काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले आफूमाथि आक्रमण गर्नेहरू राष्ट्रविरोधी तत्त्व भएको बताएकी छन्।
लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो इमानदार कामले राष्ट्रविरोधी तत्त्वहरूलाई असह्य भएको दाबी गरिन्।
नेकपा (एमाले) को टिकटबाट उपमेयर निर्वाचित भएदेखि कुनै पनि दिन, बार वा चाडपर्व नभनी जनता र राष्ट्रका लागि इमानदारीपूर्वक काम गरेको उनले बताइन्।
‘मेरो कामको प्रभाव देखिन थाल्यो, मुलुकभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि प्रशंसा भयो,’ उनले भनिन्, ‘संसारका विभिन्न मुलुक र सरकारले काठमाडौंको राम्रो अभ्यास र अनुभव साट्न निमन्त्रणा गरे। तर, राष्ट्रको विकास नचाहने र काम देखेर भतभती पोल्नेहरूले ममाथि निरन्तर आक्रमण गरिरहेका छन्।’
उपमेयर डङ्गोलले आफू योग ग्लोबल लिडरको रूपमा चयन भएको उल्लेख गर्दै यो उपलब्धि व्यक्तिगत मात्र नभई देश र युवाका लागि भएको बताइन्।
‘यो चयनले धेरैलाई पोल्यो, उनीहरूलाई गाह्रो र सकस भयो। त्यसपछि जथाभावी आक्रमणको प्रयास भइरहेको छ,’ उनले थपिन्।
उनले राष्ट्रविरोधी तत्त्वहरू सल्बलाइरहेको र आफ्नो कामले नेपालको नाम विश्वभर उच्च राख्न सफल भएको पनि दाबी गरिन्।
प्रकाशित: ११ वैशाख २०८२ १६:२९ बिहीबार





