coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रशिक्षणका क्रममा प्याराग्लाईडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु

पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्दै । फाइल तस्बिरः नागरिक

पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको प्रशिक्षणका क्रममा फेवातालमा खसेर दुर्घटनामा परी घाइते भएका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले राष्ट्रिय खेलाडी छनोटका लागि अहिले पोखरामा प्याराग्लाइडिङ उडानको प्रशिक्षण संचालन गरिरहेको छ ।  

प्याराग्लाइडिङ उडान तालिमका क्रममा सोमबार दिउँसो फेवातालमा खसेका धादिङका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । ‘तालमा खसेलगत्तै तत्कालै उद्धार गरेर उपाचारार्थ सैनिक अस्पतालमा लगिएपनि उनलाई बचाउन सकिएन,’ हमालले भने ।  

डिएसपी हमालका अनुसार दुर्घटनालगत्तै सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएको थियो । ‘तालमा डुबेको जानकारी पाएलगत्तै सेनाको उद्धार टिम पुगेको थियो, तर पछि उपचारको क्रममा ज्यान गयो,’ उनले भने ।  

सेनाका एक अधिकारीका अनुसार सेनाले अहिले प्याराग्लाईडिङ राष्ट्रिय खेलाडी छनोटको क्रममा पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको प्रशिक्षण गराईरहेको छ । प्रशिक्षणको क्रममा सोमबार दुर्घटना भएको सेनाले बताएको छ । ‘उद्धारमा खासै ढिलाई भएको होईन । बढीमा पाँचमिनेटभित्रै उद्धार भईसकेको थियो,’ सेनाका ती अधिकारीले भने, ‘तर, बचाउन सकिएन ।’

उनका अनुसार प्रशिक्षणका क्रममा घटना घटिहालेमा उद्धार गर्नका लागि सेनाको टोली मोटरबोट सहित किनारमा तयारी अवस्थामा थियो । त्यस्तै जानकारी पाएलगत्तै बाराहीचोकमा रहेको सशस्त्र प्रहरीको टोली पनि मोटरबोट लिएर उद्धारमा पुगेको थियो । त्यसबाहेक प्रहरीको टिम पनि खटिएको थियो । ‘प्रशिक्षणकै क्रममा भएपनि उनले केही समयको उडान अनुभव बटुलिसकेका थिए,’ सेनाका ती अधिकृतले भने, ‘थप अभ्यास चलिरहँदा घटना भएको हो ।’ घटना घटेलगत्तै उद्धारका लागि सेना, सशस्त्र र प्रहरीको टोली तत्कालै पुगेको उनले बताए । 

प्रकाशित: ३ चैत्र २०७७ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App