आफ्नो मागहरु वेवास्ता गरेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरुले आन्दोलन चर्काएका छन्। यसअघि अलग अलग विभागका नर्सहरुले आन्दोलन गर्दै आएकोमा आजदेखि संयुक्तरुपमा आन्दोलन थालेका छन्। उनीहरुको आन्दोलमा हेल्पर र हेल्थ एडहरु पनि सहभागी भएका छन्। आज बिहानैदेखि प्रतिष्ठानको प्रशासनिक भवनमा भेला भएका नर्सहरुले नाराबाजी पनि गरिरहेका छन्। उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई विभिन्न १६ बुँदे माग पेश गरेका छन्। प्रतिष्ठानका उपकुलपति, रेक्टर र रजिष्ट्रार प्रदेश राजधानी विराटनगर गएकोले अहिले अस्पताल निर्देशक डा.गौरीशंकार साह र मेट्रोन उपेन्द्र यादवसँग प्रतिनिधिमुलक छलफल पनि भइरहेको छ। छलफल जारी रहदा पनि बाहिर नर्सहरुले नारा लगाइरहेका छन्।
नर्स, हेल्पर र हेल्थ एडहरुले भोली बुधबारसम्म माग पुरा नभए कालोपट्टी बाँध्ने र बिहिबारसम्म पनि माग पुरा नभए सम्पूर्ण स्टाफ नर्स, हेल्पर र हेल्थ एडहरु डिउटीमा सहभागी नहुने चेतावनी दिएका छन्। कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गरिरहे पनि विरामी संक्रमण पुष्टि भएपछि डाक्टरहरुलाई क्वारेन्टिनमा राख्ने तर आफुहरुलाई वेवस्ता गरिएको गुनासो स्टाफ नर्सहरुको छ। क्वार्टर पनि नपाएका नर्सहरुले क्वारेन्टिनको व्यवस्था नगर्दा परिवारका सदस्यहरु पनि संक्रमणको उच्च जोखिममा परेको बताउँदै आएका छन्।
‘डिउटी गर्दा पनि पिपिई दिइदैन, मास्क र पञ्जासमेत पर्याप्त नहुँदा आफैले किनेर लगाउनुपर्ने बाध्यता छ,’नर्स सफला बुढाथोकीले मागहरुबारे भनिन्,‘नेपाल सरकारले बढाएको २० प्रतिशत तलब पनि दिनुपर्छ। जोखिम भत्ता तत्काल दिइनुपर्छ, कोरोना विमा पनि गरिनुपर्छ, शंकास्पद विरामीको रिपोर्ट चाडो आउनुपर्छ।’ नर्सहरुले स्क्रिनिङ गर्ने ठाउँ चौबिसै घण्टा खुला हुनुपर्ने, प्रसुती गृहमा भर्ना भएका विरामीहरुमा कोभिड १९ शंका लागेमा तत्काल आइसोलेसन वार्डमा सारेर पिसिआर परीक्षण गर्न, आकस्मिक प्रसुती गृहमा बेड संख्या बढाउन, जोखिम भत्ता सरकारको निर्देशिकाअनुसार तत्काल उपलब्ध गराउनुपर्नेलगायत १६ बुँदे माग अघि सारेका छन्।
प्रकाशित: ९ भाद्र २०७७ ०७:१९ मंगलबार





