१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

आइसोलेसनमा मृत्यु भएकाको कोरोना नेगेटिभ

प्रहरी आफन्त खोज्दै

बिहीबार मोरङको पथरीशनिश्चेरबाट उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा ल्याइएका एक बेवारिसे पुरुषको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छ।  

पथरी बजार क्षेत्रमा ज्यालामजदुरी गर्दै आएका ५० वर्षीय दीपक शेर्पालाई पथरीको प्रहरी टोलीले उपचारका लागि कोसी अस्पताल ल्याएको प्रहरीले जनाएको छ। अस्पताल ल्याउने क्रममा उनले नाम स्पष्ट भने पनि ठेगाना प्रष्टसँग भन्न सकेनन्। तर, मृतक शेर्पाले पथरीमा आफन्त नभएको घर धनकुटाको भरी गाउँसम्म खुलेको प्रहरीले जनाएको छ।  

ज्वरो आउने, खोकी लाग्ने र छाती दुख्नेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै बिहीबार राति अस्पतालकै आइसोलेसनमा उपचारका लागि शेर्पालाई भर्ना गरिएको थियो। उनको त्यहीँ उपचारका क्रममा मृत्यु भएको हो। कोरोना जस्तो लक्षण देखिएको शेर्पाको मृत्यु भएपछि गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो।  

पथरीशनिश्चरे–१ स्थित सडकमा छटपटाइरहेको देखेपछि प्रहरीले उद्धार गरेर उपचारका लागि कोसी अस्पताल लगेका थिए। इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दीलिप गिरीका अनुसार खुट्टामा समस्या रहेको र ज्वरो आउने गरेको बताएका शेर्पालाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल लगेको हो।  

कोरोनाको आशंका गर्दै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका उनको मृत्यु भएको हो। स्वाब संकलन गरेर कोसीकै प्रयोगशालामा पिसिआर परीक्षणको रिपोर्ट शुक्रबार साँझ नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चुमनलाल दासले बताए।  

रिपोर्ट नेगेटिभ आएपछि शवलाई कोसी अस्पतालकै शव गृहमा राखिएको छ। मृतकले दिएको ठेगानाका आधारमा परिवार र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ।  

मृतकको आफन्त कोही सम्पर्कमा आए उनीहरूलाई शव जिम्मा दिने र आफन्त कोही नभेटिए विराटनगर महानगरपालिकासँग समन्वय गरेर शव व्यवस्थापन गर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।

प्रकाशित: ६ भाद्र २०७७ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App