मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँँदा १४ जना नेपाली सम्पर्कविहीन भएका छन। हिमपहिरोमा परेर दुईजनाको ज्यान गएको छ।
नार्पाभूमि गाउँपालिका–५, फू मा पर्ने ७ हजार १ सय २६ मिटर अग्लो हिमलुङ हिमाल आरोहण लागि आएका विदेशीका लागि अग्रिम तयारी गर्न गएको नेपाली गाइड र सहयोगीको समूह हिमपहिरोमा परेको हो। आइतबार राती साढे १ बजेतिर आएको हिमपहिरो उनीहरु बसेको क्याम्पमा बजारिएको थियो। मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन सारु मगरका अनुसार समुन्द्री सतहदेखि ५ हजार मिटर उचाईमा उनीहरु हिमपहिरोमा परेका हन्। मगरका अनुसार विदेशीको आरोहणको तयारीका लागि दुईवटा समूहमा २७ जना नेपाली सहयोगी त्यहाँ पुगेका थिए। एउटा समूहमा २१ र अर्काे समूहमा ६ जना गरि २७ जना रहेको उनले बताए।
‘हाम्रो जानकारीमा आए अनुसार दुईवटा समूहमा २७ जना थिए। ती मध्ये १४ जना सम्पर्कविहीन भएको जानकारी पाएका छौं,’ मगरले भने, ‘दुईजनाको मृत्यु भएपनि पहिचान भएको छैन।’ उनका अनुसार हराएका व्यक्तिको खोजी र उद्दारका लागि हेलिकप्टर गईसकेको छ। आधारशिविरमा रहेका केही सहयोगीहरु तल फर्किसकेका छन।
उनका अनुसार आरोहणको तयारीका लागि गएको टिमले व्यस्थापनको सबै काम सकेर शनिबार नै फर्किने तयारी थियो। तर, मौसम अनुकुल नभएपछि उनीहरु रोकिएका थिए। आइतबार मात्र फर्किने तयारी गरेको बेला एकाबिहानै आएको हिमपहिरोको मारमा परेको उनले बताए।
मगरका अनुसार हिमलुङ हिमाल आरोहणका लागि विदेशीको समूह आउँदै रहेको र उनीहरुको बसोबास तथा खानपिनका लागि नेपाली सहयोगीको टिम अग्रिम रुपमा त्यहाँ पुगिसकेका थिए। तिनै सहयोगीमध्ये १४ जना हिमपहिरोमा परेको उनले बताए। ‘आरोही पुग्नु अगावै सहयोगीहरु त्यहाँ पुगेर क्याम्प खडा गर्ने र डोरी लगाउने लगायतको तयारी गर्छन। खानपिनको व्यवस्थापन देखि आरोहणका लागि आवश्यक अरु प्राविधिक तयारी पनि उनीहरुले नै गर्ने हुन। तिनै समूहका नेपाली हिमपहिरोमा परेको जानकारी पाएका छौं,’ उनले भने।
नार्पाभूमि गाउँपालिका–५ का वडासचिव विवेक देवकोटाका अनुसार हिमालयन होलिडेज कम्पनिबाट गएका २१ जनामध्ये १२ जना सम्पर्कविहीन छन्। त्यही समूहका २ जनाको ज्यान गएको छ। त्यस्तै अर्काे कम्पनि इमेजिन नेपालबाट गएका ६ जनामध्ये २ जना हराएका छन्। हिमालयनका ७ र इमनेजिन नेपालका ४ गरि ११ जना नेपाली सहयोगी सकुशल तल ओर्लेका छन्। उनीहरु बिहान ७ बजे घटनास्थलबाट हिडेर बेलुकी ७ बजे वडा कार्यालयमा आएका थिए। तीनघन्टाको बाटो भएपनि हिमपात र कठिनाईका कारण उनीहरु वडा कार्यालयसम्म ओर्लिन झन्डै १२ घण्टा समय लागेको उनले बताए। सकुशल फर्केका ११ जना अहिले होटलमा बसिरहेका छन्।
प्रकाशित: ११ आश्विन २०८३ २०:३२ आइतबार





