खतिवडाले भने, ‘प्राविधिक टोलीले रोग पहिचान गरि सम्भावित संक्रमण रोक्न भ्याक्सिन कार्यक्रम संचालन गरेका छौँ।’

पशुले र्‍याल बगाउने, एकोहोरो कराइरहने, मानिसलाई झम्टने लक्षण देखाउने र तीनदेखि सातदिनमा पशु मर्न थालेपछि प्राविधिक टोलीले रोग पहिचान गरि हुनसक्ने जोखिम न्यूनीकरणका लागि भ्याक्सिन कार्यक्रम चलाएको खतिवडाले बताए। गाउँमा तीन वटा पशुचौपाय मरिसकेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै गैरिगाउ र पहरेछापका कृषकहरुको करीब १ सय ३० साना तथा ठुलो पशुचौपायालाई भ्याक्सिन लगाइएको छ।

 जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको सिफारिसमा पशुको स्याहार गर्ने ११ जनालाई समेत एन्टिरेविज खोप लगाइएको छ। जनप्रतिनिधि, स्वास्थ्य चौकिका कर्मचारी  तथा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी समेत पुगेर रेविज संक्रमण फैलिएको ठाउँमा स्थलगत निरीक्षण गरि सत्यतथ्य बिवरण र स्थानीय कृषकहरुलाई सचेतना गराइएको छ।  

गत आर्थिक वर्षमा पनि सुनौलाबजार आसपासका केही ठाउँमा पशुहरुमा  रेविज  फैलिएको र १ जना मानिसको ज्यान समेत गएको थियो। आकस्मिक रोगहरुको व्यवस्थापनको लागि खोप खरिद तथा ब्यवस्थापन शीर्षकमा  यस  बर्ष पनि नगरपालिकाले ६ लाख बजेट बिनियोजन गरेको छ।

रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो। रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ। कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ। त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ।

प्रकाशित: २३ मंसिर २०७८ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App