८ वैशाख २०८१ शनिबार
समाज

इजरायल जान खोज्नु भएको छ ? दलालको आश्वासनमा फस्नुहोला

झापाका एक एजेन्टलाई दश लाख बुझाउने सहमति पश्चात रुबिना शर्मा (नाम परिवर्तन) हाल काठमाडौंमा ईजरायल जाने बाँकी प्रकृयाका लागि आएकी छन्। उनले यहाँ हेब्रु भाषा र अन्य केहि शीपको तालिम लिइरहेकी छन्। एजेन्टले उनलाई ईजरायलमा कम्तीमा माहिनाको दुई लाख र अतिरिक्त समयमा पनि काम गरे तीन साढे तीन लाख जति कमाई हुने बताएका छन्। जानु अघि खर्च हुने त्यो दश लाख त केहि पनि नभएको भन्दै सुर्ता नमान्न ढाडससमेत एजेन्टले दिएपछि उनलाई सन्तोष भएको छ। ३२ वर्षिया रुबिनाले आफु इजरायल जान लागेको र त्यसको प्रक्रिया निकै उत्साहि हुँदै आफ्नी एक साथीलाई सुनाईन्। नागरिकको सम्पर्कमा आएका ति व्यक्तिबारे थप सोधखोज गरियो। तर जब धेरै प्रश्न सोध्न थालीयो, रुबिनाले मुख बन्द राख्न चाहिन्।  

नयाँ बानेश्वरको संसद भवन हल पछाडि रहेको छ बिन्दबासीनी इन्सिच्युट। रुबिना जस्ता वैदेशिक रोजगारमा जान ईच्छुकहरुका लागि आफुले सक्दो सहयोग गर्ने र आफु अव्वल दर्जाको सरकारी मान्यता प्राप्त संस्था रहेको यसका संचालकले बताउने गर्छन्। ईजरायलका लागि केयरगिभर लग्ने संभावनाको कुरा भएदेखिनै यहाँ धेरै चहलपहल छ। सरकारले पाँच सय जनालाई केयरगिभरका रुपमा ईजरायलको अनुमति दिँदैछ। विन्दवासीनी इन्सिच्युटमा मात्रै सयभन्दा बढी तालिममा लागि आइसकेका छन्। दिनमा करिब दुई घण्टाको तीन महिने तालिमका लागि अठार हजार पाँस सय बुझाउनुपर्ने यहाँ बताईन्छ। झलक्क हेर्दा यो बिल्कुल जायज देखिन्छ। तर बन्द कोठाभित्र भने गोप्य सहमति हुने गर्छ। रुबिना पनि आफ्ना एजेन्टले सुझाए बमोजिम यहिँ आइपुगेकी छन् , यस्ता थुप्रै अन्य ट्रेनिङ सेन्टरहरु शहरमा छन्। जो विदेश पठाउने 'ग्यारेन्टी' लिएर बसेका छन्।

आफुलाई राजेश अर्याल र विन्दबासिनी इन्सिच्युटको ईन्चार्ज बताउँदै उनले भने 'यो तीन महिनाको ट्रेनिङ महत्वपूर्ण छ। यहाँबाट सिटीईभिटीको र्सटीफिकेट पनि मिलाईदिने भएकाले प्रशीक्षार्थीका लागी थप आर्कषक छ। तर त्यतिले मात्रै इजरायल जान मिल्दैन।  

एकातिर सरकारी पहल, अर्कातिर दलालको आश्वाश्ता, यसबीच रुबिनालाई भने यो कत्ति पनि थाह छैन कि कसको भर पर्ने हो, भोली छनोट प्रकृयामा सरकारको हात माथी हुनेछ वा दलालको।  

सरकार मार्फत जाने भएकाले कर्मचारीलाई पनि हातमा लिनु पर्ने उने दावी गरे। घुस विना काम नहुने भन्दै त्यसको पनि व्यवस्था गर्नु पर्ने उनको भनाई छ। 'नेपाल सरकारका कर्माचारी हुन् , घुसबिना काम हुँदैन हेर्नुस्। दश बाह्र लाख त लागिहाल्छ, हामीले मात्रै लिने हैन, सबैतिर पुर्याउँदा त्यो भन्दा कममा त हुँदैन', उनले ढुक्कले भने, 'तर भीसाको ग्यारेन्टी नभई हामी पैसा लिंदैनौं, जाने पक्का भएपछि मात्रै लिने हो।'

वास्तममा उनले नागरिकको फोनलाई कुनै ईजरायल जान खोजको मान्छेको आफन्त भन्ठानेर बोलिरहेका थिए। 'कसरी जाने होला, हाम्रा पनि मान्छे थिए' भनेपछि उनले खास तरिका भन्दै माथिका कुरा बताएका थिए। उनले आफुलाई इमानदार देखाउन थप भने, 'जो एजेन्टहरुले उता जान मिलाईदिन्छु भन्दै अहिल्यै पैसा असुल्न थालेका छन् , ती ठगहरु मात्रै हुन्। तेस्ताको चंगुलमा फस्न हुन्न।'  

अझ उनले थपे,  'हामी सरकारी मान्यता प्राप्त संस्था हौं, जो पायो त्यहिलाई कसैले पैसा बुझाउँछ, त्यो पनि सरकारको आधिकारीक समाचारै राम्ररी नआउँदै। हेर्नुस् त्यो त कुनचैं बकम्फुसेलाई बुझाए होला। तपाईंको मान्छेलाई यहाँ पठाउनुस्, हेरौंला।' अन्त्यमा उनले भने 'जसले बढी पैसा बुझाउन सक्यो उड्ने त त्यहि हो, दश घटी त हुँदै हुँदैन।'

यस बारेमा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले दु:ख व्यक्त गरिन्। नागरिकसँग फोनमा यस्ता केहि आपत्तिजनक विज्ञापन फेसबुकहरुमा देखेर प्रहरीलाई खबरसमेत गरेको उनले बताइन्।  

'टिकटको पैसा लाग्छ, अन्य केहि सेवा सुविधाका लागि लाग्छ, नत्र कसैले कहिँ एक रुपैयाँ पनि बुझाउन भएन। यो जि टु जि अन्तरर्गत भएकाले यहाँ एजेन्टको कुनै रोल नै छैन', शाक्यले भनिन्, 'पहिले पनि यस्तै नचाहिँदो कुराले ईजरायलमा काम गर्ने नेपालीले दु:ख पाए, संझौतानै रोकियो। अहिले भर्खर शुरु भएको छ, यहाँको रोजगार नेपालीको रोजाईमा पर्छ, यसलाई यसरी विवादित बनायो भने हाम्रो छवि पनि विग्रन्छ, रोजगार उपल्ब्ध गराउने सबै मेहनत खेर जान्छ।'  

देशको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ। आफ्नै ठाउँमा रोजगार सिर्जना गर्न नसक्दा लाखौं नेपाली युवाहरु विदेशी भूमीमा पसिना चुहाउन बाध्य छन्। ईजरायलमा वृद्ध वृद्धाको रेखदेख गर्ने केयरगीभरको काम निकै कठिन मानिन्छ। तर महिनामा करीब दुई लाखको कमाई हुने भएकाले यो उत्तिकै आर्कषक पनि मानिन्छ। पाँच सय जना केयरगीभरका लागी हजारौंले आवेदन दिने भएकाले अर्यालहरु जस्ता एजेन्टहरु र विन्दवासीनीजस्ता संस्थाहरु सलवलाउनु स्वभाविक हो। सरकारी संयन्त्रलाई साथमै रहेको बताउने उनीहरुको कुराले छनोट प्रकृया कति निष्पक्ष र स्वतन्त्र होला यसै भन्न सकिन्न।

'कथित' एजेन्टहरुले झुठो प्रचार गरिरहेका बताउँछन् वैदेशिक रोजगार विभागका प्रवक्ता टीकामणी न्यौपाने। इजरायल जानेहरुका लागि एजेन्ट लगाउनु पर्ने कुरामा बिल्कुलै सत्यता नरहेको र विदेश जान चाहनेहरु आफुले  पनि राम्ररी सोधखोज गरी सरकारी विधि, प्रृक्रयामात्रै पछ्याउन उनले सुझाए।  

'पढेलेखेकै मान्छे जाने हुन्, त्यस्ता एजेन्टहरुको हातमा पर्न भएन। केही रकममा लागि यसरी चलखेल गरियो भने सोच्नुस् त हामी बच्छम् होला ? भोली कार्वाही हुँदैन। भोली उसले मुख खोल्दिदैन ? आफ्नो जागिर, ईज्जत यतिकै लागि हो ? ', उनले प्रश्न गरे।  

एकातिर सरकारी पहल, अर्कातिर दलालको आश्वाश्ता, यसबीच रुबिनालाई भने यो कत्ति पनि थाह छैन कि कसको भर पर्ने हो, भोली छनोट प्रकृयामा सरकारको हात माथी हुनेछ वा दलालको।  

 

प्रकाशित: १६ माघ २०७७ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App