७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

‘महिला उद्यमशीलता अझै चुनौतिपूर्ण’

पोखराका अगुवा उद्योगी व्यवसायीले महिला उद्यमशीलता अझै पनि चुनौतिपूर्ण रहेको बताएका छन् । राजनीतिक परिवर्तनसँगै शिक्षा र सचेतनामा फड्को मारे पनि समाज र परिवारमा व्यवहारिक परिवर्तन नहुँदा महिला उद्यमशीलता अझै पनि चुनौतिपूर्ण रहेको बुधबार महिला उद्यमी संघको दशौं साधारण सभा तथा छैटौं अधिवेशनमा बोल्ने वक्ताहरुले बताए ।

कार्यक्रममा महिला सीप विकास तालिम केन्द्रकी प्रमुख रामकली खड्काले महिला उद्यमशीलता पहिलेभन्दा केही सहज भए पनि व्यवहारिक कठिनाई ज्यूँका त्यूँ रहेको बताईन् । भनिन्,‘पहिले भन्दा त केहि सहज छ तर घरायासी काम महिलाले नै गर्नुपर्छ । त्यो सब गरेर बाहिर निस्किन मुस्किल छ ।’

पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले महिला उद्यमशीलताले अर्थतन्त्र बलियो बनाउन सघाउने बताईन् । तर उद्यमी बन्न महिलालाई सोंचेजस्तो सजिलो नरहेको उनले पनि बताईन् । महिला दिनभर घरको काम गरेर बस्छन्, तर के गर्नुहुन्छ भनेर सोध्यो भने केहि पनि गर्दिन भन्ने स्थिति अहिले पनि छ,उनले भनिन्,‘महिलाको कामको मूल्याङ्कन नै छैन । उद्यमी बन्नु भनेको आफू बन्नु पनि हो, त्यसैले उद्यमी आफू पनि बनौं र अरुलाई पनि बन्न प्रेरित गरौं ।’  

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले महिलाले घरको काममा सहजीकरण गरेकै कारण पुरुषले बाहिर निस्किएर काम गर्न सकेको बताए । महिलाले उद्यमशीलता गर्दा घरसँगै व्यापार, व्यवसाय सम्हाल्न चुनौतिपूर्ण रहेको भन्दै उनले भने,‘तर त्यसो भनेर बस्ने पुरानो जमाना छैन । महिला भएर सक्दैनौं भन्नु पर्दैन । गरे सकिन्छ र त्यसरी गरेका कयौं उदाहरणहरु पनि छन् ।’

महिला उद्यमी महासंघ गण्डकी प्रदेशकी अध्यक्ष पार्वती पौडेल रेग्मीले नया उद्यमी उद्यमी जन्माउन र उनीहरुको व्यापार प्रवद्र्दन गर्न महासंघले भूमिका खेल्दै आएको बताईन् । घरमै सिमित बनेका महिला दिदीबहिनीलाई उद्यमी बन्न उत्प्रेरणा जगाईरहेका छौं,उनले भनिन्,‘त्यसमा सफल बनाउनका लागि पनि हामीले व्यापार प्रवद्र्दन गरिरहेका छौं ।’

गण्डकी प्रदेश सभाका पूर्व सदस्य तथा महिला उद्यमी संघ कास्कीकी संस्थापक अध्यक्ष मीना गुरुङले महिलालाई उद्यमशीलता गर्न पहिले भन्दा अहिले झन् सकसपूर्ण रहेको आफूले अनुभव गरेको बताईन् । ‘हामीले दुःख गरेरै यहाँसम्म आयौं,’ उनले भनिन्,‘तर अहिले हेर्छु पहिले भन्दा झन् धेरै गाह्रो भएको महशुष हुन्छ । घरको काम नसकी निस्किने वातावरण अहिले पनि छैन ।’

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले महिलाले कमजोर छु भन्ने सोंच त्याग्नुपर्ने बताईन् । महिला सशक्तिकरणमार्फत दीगो विकास र समृद्दि ल्याउन हामीले भूमिका खेल्नुपर्छ,उनले अगाडि थपिन्,‘महिलाको अबको लडाईं भनेको आर्थिक रुपमा सबल हुनु हो । त्यसका लागि उद्यमशीलता जरुरी छ ।’

महिला उद्यमी संघ कास्कीकी सल्लाहकार सीता गुरुङले समाज परिवर्तन भयो भनिए पनि व्यवहारमा परिवर्तन नआउँदा महिलालाई बाहिर निस्केर उद्यमशीलता गर्न चुनौतिपूर्ण रहेको बताईन् । भनिन्,‘भनेजस्तो सजिलो कहाँ छ र ? घरको काम नसकी निस्किन पाईन्न । तर त्यसो भनेर घरबाट ननिस्किने होईन । जसरी पनि निस्केर उद्यमशीलता गरे सफल भईन्छ ।’

महिला उद्यमी संघ कास्कीकी अध्यक्ष शारदा बराल ‘सरु’ले महिला उद्यमी जन्माउन र भएका महिला उद्यमीको व्यापार प्रवद्र्दन गर्न, उनीहरुको सबलीकरण गर्नेलगायतमा आफूहरुले सघाउँदै आएको बताईन् ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट महिला उद्यमशीलता विकास र सशक्तिकरणमा सघाएको भन्दै नागरिककर्मी सन्देश श्रेष्ठ र टेलिभिजनकर्मी अनिसा श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङ, महिला सीप विकास तालिम केन्द्रकी रामकली खड्का, महिला उद्यमी महासंघ गण्डकी प्रदेश अध्यक्ष पार्वती पौडेल रेग्मी, संघ कास्कीकी संस्थापक अध्यक्ष मीना गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीलगायतलाई पनि आ–आफ्नो क्षेत्रमा सफलता प्राप्त गरेकोमा सल ओढाएर बधाई ज्ञापन तथा सम्मान गरिएको थियो ।

प्रकाशित: २३ पुस २०८२ १८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App