राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको गरिबी र पीडालाई राजनीतिक एजेन्डा बनाएर बेच्ने धेरै आए पनि त्यसलाई वास्तविक रूपमा बुझ्ने नेतृत्वको अभाव रहेको बताएका छन्।
बिहीबार सुर्खेतमा आयोजित ‘परिवर्तन उद्घोष सभा’ तथा बाचापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
‘कर्णालीको दुःख र गरिबी बेच्ने नेताहरू धेरै आए, तर त्यो गरिबीलाई साँचो अर्थमा बुझ्ने कोही आएनन्,’ शाहले भने, ‘त्यो गहिराइ र पीडा बुझ्न रास्वपाका नेताहरू यहाँ आएका हुन्।’
शाहले कर्णालीको जुम्ला र कालीकोटको स्याउ तथा मार्सी चामल देशका अन्य भागमा सहजै पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे। ‘डोल्पाको यार्सागुम्बा विश्वभर पुग्न सक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन,’ उनले भने, ‘यहाँको उत्पादनलाई कम्तीमा देशभर पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।’
नेपाली र खस भाषाको उद्गमस्थल सिञ्जा सभ्यताको ऐतिहासिक महत्व सुनाउँदै शाहले यसको जगेर्ना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले काठमाडौं महानगरपालिकामा नेवाः सभ्यता जोगाए जस्तै कर्णालीको मौलिक भाषा, लिपि, चित्रकला र जात्रा-संस्कृतिको संरक्षणमा रास्वपाले काम गर्ने दाबी गरे।
देशमा अझै पनि भोकमरी रहेको र कर्णालीमा बाल तथा मातृ मृत्युदर उच्च रहेको उल्लेख गर्दै शाहले भने, ‘कर्णालीको यो पीडा र भोकमरी बुझ्ने नेता हामी बन्न चाहन्छौं। कर्णालीका सुइना (सपना) अब हाम्रा सपना हुनेछन्।’
प्रकाशित: ७ फाल्गुन २०८२ १५:५१ बिहीबार




-600x400.jpg)
