दुई दशकअघि पतिको साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने अभिभारा उनमा आयो। छोरी सलमा खातुन काखमै थिइन्। त्यतिबेलै उनका पिताले यस दुनियाँबाट बिदा लिए। सलमासहित ६ जना छोराछोरीको लालनपालनको भार मुनीमाथि पर्यो। जनकपुरधाम नगरपालिका–४ की मुनी खातुनका लागि आफू सम्हालिएर बच्चा हुर्काउनु उति सजिलो थिएन।
अक्षर र किताबसँग भेट नभएकी उनलाई कलिला बालबच्चा लालनपालन गर्न कुनै उपाय फुरेन। एक महिनाजति पिताको घरमा आश्रय लिएर जसोतसो मन थामेर आफूलाई सम्हाल्ने कोसिस गरिन् उनले। त्यसपछि उनी लागिन् रोजगारीको खोजीतर्फ। अलिक दिन मजदुरी गरिन्। तर भारी काम गर्न उनको शरीरले साथ दिएन।
उनी मजदुरीको काममा धेरै समय टिक्न सकिनन्। बेकामे बस्दा घरखर्च चलाउन मुस्किल भयो। अब के गरेर बालबच्चाको जीवन धान्ने भन्ने चिन्ताले रन्थनिइन् उनी। त्यही बीचमा उनको दिमागमा एउटा उपाय फुर्यो। राजमिस्त्री पिताका कारण छिमेकी अजित साहसँग घनिष्ट सम्बन्ध थियो खातुन परिवारको।
मुस्लिम समुदायको भए पनि अजितको परिवारसँग खातुन परिवारको राम्रो हिमचिम थियो। हिन्दुहरूको पर्वमा खातुन परिवार निम्ता मान्थे। मुस्लिमको पर्वमा साह परिवार खातुनको घर निम्ता मान्न पुग्थे। साह जनकपुर आर्ट एन्ड क्राफ्टका प्रबन्ध निर्देशक हुन्। कलामा जोडिएका कारण साह जातपात, सम्प्रदायको घेराभन्दा अगाडिको सोच राख्छन्। त्यसैले सामाजिक हिसाबले दुई फरक सम्प्रदाय र धर्म मान्ने यी दुई परिवारबीचको पारिवारिक सम्बन्ध फराकिलो थियो।
दुई दशक अघिदेखि नै खातुन र साह परिवार धार्मिक पर्वमा एकअर्काको घरमा निम्ता मान्न पुग्थे। यही घनिष्टताले आज मुनी खातुनलाई ६ वटा बच्चा हुर्काएर आत्मनिर्भर बनाउन सकेको छ। मिथिला आर्टको क्यानभासमा आफ्नो नाम चम्काउन सफल मुनीले नागरिकसँग भनिन्,
‘मुना बौबा (अजित) ले हौसला नबढाएको भए म कहाँ हुन्थें, मेरा बालबच्चा कहाँ हुन्थे, थाहा छैन ?’ अलमलिएर बसेकी मुनीलाई उनका पिताले अजितको कला केन्द्रतर्फ डोर्याइदिए।
मुनीलाई काकी (अन्टी) सम्बोधन गर्ने अजितले उनको हातमा ब्रस थमाइदिए। ब्रस समातेर कलाको क्यानभास स्पर्श गर्नेबित्तिकै आँसुले पाना भिज्थ्यो। तर, पछिबाट अजितले हौसला बढाउँदै आँसु पुछिदिन्थे। त्यो क्षण सम्झिँदै मुनी भन्छिन्, ‘१५ दिनजति लाग्यो ब्रसमा रङ चोपेर क्यानभासमा जीवन्त कला उतार्न।’
उनले आफ्नो कलामा निखार ल्याउन दिनरात मिहिनेत सुरु गरिन्। काममा लगन र दृढ अठोट भएपछि गर्न नसकिने केही छैन। उनले अनवरत मिथिला कला क्यानभासमा उतार्दै गइन्। यो काम गर्दा उनलाई पत्तै भएन मुस्लिम समुदायमा जीवन्त कला कर्म गर्न बन्देज छ भनेर।
जब उनको लगनले कलामा निखार आउन थाल्यो समुदायबाट यो कलाकर्मबाट पछि हट्न दबाब सुरु भयो। तर, उनले हरेस खाइनन्। समुदायलाई सम्झाउँदै उनी आफ्नो कलाकर्ममा लागिरहिन्। धर्मगुरुलाई आफ्नो बाध्यता बताउँदै आफूले गरेको कामबारे सम्झाउन थालिन्।
के पेटका लागि गरेको काम गुनाह (अपराध) हो ?’ मौलानाहरूसँग उनले प्रश्न गर्थिन्। पछि मौलानाहरू पनि मुनीको तर्कमा सहमत हुँदै गए। उनी सम्झिन्छिन्, ‘पछि मौलानाहरू पनि हौस्याउन थाले काम गरेर बच्चा हुर्काउनु कुनै गुनाह होइन।’
हौसलाका साथ लगनशील भएर मिथिला पेन्टिङमा दुई दशकदेखि जोडिएकी मुनी यही पेसाबाट कमाएर ६ वटी छोरीको विवाह गर्न सफल भएको बताउँछिन्। ‘अब त छोराछोरीजस्तै यो कलाको माया लाग्छ,’ उनले भनिन्। उनले कोरेका कला अहिले विश्वबजारमा बिक्री हुन्छन्। ‘विश्वभरका धनीमानीहरूका घरका भित्तामा मेरा कला झुन्डिएका छन्,’ उनी भन्छिन्, ‘मिथिला कलाले मेरो परिवार मात्र सम्हाल्ने अवसर जुराइदिएन, मलाई गर्वको अवसर पनि जुराइदियो। कलाले हिन्दु मुस्लिम भनेर दूरी बढाउने काम नगर्ने उनी बताउँछिन्। भन्छिन्, ‘कलाले सबै धर्म, संस्कृति र संस्कारलाई जोड्ने काम गर्छ।’
मिथिला कला उत्कृष्ट भएको उनको बुझाइ छ। ‘मिथिला सभ्यता, रहनसहन, जीवनशैलीलाई चित्रका माध्यमले प्रस्तुत गर्ने कला कसरी धार्मिक घेरामा खुम्चिन सक्छ ?’ उनी प्रश्न गर्छिन्। उनी भन्छिन्, ‘मिथिला कला क्षेत्रको सभ्यताभित्र सबै धर्म र जाति समेटिएका छन्।’
पहिचान मिथिला आर्ट
मिथिला क्षेत्रको घरआँगनको शृंगारका लागि कोरिँदै आएको मिथिला कलाले विश्व बजार मात्र पाएको छैन, मिथिलवासीको पहिचानसमेत स्थापित गरेको छ। अहिलेको नेपाल र भारतको नक्सामा मिथिला राज्य भेटिँदैन। तर इतिहासमा भारतको उत्तरी बिहारदेखि नेपालको तराईसम्म मिथिला राज्य थियो। जनकपुर राजधानी रहेको मिथिला बौद्धिक, सांस्कृतिक र कलाको दृष्टिले अग्रणी मानिन्थ्यो। पहिला माटाका घरले भरिएको मिथिला क्षेत्र अहिले पक्की घरको स्वरूपमा लम्किँदै छ। ‘तर पनि मिथिला क्षेत्रले आफ्नो छवि गुमाइसकेको भने छैन,’ जनकपुर आर्ट एन्ड क्राफ्टका प्रबन्ध निर्देशक अजित भन्छन्, ‘कुनै समय जातिविशेषमा सीमित मिथिला आर्ट अहिले विश्वभर फैलिँदै छ।’
मिथिला आर्टमा नयाँ प्रयोग
चाडपर्व वा विवाहलगायत उत्सवमा आँगन र भित्तामा कोरिने मिथिला आर्ट अहिले लोक्ता (नेपाली कागज), कपडा र क्यानभासमा पनि उतार्न थालिएको छ। ‘पहिले घरगाउँकै सजावटमा चित्र बनाउने चलन थियो,’ अजित भन्छन्, ‘अहिले प्रयोग बृहत् बन्दै गएको छ। कोरोना महामारीले मास्कको प्रयोगलाई व्यापक बनाएको छ। मास्कमा समेत हामीले मिथिला आर्टलाई उतारेका छौं।’
आँगन र पर्खालमा बुट्टा कोर्ने काममा प्रायः महिला सरिक हुन्थे। तर, यो शृंगारिक कलालाई लोक्ता वा क्यानभासमा उतार्न थालेयता महिला–पुरुष दुवैको सहभागिता बराबरीजसो छ। गाउँघरमा अझै पनि महिलाहरूले नै कोहबर, बाँस, लट्पटिया सुगा, विधि–विधाता आदि विषयमा कला कोर्ने गरेका छन्।
पछिल्लो समय मैथिल मूलबाहेकले पनि मिथिला कलामा रुचि देखाउन थालेका छन्। ‘मैथिल कलामाथि नयाँ पुस्ताले नयाँ–नयाँ प्रयोग गरिरहेका छन्,’ अजित भन्छन्, ‘कतिले त आधुनिक कलालाई पनि मिथिलासँग संयोजन गरी नयाँ कला निर्माण गरिरहेका छन्।’ मिथिला कलाको बजार बढेसँगै कलाकारले पनि ‘एक्स्पोजर’ पाइरहेका छन्। देश–विदेशमा मिथिला कला प्रदर्शनी हुन थालेको छ। कला र कलाकार एक अर्काका पर्यायवाची हुन्। कुनै पनि लोक कलालाई परम्परादेखि आत्मसात् गर्दै वर्तमानसम्म जगेर्ना गर्नुमा कलाकारको प्रमुख र महत्वपूर्ण भूमिका हुन्छ। कलाकारबिनाको कला झाँगिदैन भने कलाविहीन भएर कलाकारमा निखार एवं जीवन्तता पनि आउन सक्दैन। कला कलाकारको आत्मा हो। आत्माका लागि मनले गरिएको निरन्तर र अथक प्रयासले सुखानुभूति र सार्थकता पाउने गर्दछ। यस्तै प्रख्यात लोककला ‘मिथिला कला’ लाई देश विदेशसम्म प्रदर्शित गर्दै गरेको प्रयत्नशील कलाकार हुन् अजित।
मिथिला कलालाई रङको छिटाले कोर्दै मौथिली संस्कार र संस्कृतिलाई विश्वसामु चिनाउँदै गरेका आर्टिस्ट अजितको जन्म २०२४ सालमा जनकपुरमा भएको हो। विगत ३७ वर्षदेखि मिथिला पेन्टिङ गर्दै आएका उनले कलामा औपचारिक शिक्षा लिएका छैनन्। शिल्पी–दक्षता र सिर्जना–क्षमताले अटुट भरिएका अजितले अग्रज र आमाको कार्यलाई पछ्याउँदै आफूलाई यो कलामा पोख्त पारिसकेका छन्। मिथिला कला विश्वकै उत्कृष्ट र प्राचीन कला हो। त्रेतायुगमा राजा जनककी पुत्री सीताको स्वयंवर र विवाहबाट यस लोककलाको प्रादुर्भाव भएको मान्यता छ। विशिष्ट शैली मानव जीवनको सम्पूर्ण आयाम र रीतिरिवाजलाई रङ र रेखाको फरक प्रस्तुतिसँगै चित्रण हुने मिथिला लोककलालाई सम्पूर्ण र शिष्ट कला पनि भन्ने गरिन्छ। मैथिली चाडपर्व, संस्कार, रीतिरिवाज, रहनसहन, भोज, खानपान, जन्म, विवाह, व्रतबन्ध, कोहबरलगायत मृत्युसम्मका हरेक गतिविधिलाई क्यानभासमा, भित्तामा वा भौतिक वस्तुमा सहजै गहन तरिकाले आकर्षक एवं मनमोहक ढंगले कोरिने कला हो, मैथिली लोककला।
मैथिली कलालाई भावनात्मक कलासँगै जोडेर हेर्ने गर्छन् कलाकार अजित। उनका अनुसार रङको प्रयोग हुँदै आएको मिथिला कलामा आजभोलि हल्का र कोमल रङको संयोजन अधिकतर हुन थालेको छ। मिथिला कलालाई विश्वभर चिनाउने क्रममा उनले हालसम्म विश्वका करिब दुई दर्जन देशमा झन्डै ५० एकल र योभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसकेका छन्।
नेपाली बजारमा ४० प्रतिशत खपत हुने मिथिला पेन्टिङ विश्वबजारमा ६० प्रतिशतसम्म खपत हुन्छ। महिलाको प्रसव वेदनाजस्तै चित्र कोर्दा हुने गर्दछ र तत्पश्चात् हर्षको बोध। प्रत्येक चित्रलाई गहन र सूक्ष्म तरिकाले कोर्ने बानी भएको बताउँछन् कलाकार अजित। पेन्टिङ गर्दा समयसीमाको हेक्का र ख्यालै नहुने उनी बताउँछन्। पेन्टिङको गहिराइ, रङको संयोजन, रेखाबीचको तालमेल र साइजअनुसार एउटा चित्र कोर्न कयौं दिनरात लाग्ने गर्दछ भने कुनै चित्र दुई÷तीन घण्टा वा रातभरमै तयार हुने गर्दछ।
सानैदेखि चित्रकारिता गर्दै आएका अजितले कहिले युवा अवस्था र जवानी आयो गयो भन्ने पत्तै पाएनन्। कामको व्यवस्तता र व्यवसायीकरणले फुर्सत पाउनै गाह्रो भएको उनको भनाइ छ। ‘जनकपुर आर्ट एन्ड क्राफ्ट’ नामक संस्थामार्फत करिब चार दर्जनलाई जनकपुरमै रोजगारीको अवसर सिर्जना गराएका छन् अजितले। थुप्रै बालबालिका र युवालाई प्रेरित गर्ने कलाकार अजितले उनीहरूलाई प्रशिक्षण पनि दिने गर्दछन्। उमेरले ढल्किँदो अवस्थामा रहे पनि चित्र कोर्ने उनको ग्राफ उत्कर्षमा छ।
आफ्ना माता र पिताको इच्छाविपरीत यस क्षेत्रमा लागेका अजित आफ्नो कार्यबाट सन्तुष्ट छन्। नाम र दाम दुवै कमाउन सफल उनले नेपाल सरकारबाट अनेकौं उपाधिसमेत पाइसकेका छन्। राष्ट्रिय प्रतिभा पुरस्कार २०६३, लोककला प्रतिभा पुरस्कार २०६९ (नाफा), लोककला विशेष पुरस्कार २०७१ (नाफा), साना हस्तकला प्रथम पुरस्कार २०६२, उत्कृष्ट उद्यमी पुरस्कार २०६३, २०६४ र २०६६, साना हस्तकला लगायत अनेकौं घरेलु पुरस्कार र उपाधि जितेका छन्। १७औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०१९ मा मिथिला रत्नको उपाधि जित्न सफल आर्टिस्ट अजितले अन्तर्राष्ट्रिय जगतमा पनि अनेकौं उपाधि र पुरस्कार जित्न सफल भएका छन्।
उपाधि र पुरस्कारले थप ऊर्जाका साथै साहस प्रदान गरेको अनि भविष्यमा मिथिला कलामार्फत निरन्तर आफ्नो प्रयासलाई जारी राख्ने लक्ष्य रहेको बताउँछन् कलाकार अजितकुमार साह।
अजितले बनाएको मिथिला पेन्टिङ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनदेखि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा झुन्डिएको छ। एक दशकअघि अमेरिकी राजदूत आएर क्लिन्टनका लागि ४ वटा मिथिला पेन्टिङ किनेर लगेका थिए। प्रतिपेन्टिङ १० हजार रूपैयाँमा बिक्री भएको अजितले बताए।
क्लिन्टनलाई दिएका ४ वटा चित्रमध्ये एउटा चित्रमा मिथिलाको परम्परागत रूपमा ढिकी कुट्ने, धान कुट्ने, च्युरा कुट्ने चित्र थियो भने दोस्रो चित्रमा मिथिलाका पर्वहरू छठ, झिझिया, सामा चकेबालगायतको चित्र बनाइएको अजित बताउँछन्। तेस्रो चित्रमा अरिपन, कोहबर, गहबा संक्रान्ति र चौथोमा गोदनाको चित्र बनाइएको उनले सम्झे।
नेपालका प्रधानमन्त्री ओलीको कार्यालयमा रहेको मिथिला पेन्टिङमा मिथिलाको जीवनशैली, पूर्वप्रधान मन्त्री माधवकुमार नेपालको घरमा रहेको पेन्टिङमा छठको चित्र, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा मिथिला ट्रे र दैनिक जनजीवनको चित्र झुन्डिएको अजित बताउँछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयमा झुन्डिएको चित्रकलामा मिथिलामा महिलाले लगाएको घुम्टो र मर्यादा तथा लज्जालाई चित्रमा दर्साइएको उनले बताए।
प्रकाशित: १८ माघ २०७७ ००:३७ आइतबार