coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दण्डहीनताले दोहोरियो अपराध

सम्झनाको बलात्कार–हत्यामा संलग्न राजेन्द्रको अर्को बलात्कारको पोल खुल्यो

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले २६ महिनाअघि राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय चर्चा पायो । अपराधीलाई कारबाहीको माग राखी देशैभर प्रदर्शन भयो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो । उक्त घटनाको दोषी पत्ता लगाउन सायद सबैभन्दा बढी छानबिन समिति गठन भएर अनुसन्धान पनि गरियो । तर निर्मलाको बलात्कार गरेर हत्या कसले गरेको भन्ने अझै खुल्न सकेको छैन ।  

२०७५ साउन १० गते बिहान निर्मला गृहकार्य गर्न साथी रोशनी बमको घर गएकी थिइन् । त्यही दिन हराएकी उनको शव ११ गते बिहान नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा फेला प-यो । यो घटनाको अपराधीलाई अझै पनि प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको छैन । यसैबीच फेरि अर्को एउटा बीभत्स घटनाले सबैलाई दुःखी र आक्रोशित बनाएको छ । सुदूरपश्चिमकै बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको कहालीलाग्दो घटना सार्वजनिक भयो ।  

बझाङ मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ । यस घटनामा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोराले नै बलात्कारपछि बालिकाको हत्या गरेको प्रमाण भेटेको प्रहरीले जनाएको छ । राजेन्द्रले यसअघि पनि अर्की एक बालिकालाई बलात्कार गरेको समेत खुलेको छ ।  

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ ।  

उनले साउन २९ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेपछि बालिकामा गर्भ रहेमा स्विकार्ने सर्तमा गाउँमै मिलापत्र गरिएको थियो । बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गरेर उन्मुक्ति पाएकै कारण राजेन्द्रले १२ वर्षीया सम्झनालाई बलात्कारपछि हत्या गरेको प्रहरीको ठम्याइ छ । ‘हामीले अनुसन्धान गर्दा राजेन्द्रले नै सम्झनालाई बलात्कारपछि हत्या गरेको खुलेको छ’, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले भने, ‘बालिकालाई बलात्कार गरेको घटनामा समाजमै मिलापत्र भएपछि अर्को अपराधका लागि अपराधीलाई दुरुत्साहन मिलेको देखियो ।’ उनले गर्भ रहेमा स्विकार्ने सर्तमा गाउँमै मिलापत्र गरेको कागजपत्र फेला परेको जानकारी दिए । ‘बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गर्ने गलत काम समाजले गरेछ’, उनले भने, ‘समाजले मिलापत्र गरी घटना गुपचुप राख्दा उन्मुक्ति पाएको अपराधी पछिल्लो घटनाका लागि थप उत्साहित भएको देखिन्छ ।’

साउन २९ गते साँझ ५ बजे मष्टा–२ कै १४ वर्षीया बालिकालाई राजेन्द्रले घट्टमा बलात्कार गरेका थिए । बलात्कारपछि दुवै पक्षबीच गाउँमा छलफल गरेर मिलापत्र गरिएको थियो । गर्भ रहेमा जम्मा लिने सर्तमा मिलापत्रमा दुवै पक्षले हस्ताक्षर गरेको पाइएको नायब महानिरीक्षक सुवेदीले बताए । मिलापत्रमा राजेन्द्रका बुवा, बालिकाका दाजुलगायत दुवै पक्षका तीनतीन गरी ६ जनाको हस्ताक्षर छ ।

‘जघन्य अपराधको घटनामा मिलापत्र गर्ने पनि दोषी हुन् । घटनाको छानबिन गरी मिलापत्र गर्नेलाई कारबाही हुन्छ’, सुवेदीले भने, ‘त्यति बेला बलात्कारको घटना प्रहरीमा आएर राजेन्द्रलाई कारबाही भएको भए १२ वर्षीया सम्झनाले ज्यान गुमाउने अवस्था आउँदैनथ्यो ।’

आधा घण्टाको दूरीमा रहेको भैंसीगोठमा जाँदा सम्झनालाई राजेन्द्रले पछ्याउने गरेको खुलेको छ । बालिकाको कानमा भएको सुनको बाली राजेन्द्रले माग्ने गरेको सम्झनाले बाजेलाई बताएकी थिइन् ।  

बाँसुनको बाली माग्ने, बाटोमा पिछा गर्ने कुरा बालिकाले सुनाउँदा पनि गम्भीर रुपमा नलिएकाले अभिभावकको पनि कमजोरी रहेको प्रहरीको भनाइ छ । राजेन्द्रका नाममा बालिकाका बाजेले किटानी उजुरी दिएका छन् । बालिकाको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको पुष्टि गरेको छ । बलात्कारपछि टाउकोमा ढुंगाले हानेर बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । मष्टा गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर खड्काले राजेन्द्रविरुद्ध आधा दर्जनभन्दा बढी उजुरी वडा कार्यालयमा परेपछि आफूले धेरैपटक बोलाएर सम्झाइबुझाइ गरेको बताए । राजेन्द्रले बाख्रा खाएको, पसल चोरेको, पकेट काटेको, बलात्कार प्रयास गरेको जस्ता उजुरी वडा कार्यालयमा परेका थिए । ‘हामीले उसको बुवा, आमा र दाइलाई समेत वडा कार्यालयमा बोलाएर सचेत गराएका थियौं’, खड्काले भने ।

यसरी भएको थियो घटना
बझाङ मष्टामाडौंकी सम्झना गत बुधबार दिउँसो ४ बजे हँसिया र डोको बोकेर घरबाट आधा घण्टाको दूरीमा सिम भन्ने ठाउँमा रहेको भैंसीगोठमा गइन् । उनी खोला तरेर भैंसीगोठ पुग्थिन् तर त्यस दिन खोला तर्न नै पाइनन् । साँझ घर नफर्केपछि खोजी गर्दा खोलावारि नै बाटोछेउमा डोको र नाम्लो भेटियो, नजिकैको मन्दिरमा शव फेला प-यो । कानमा भएको सुनको बालीसमेत निकालिएको थियो । उनी गाउँकै मष्टा निमावि तुतीमा कक्षा ५ पास गरेर ६ कक्षामा पुगेकी थिइन् । सम्झनाका बाबु ३७ वर्षीय बिजुली कामी र आमा धैली कामी रोजगारी गर्न भारत गएको चार वर्ष भयो । सम्झना बाजेसँग बस्दै आएकी थिइन्।

प्रकाशित: १२ आश्विन २०७७ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App