८ वैशाख २०८१ शनिबार
समाज

‘होम आइसोलेसन’ मा बसेका संक्रमितको प्रश्न : अस्पताल पुग्न पनि भनसुननै गर्नुपर्ने ?

काठमाडौंमा कार्यरत बैंकका एक उच्च कर्मचारीलाई केहीदिनदेखि रुघा खोकी लागिरहेको थियो। तरकेश्वर नगरपालिकामा बस्दै आएका उनी कोरोनाको शंका लागेपछि ग्रान्डी अस्पताल पुगेर स्वाब परीक्षण गराए। उनको रिपोर्ट पोजेटिभ आयो। सुरुमा त्यति गाह्रो नभएका उनी चिकित्सकको सल्लाह अनुसार ‘होम आइसोलेसन’ मा बसे। परिवारका सदस्यहरु पनि घरमै सुरक्षाका उपाय सहित बसे।  

कोरोना पुष्टि भएको ६ दिनपछि शनिबार उनलाई एक्कासी स्वास प्रस्वासमा समस्या आयो। मध्यान्हदेखि उनले अस्पताल जान प्रयास गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएका सम्पर्क नम्बरहरुमा दिनभरी जसो फोन गरेर अस्पताल लैजान आग्रह गरिरहे। ‘अ हो बिरामी अस्पताल पुग्नै यस्तो महाभारत रहेछ’, उनले भने, ‘साँझ ७ बजे भनसुन गरेपछि बल्ल अस्पताल पुगियो।’

कोरोना संक्रमित भएपछि अस्पताल पुग्ने बेलासम्मको अनुभव उनकै शब्दमा :

सबै ठिकठाक चलिरहेकै थियो। अफिस जाँदा आउँदा सुरक्षाका उपायहरु पनि अपनाइरहेकै थिए। मास्क र स्यानीटाइजरको नियमित प्रयोग गरेपनि कहाँबाट कोरोना सर्यो थाहा हुन सकेन। रुघा, खोकी लागेपछि सुरुमा सामान्यरुपमा नै लिइयो र त्यसै अनुसार औषधी खाइयो। त्यतिनै बेला दाँतमा पनि समस्या आयो। ज्वरो पनि देखियो। ज्वरो आएपछि भने अली ढर लाग्यो। ग्रान्डी अस्पताल पुगेर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भयो। सुरुमा त डर लाग्नु स्वभाविक थियो। विश्वभर महामारीको रुपमा फैलिएको रोग अब आफैलाई लागेको थियो। कोरोना पोजेटिभ हुँदा पत्याउँ कि नपत्याउँ जस्तो हुने रैछ।  

 लक्षणहरु सोधे, के भएको छ सोधे तर कसैले पनि अस्पताल लैजाने कुरा गरेनन्। यताबाट उता उताबाट यताको नम्बर मात्र पास गरियो। उनीहरुले दिए जति नम्बरमा हामीले फोन गर्यों, रेस्पोन्स सबैले गरे तर अस्पताल लैजाने कुरा कसैले गरेनन्।

चिकित्सककै सल्लाहमा होम आइसोलेसनमा बसिरहेको थिएँ। ज्वरो पनि हट्यो, रुघा पनि निको भयो तर खोकी भने लागिरहेको थियो। ज्यान दुख्न पनि कम भइसकेको थियो। लक्षणहरु कमहुँदै गएपछि सन्चो हुँदै गएको अनुभव गरिरहेको थिए। यस्तै ६ दिनदेखि होम आसोलेसनमा बसेर प्रतिरोधात्क शक्ति बढाउने खानेकुराहरु पनि खाइरहेको थिएँ। तर शनिबार विहानदेखि एक्कासी स्वास फेर्न गाह्रो भएको अनुभव हुन थाल्यो। परिवार तथा साथीहरुलाई स्वास फेर्न गाह्रो भयो भनेपछि अस्पताल जान सुझाव दिए। ६ दिन आइसोलेसनमा बस्दा पनि सरकारका निकाय कसैले एक पटक के कस्तो छ भनेर सम्पर्क गरेनन्। नगरपालिका, वडा कार्यालय र अस्पताल कतैबाट पनि स्वास्थ्य अवस्थाबारे बुझ्न फोन आएन। होम आइसोलेसनमा बसेका विरामीको स्वास्थ्य अपडेट फोनबाट लिइन्छ भन्ने सुनेको थिएँ तर त्यस्तो पाइन।

अस्पताल जानको लागि सुरुमा एम्बुलेन्स चाहियो। कोरोना संक्रमित व्यक्ति यसै ट्याक्सी चढेर अस्पताल जान पनि भएन कसैलाई मोटर साइकलमा लगिदेउ भन्ने कुरा पनि भए। एम्वुलेन्सका लागि १०२ मा फोन गरियो। अर्का मेरा एक जना आफन्तले पनि एम्वुलेन्सका लागि प्रयास गरिरहेका थिए। ‘हजुर एम्वुलेन्स चाहियो’, यताबाट भनियो, उताबाट एक महिलाको प्रश्न थियो ‘कहाँबाट कहाँ पुग्नलाई होला ?,’ फेरी उत्तर दिँए, ‘तारकेश्वरबाट टिचिङ जानलाई।’   फेरी ति महिलाको प्रश्न आयो, ‘के को बिरामी ?’ मैले कोरोनाको भनेपछि यसै पठाउन नमिल्ने स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनुपर्ने बताइन्। उनले त्यसको लागि ११३३ मा फोन गरेर कुरा गर्न भनिन्। फेरी ११३३ मा डायल गरियो। त्यहाँ पनि कुरा भयो। पिसिआर परीक्षण भइसकेको र स्वास फेर्न गाह्रो भएको भनेपछि त्यहाँ फोनमा बोलिरहेकी महिलाले एम्वुलेन्सका लागि १०२ मा फोन गर्न भनिन्।  

मैले १०२ मा त अघि नै फोन गरेको र तपाईहरुको अनुमति पछि मात्र एम्बुलेन्स पाइने भन्ने जानकारी पाएको उनलाई सुनाए। उनले अँ अँ उँ उँ टाइपमा जवाफ दिँदै फोन राखिन्। मेरा एक नातेदार पनि एम्बुलेन्सको खोजिमा लागिरहेका थिए। ११३३ बाट उनलाई १११५ फोन नम्बर दिइएछ। फोन गर्दा गर्दा आजित भएका उनी फोनमा रन्केछन्। त्यसपछि एक जना डाक्टरको नम्बर दिँदै एक पटक उहाँसँग गर्न गर्न भनेछन्। ति डाक्टरको नम्बर भाइले मलाई पठाएपछि कुरा भयो। उनले लक्षणहरु सोधे, के भएको छ सोधे तर कसैले पनि अस्पताल लैजाने कुरा गरेनन्। यताबाट उता उताबाट यताको नम्बर मात्र पास गरियो। उनीहरुले दिए जति नम्बरमा हामीले फोन गर्यों, रेस्पोन्स सबैले गरे तर अस्पताल लैजाने कुरा कसैले गरेनन्। बोल्दा पनि गाह्रो भइरहेको थियो। मलाई छिटो भन्दा छिटो अस्पताल पुग्न पाए हुन्थ्यो भइरहेको थियो। अब के गर्ने ? यतिबेलासम्म एम्बुलेन्स मगाउन प्रयास गरेको ७/८ घण्टा भइसकेको थियो। एम्बुलेन्स आउने कुनै ग्रीन सिग्न मिलिरहेको थिएन। अन्तमा एम्बुलेन्सका लागि पनि भनसुन नै गर्नु पर्यो। एम्बुलेन्सका लागि प्रयास गरिरहेका आफन्त भाइले अस्पताल भर्ना गर्नुपर्ने समस्या स्वास्थ्य मन्त्रालयका  उच्च व्यक्तिलाई भनेछन् उनकै पहलमा साँझ ७ बजे एम्बुलेन्स आइपुग्यो र अहिले अस्पतालमा उपचार गराइरहेको छु।  

राजधानी काठमाडौंमा त संक्रमितको उपचारको अवस्था यस्तो छ। सरकारी अधिकारी र नेताहरु कोरोना नियन्त्रण मै छ भन्छ तर अस्पताल पुग्न नै संघर्ष गर्नु पर्ने अवस्था रहेछ। नेताहरु महामारीको यो विकराल अवस्थामा नागरिकका लागि केही गर्लान् भन्दा पार्टीकै भागवण्डा मिलाउन व्यस्त छन् खै हामी सर्वसाधारणको के होला ?

     

 

प्रकाशित: ७ भाद्र २०७७ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App