२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीले भने- जुरुक्क उठेर धोबि पछार्छौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि महाभारतको युद्धमा अभिमन्यूलाई जस्तै चौतर्फी घेराबन्दी गरेर हमला गरिएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले महाभारतको प्रसङ्ग कोट्याउँदै एमालेलाई पनि कलिलो अभिमन्यूलाई जस्तै चक्रव्यूहमा पारेर युद्धका नियमविपरीत प्रहार गरिएको टिप्पणी गरे।

उनले भने, ‘महाभारतको युद्धमा कलिलो अभिमन्यूलाई चक्रव्यूहमा पारेर धेरै महायोद्धाहरूले एकैसाथ आक्रमण गरेर, लडाइँ र युद्धका नियमहरू सबै तोडेर हमला गरेका थिए। अहिलेको एमालेमाथि पनि त्यस्तै हमला भएको छ।’

तर, अहिलेको एमाले द्वापर युगको कलिलो अभिमन्यू नभएको जिकिर गर्दै उनले एमाले अनुभवी र बलियो शक्ति भइसकेकाले यस्ता चक्रव्यूहलाई तोडेर अघि बढ्न सक्षम रहेको दाबी गरे।

‘नेकपा एमाले द्वापर युगको कलिलो अभिमन्यू होइन, यो अनुभवी र बलिष्ठ भएर हुर्किसकेको एमाले हो। यस्ता चक्रव्यूहहरूलाई कच्याककुचुक पारेर, तोडेर एमाले अघि बढ्छ,’ उनले भने।

विगतमा २०७३ साल र २०७८ सालमा पनि घेराबन्दी गरेर एमालेलाई सरकारबाट हटाइएको तर एमाले पुनः फर्किएको इतिहास उनले स्मरण गराए।

एमाले कहिलेकाहीँ पछि परे पनि हरेस नखाने बताउँदै उनले विपक्षीलाई चेतावनी दिए, ‘नेकपा एमाले पछारिँदै नपछारिने होइन, तर कहिलेकाहीँ पछारिन्छ र जुरुक्क उठ्छ अनि फेरि धोबि पछार्छ।’

प्रकाशित: २० मंसिर २०८२ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App