चितवनमा दोस्रो चितवन मह उत्सव हुने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनको आयोजनामा रत्ननगर महोत्सव परिसर भित्र मह उत्सव हुन लागेको हो ।
स्वदेशी महको उत्पादन र बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले मह उत्सव गर्न लागिएको राष्ट्रिय कृषि आधुनीकरण कार्यक्रम, कार्यन्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीले जानकारी दिए । रत्ननगरको टिकौली चौरमा यही पुस २५ गतेदेखि माघ ६ गतेसम्म हुने रत्ननगर महोत्सव हुँदैछ । महोत्सव स्थलभित्र १० वटा स्टल राखेर महको प्रवर्द्धन गरिने कार्यालय प्रमुख रेग्मीले बताए ।
‘महको महत्व, जनचेतना, गुणस्तर स्थानीय स्तरको उत्पादन, मानिसदेखि पशुपंक्षीसम्म पौष्टिक आहारको प्रयोग सम्बन्धी जानकारी दिन मह उत्सव गर्न लागेका हौँ,’ कार्यालय प्रमुख रेग्मीले भने ‘यसले महको उत्पादनदेखि बजारीकरणलाई समेत महत्वपूर्ण भूमिका खेल्दछ ।’
कार्यालयले गत वर्ष हात्ती महोत्सवमा पहिलो मह उत्सवको आयोजना गरेको थियो । त्यहाँ कार्यक्रम सफल भएपछि यसपटक रत्ननगर महोत्सवमा महको उत्सव गर्न लागिएको हो । मह उत्सवमा प्रवेश गर्ने व्यक्तिलाई निःशुल्क मह चाख्ने व्यवस्था समेत गरिने उनले जानकारी दिए ।
यस कार्यक्रमलाई कालिका नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र नेपाल मौरीपालक महासंघले सहकार्य गरेका छन् । चितवनमा छ सयटनको हाराहारीमा मह उत्पादन हुँदै आएको छ । यहाँ पाँच सय ५० जनाको हाराहारीमा किसान रहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएर किसानहरु चिन्तित हुने गरेका छन् ।
प्रकाशित: १४ पुस २०८२ १६:४७ सोमबार





