१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

जस्तोसुकै बाढीमा पनि सुरक्षित रहने बुद्ध मुर्ति

नारायणगढस्थित नारायणी नदी किनारमा रहेको बुद्धको मूर्ति पर्यटकीय आकर्षणको केन्द्र मात्रै होइन । पछिल्लो समय नारायणी नदीको जलस्तर मापन गर्ने एउटा अनौपचारिक ‘सूचक’ समेत बनेको छ । नारायणीमा पानीको बहाव र सतह कति बढ्यो भन्ने जान्न स्थानीयवासीले यही बुद्धको मूर्तिलाई हेर्ने गरेका छन् । तर त्यो जलमापन केन्द्र भने होइन ।

नारायणगढका सूनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले २०७२ सालमा निर्माण गरेको मूर्ति हो । मूर्ति बनाइएको स्थानमा ब्रिटिसले डुङ्गा तार्न बनाईएको खम्बा थियो । सोही स्थानबाट पुल बन्नुभन्दा अगाडि सवारी साधान वारपार गर्नका फेरी राखिएको थियो । पुल बनेपछि त्यहाँ बुद्धको सानो मूर्ति थियो । घरिघरी भत्किने भएपछि शाक्यले बुद्धको ठूलो मूर्ति बनाएका हुन् ।  

‘फेरी तार्ने खम्बामा सानो मूर्ति थियो । त्यो राम्रो भएनन भन्ने कुरा उठिरह्यो । तपाईले बनाउनु भन्ने धेरैले अनुरोध पनि गरेँ,’ उनले भने ‘त्यसपछि यो मूर्ति बनाएको हुँ ।’  यस मूर्तिसम्म प्रत्येक वर्ष नारायणीको पानी आउँछ । त्यस वरपरका अन्य संरचना बगाएपनि त्यो मूर्ति भने बगाएको छैन । शाक्यका अनुसार त्यो मूर्ति ३७ फिट लामो छ । ‘जमिनमूनि २० फिट गहिरो गाडिएको छ  जमिन माथि १६ फिट अग्लो छ’, उनले भने । त्यो मूर्तिको टाउकोसम्म आयो भने नारायणगढ बजार नै डुबाउने उनको दाबी छ ।  

‘मूर्तिको कमलको फूल (पिर्का)भन्दा माथि आयो भने खतरा घण्टी हो । बुद्धको टाउकोसम्म आयो भने नारायणगढ डुब्छ,’ उनले भने ‘यस मूर्तिमा कमलको फूल भएको भागसम्म पानीको सतह आयो भने देवघाटमा रहेको जलमापन केन्द्रमा खतराको तह पार गरेको हुन्छ ।’ यसपटक बुद्धको घाँटीसम्म पानी आउँदा उद्योग वाणिज्य संघपछाडिको रोडसम्म पानी पसेको उनले बताए । मूर्तिलाई ढाक्नेगरी नदी आएमा नारायणगढ बजारमा आउने उनले बताए ।  

त्यहाँ उनले मूर्ति मात्र बनाएका छैनन् । मूर्तिको आडमा चौतारा समेत निर्माण गरेका छन् । चौतारामा वर, पिपल र स्वामीको बिरुवा उनले सारेका छन् । मूर्तिसहित सबै निर्माण गर्दा एक करोड ५० लाख रुपैयाँ खर्च भएको उनले बताए ।  

‘पहिला एक करोड १५ लाख खर्चिएर मृर्ति मात्र बनाए । पाँच वर्षअघि आएको बाढीले मूर्तिमा क्षति गर्‍यो । मर्मत गर्ने बेलामा चौतारा पनि बनाए । त्यतिखेर ३५ लाख खर्च भयो’, उनले भने । मूर्ति मात्र भएको स्थानमा पिपलको बोट सारेको उनले बताए । ‘सपनामा कसैले मूर्तिको बोट सार्नुभन्यो । त्यसपछि साथीभाईको सल्लाहामा वर, पिपल र स्वामीको बिरुवा समेत ल्याएर सारेको हुँ,’ उनले भने ।

बुद्धको मूर्तिको आडमा केही वर्ष अगाडि हात्तीका मूर्ति समेत थिए । २०८१ सालमा आएको बाढीले बगाएको थियो । त्यस स्थानमा चौतारा लगायतका संरचना बनेपछि नाराणगढ तर्फ बाढीले खोलेको कतिपयले बताउने गरेका छन् ।

प्रकाशित: ११ आश्विन २०८३ २०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App