१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोभिडमा ‘बिरु’ : जसले मास्क बाँडिरहे

गत वर्ष कोरोना संक्रमणको त्रासदीले निम्त्याएको लकडाउन । आमनागरिक कोरोना संक्रमणको अधिक त्रासमा घरभित्रै थुनिए । त्यसमाथि घरबाहिर निस्कीन रोक लगाएको प्रहरी प्रशासनले काराबही गर्ला भन्ने डर । आमनागरिक कोरोनाको अधिक त्रासमा घरभित्रै थुनिईरहेका बेला घोराहीका बिरबहादुर खत्री ‘बिरु’ भने एकाबिहानै घरबाहिर निस्की हाल्थे ।

प्लाष्टिकको थैलो उचालेर घरबाहिर निस्कने बिरबहादुरको स्वार्थ आफ्नो ब्यक्तिगत काम हुन्थेन, नत घुम्नकै लागि उनि बजार निस्कन्थे । उनको एक मात्रै लक्ष्य थियो ‘समाज सेवा ।’ लकडाउन सुरु भएसंगै जिल्लामा मास्कको चरम अभाव भयो । लकडाउनका बेला फ्रन्टलाईनमा खटिएकाहरु मास्क अभावमा सडकमा असुरक्षित थिए । 

बिरबहादुरले मास्कको जोहो गरे, अनि उनै फ्रन्टलाईनरहरुलाई निःशुल्क मास्क बाँड्न सडकका चोक चोकमा पुग्न थाले । ‘हामी घरभित्र बस्दा पनि जति असुरक्षित महशुस गरिरहेका थियौँ, त्यो भन्दा बढी असुरक्षित त बाहिर फिल्डमा खटिएका पात्रहरुले गरिरहेका थिए,’ बिरुले भने, ‘त्यो बेलाको मास्कको चरम अभावका बेला उनिहरुलाई झनै संक्रमणको जोखिम थियो, अनि म मास्कको जोहोमा लागेँ र सडक सडकमा पुग्न थालेँ ।’ 

कोरोनाको उच्चतम त्रासका बेला बिरुले आँफूलाई थप असुरक्षित बनाईरहेका थिए । घर परिवार उनको यो ब्यवहारबाट थप चिन्तीत थियो । ‘परिवारका सदस्यहरुले कोरोनाले सिध्याउँछ भनेर मलाई रोक्न खोज्नु हुन्थ्यो,’ बिरु भन्छन्, ‘तर मैले परिवारलाई सम्झाई रहेँ, अन्ततः मेरो अभियानमा सहमत हुनु भयो ।’ सुरुमा उनको अभियान नरुचाएको परिवारले पछि उनलाई नै सहयोग गर्न थाल्यो । ‘पछि त मलाई मेरो परिवारले नै समाजिक अभियानमा नछोड्न सुझाव दिन थाल्यो’ उनले भने ।  

गत वर्ष फ्रन्टलाईनहरुलाई मास्क वितरण गर्ने अभियान सुरु गरेका बिरु आफ्नो यो कर्मबाट थप उत्साहित बन्दै गए । उनि भन्छन्, ‘समाज सेवा गर्दा साँच्चै कति आनन्द अनुभूति हुँदो रहेछ ।’ त्यसोत, जोखिममा मास्क बोकेर सडकमा निस्कने बिरुको यो अभियानको उच्च प्रशंसा भयो । 

यो हौसलासंगैको प्रशंसाले उनलाई मास्क वितरण अभियानको बाटोमा हिँडाईरह्यो । फलतः अहिले सम्म उसैगरि मास्कको झोला बोकेर एकाबिहानै घर बाट निस्कीरहन्छन् बिरु ।  

हातमा प्लाष्टिकको ठूलो झोला, झोलामा मास्क । घोराहीका व्यस्त चोकहरुमा दिनहुँजसो भेटिने (बिरु) मास्क नलगाएरै बजार हिँडेकाहरुको खोजी गरिरहेका हुन्छन् । बीच सडकमै उभिएर सवारी साधन रोक्छन्, मास्क नलगाएका यात्रु अनि चालकहरुलाई कोरोना संक्रमणबाट जोगिने उपाय मास्क प्रयोग गर्न सुझाउँछन् अनि निःशुल्क रुपमा मास्क थमाईदिन्छन् ।  

बजारमा पैंदल हिँडिरहेका मास्कविहीन सर्वसाधारणहरु पनि उनको नजरमा पर्छन् । प्रत्येकको हातहातमा मास्क थमाउँछन् , अनि भन्छन् ‘कोरोना जोखिमबाट सतर्क रहनुहोला ।’ सरकारले लकडाउन हटाएपछि बजारमा मास्क प्रयोगकर्ताको संंख्या कम बन्दै गयो । 

तर, सरकारले निर्धारण गरेको नियमलाई ‘फलो’ गर्दै मास्क अभियानसहित सडकमै छन् घोराही १४ का बिरु । अभियानमा उनि एक्लै छन्, तथापी एक्लो आत्मबलले हार मानेको छैन ।  

‘जब लकडाउन खुल्यो, त्यो बेलादेखि बजारमा मास्क प्रयोगकर्ताहरु कम बन्दै गईरहेका छन्,’ बिरु भन्छन्, ‘सरकारले मास्क प्रयोगमा गरेको अनिवार्य हाम्रै लागि हो भन्ने मानसिकता हामीबाट हराउँदै गएको जस्तो देखिन थालेको छ, अतः कोरोनाको जोखिम पुनः बढेकाले मास्कको प्रयोग अनिवार्य छ है, भन्ने सन्देश प्रवाह गर्नु मेरो अभियानको मुख्य लक्ष्य हो ।’

सुरुमा उनको अभियानमा कोरोनाविरुद्ध फ्रन्टलाईनमा खटिएका पात्र केन्द्रित थिए । ‘सुरुमा म मास्क अभियानमा लाग्दा कोरोनाको त्रास अत्यन्त धेरै थियो, तैपनि म केएन ९५ मास्क लिएर कोरोनाविरुद्ध फ्रन्टलाईनमा खटिएकाहरुसम्म पुगेँ,’ उनले भने, ‘कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेकाहरुलाई सहानुभूति र प्रोत्साहन मेरो अभियानको पहिलो लक्ष्य बन्यो ।’

पहिलो चरणको अभियानबाट उनि दोस्रो चरणमा आफ्ना निकटस्थहरुसम्म अभियान लिएर घरघरमै पुगे । ‘म दाङको पूर्व भालुवाङदेखि पश्चिम हापुरेसम्म पुगेर मास्क वितरण गर्न पुगेँ,’ उनले भने ‘यो बीचमा धेरैको स्याबासी पाएँ, थोरै आलोचना पनि ।’ 

आलोचनाको कारण थियो – गरिब झुपडीसम्म किन नपुगेको ? उनले भने, ‘अभियान नितान्त मेरो आर्थिक खर्चमा गरिरहेको थिएँ, फेरि म एक्लो ब्यक्ति कसरी प्रत्येक गरिबको घरसम्म पुग्नु सम्भाव थियो ? मैले त्यो दायित्व राज्यको ठाने ।’

तथापी आलोचनाले उनलाई प्रभावित बनाएन । सुझावका रुपमा आलोचना ग्रहण गरेका उनि अविचलित यो अभियानमा जोडिईरहे । अग्रपंक्तीमा रहेका पात्र,आफ्ना निकटस्थ हुँदै उनि संस्था केन्द्रित बने । 

घोराही उपमहानगरपालिकाका स्वास्थ्य, सरसफाई क्षेत्रमा काम गर्ने कर्मचारीहरु, दाङ उद्योग वाणिज्य संघका कर्मचारीहरु, घोराहीका दुई र नारायणपुरको एउटा खानेपानी संस्थाका कर्मचारीहरु, रेडक्रस, परिवार नियोजनका कर्मचारीहरुलाई उनले केएन ९५ मास्क वितरण गरि भ्याए । 

तुलसीपुर, घोराही र लमही आँखा अस्पतालका कर्मचारीहरुलाई मास्क वितरण पनि उनले गरे । अनि उनि सर्वसाधारणहरुलाई मास्क वितरण गर्न सडकका चोक चौतारोमै उभिए ।  

उनको यो अभियान २२ वटा मास्कबाट सुरु भएको थियो । उनका निकटस्थहरुले पनि यो अभियानलाई बिस्तारै सहयोग गर्न थाले । फलतः उनलाई झनै यो अभियानमा लाग्न आत्मबल पैदा भयो । ‘मलाई मेरा परममित्र तथा आफन्तहरुले वितरणका लागि मास्क सहयोग गर्न थाल्नु भयो,’ उनले भने, ‘उहाँहरुको उपलब्ध गराएको मास्क वितरणका लागि भने म एक्लै फिल्डमा खटिएँ ।’

 फलत : अहिले सम्म उनले डेढ लाख थान मास्क बितरण गरिसकेका छन् । यो अभियानका लागि उनले १६ लाख ४३ हजार रुपैयाँ खर्च गरिसकेको जनाए । केहि रकमको मास्क मात्रै आँफूलाई सहयोग भएको भएपनि बाँकी उनले आफ्नै खर्चमा नि:शूल्क मास्क वितरण गरेका हुन् ।

‘१६ लाख ४३ हजार रुपैयाँ भन्दा बढि रकम यो अभियानमा खर्च भएको छ,’ उनले भने ‘यो मध्य साढे तीन लाख रुपैयाँ जति मलाई मेरा शुभेच्छुकहरुले सहयोग गर्नुभएको हो , बाँकी खर्च मैले आफ्नै ब्यक्तिगत रुपमा गरेँ ।’

मास्क वितरण अभियानका क्रममा उनको एउटा भोगाई छ ‘जाने बुझेकाहरुले मास्क प्रयोग गर्दैनन्, बरु सामान्य नागरिकहरुले मास्कको प्रयोग अधिक गरेका छन् ।’ उनले कतिपयलाई निःशुल्क मास्क उपलब्ध गराउँदा पनि मास्क लिन मन नगरेका उदाहरण समेत छन् । बरु भन्छन् ‘केही जाने बुझेकाहरुलाई मास्क लगिदिनुस् भनेर बिन्ती गर्नु परेको अवस्था पनि आयो ।’

गत वर्षदेखि निरन्तर रुपमा मास्क वितरण अभियानमा रहेका बिरुले आफ्नो अभियानलाई थप परिस्कृत पनि गरेका छन् । अहिले उनि जनमानसको भिड रहने स्थानहरुमा बढि केन्द्रित भएका छन् । मठ मन्दिर तथा औपचारिक सभा समारोहमा उनि मास्कसहित बसिसकेका हुन्छन् । 

यससंगै उनको अभियानमा उनले पिउने पानीलाई समेत जोडेका छन् । ‘मास्कसंगै गर्मियाममा पिउने पानीको पनि सहुलियत होओस् भनेर मैले पानीलाई पनि आफ्नो अभियानमा जोडेको छु,’ उनले भने ‘अहिले बिशेषतः म जनमानसको भिड हुने थलोहरुमा केन्द्रीत भएको छु ।’ वर्ष दिनदेखि मास्क वितरण अभियानमा निरन्तर रहेका बिरुले कोरोना त्रासदी कायम रहँदासम्म आफ्नो यो अभियानलाई बिट मार्ने पक्षमा छैनन् । 

यो सामाजिक अभियानले दिएको अत्म सन्तुष्टिका कारण उनि ‘मास्क म्यान’ बनेर आगामी दिनमा पनि यसैगरि मास्क वितरणको यात्रामा हिँड्ने प्रण गर्छन् । ‘मेरो सुरुको सानो सहयोगको काम अहिले सम्म अभियानकै रुपमा आईपुग्ला भन्ने मलाई लागेकै थिएन,’ उनले भने ‘यो कर्मबाट मिलेको उर्जा र हौसलाले मलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्यो, फलतः मेरो यो अभियान अब सदैव निरन्तर रुपमा अघि बढाउने योजनामा छु ।’

प्रकाशित: १२ वैशाख २०७८ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App